प्रतिरोध संघर्षसँगै विशेष राष्ट्रिय भेलाको तयारीमा अखिल (क्रान्तिकारी)

प्रकाशित मिति : २०७५ असार २५

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट विध्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले प्रतिरोध संघर्ष सञ्चालन गर्ने निर्णय गरेको छ । देशमा बहुमतप्राप्त वाम भनिनेहरुको सरकार आएपछि शैक्षिक क्षेत्र झन् अस्तव्यस्त हुन पुगेको छ ।

सामुदायिक विद्यालयहरुको व्यवस्थापनका लागि सरकारले न त उचित बजेट नै छुट्याएको छ, न त बजेट बनाउन दिने गरी अधिकार नै जिल्ला समन्वय समिति तथा स्थानीय सरकारहरुलाई नै दिएको छ । यसले गर्दा सरकारी विद्यालयहरुमा पनि भौतिक पूर्वाधार निर्माण तथा निजी दरवन्दीमा राखिएका शिक्षकहरुको तलबका लागि अहिले पनि भर्ना शुल्क लिइँदै गरेको छ । त्यसलाई विद्यालय व्यवस्थापन सेवा शुल्कका नाममा पनि लिने गरिएको देखिएको छ ।

देशमा वाम बहुमतको सरकार गठन भएपछि महंगी झनै आकाशिएको छ । एकमना सरकारको पालामा जनजीविकाका समस्याहरु निकै विकराल बन्दै गएका छन् । राष्टघाती सन्धि र सम्झौताहरु विनापुरावलोकन कार्यान्वयन गरिने प्रतिबद्धता जाहेर गरिएका छन् । खाद्य पदार्थहरुमा अखाद्य वस्तुहरुको मिसावट मात्र नभएर विषादीहरु पनि निकै प्रयोग गरिएको छ । यसले जनता र उपभोक्ताहरुको जीवनमा नराम्रो असर पुर्याएको छ । नक्कली बजार अनुगमन गर्दै तर्साउँदै र घुस लिँदै गरिहेका छन् मन्त्रीहरु र सरकारी मानिसहरु ।

यी समस्याहरुलाई लिएर अखिल (क्रान्तिकारी)को आइतवार समपन्न केन्द्रीय समितिको बैठकले स्थानीय विशिष्टताका आधारमा संघर्षका कार्यक्रमहरु अघि बढाउने निर्णय गरेको छ । संघर्षका कार्यक्रमहरुलाई संगठन निर्माणको कडीसँग जोडेर लगिने बताइएको छ । संघर्ष प्रत्येक प्रदेश र जिल्लाका संयोजकहरुको नेतृत्वमा अघि बढाइने तय भएको छ ।

संगठनले गरेको निर्णय अनुसार यही असोज ५ र ६ गते काठमाडौंमा संगठनको विशेष राष्ट्रिय भेला सम्पन्न गरिने छ । उक्त विशेष राष्ट्रिय भेला तयारीका लागि पाँचवटा उपसमितिहरु निर्माण गरिएको छ । समितिहरुमा ललितजंग थापाको संयोजकत्वमा विध्यार्थी परिचालन उपसमिति, ज्ञानु खतिवडाको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, शिलु न्यौपानेको नेतृत्वमा आर्थिक उपसमिति, पेशल दाहालको नेतृत्वमा कार्यालय व्यवस्थापन उपसमिति र सेवन्त राज भण्डारीको नेतृत्वमा प्रतिवेदन लेखन उपसमिति निर्माण गरिएको छ ।

बैठकले भेलाको तयारीलाई मध्यनजर गरेर जिम्मेवारी समेत हेरफेर गरेको छ । हेरफेर गरिएको जिममेवारीअनुसार ललितजंग थापालाई ४ नं. प्रदेशको इन्चार्ज तथा प्रदेश नं. ६ को इन्चार्ज संयोजक तोकिएको छ । अन्य प्रदेशहरुमा पहिलेकै कार्यविभाजनलाई कायम राख्दै १ नंंं. प्रदेशमा ज्ञानु खतिवडा, २ मा किरण थारु, ३ मा राम नेपाली, ५ नं. प्रदेशमा विष्णु नेम्वाङ, ७ नं. प्रदेशमा रामबहादुर महरा र ८ नं. प्रदेश (गैरभौगोलिक)मा पेशल दाहाल जिम्मेवारी रहेको छ ।

संगठनको मुखपत्र अखिल निकाल्ने र अतिरिक्त क्रियाकलापहरु सञ्चालन गर्ने निर्णय गरेको छ ।