काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)को विध्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले आर्थिक तथा राजनीतिक चलखेलको आधारमा २१ असार। ०७५ मा कृषि तथा वन विज्ञान विश्वविद्यालयले ८ वटा निजी कलेजहरुलाई दिएको सम्बन्धनप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै शिक्षालाई जनताको पहुँचबाट अलग गराउने उक्त जनविरोधी निर्णय खारेज नगरिए संघर्षका जनुसुकै कदम उठाउन पछि नपर्ने चेतावानी दिएको छ ।
क्रान्तिकारीले राज्य स्वयम् शिक्षा क्षेत्रलाई निजीकरण र व्यापारिकरण गर्न लागेको दावी समेत गरेको छ र भनेको छ, “शिक्षा क्षेत्र राज्यको दायित्वभित्र राखिनु पर्दछ र जनताको पहुँचमा हुनु पर्छ भन्ने हाम्रो मान्यता रहिआएको छ । तर राज्य र राज्यका निकायहरु शिक्षा क्षेत्रलाई निजीकरण र व्यापारीकरण गर्न अहोरात्र लागिरहेका छन् ।”
अखिल (क्रान्तिकारी)का महासचिव राम नेपालीले शुक्रबार जारी गरेको वक्तव्यमा भनिएको छ, “कृषि तथा वनविज्ञान विश्वविद्यालयले यति मिति २०७५ असार २१ गते ८ वटा निजी कलेजहरुलाई दिएको सम्बन्धनप्रति हाम्रो संगठन अनेरास्ववियू (क्रान्तिकारी)को गम्भीर ध्यानाकर्षण भएको छ । विश्वविद्यालयले देशव्यापी रुपमा आंगितक कलेजहरु खोली जनताका छोराछोरीलाई शिक्षा दिनुको सट्टा आर्थिक एवं राजनीतिक चलखेलको आधारमा निजी कलेजलाई सम्बन्धन दिई जनताको पहुँचबाट कटाउने खेल सुरु गरेको छ । निजी कलेजलाई दिइएको उक्त सम्बन्धन खारेज गर्न हाम्रो संगठन जोडदार माग गर्दछ । अन्यथा हाम्रो संगठन संघर्षका जनुसुकै कदम उठाउन पछि नपर्ने चेतावानी समेत दिन चाहन्छ ।”