काठमाडौं, असार २२ । नागरिक उड्डयन प्राधिकरणले बुद्ध एयरको नेपालगञ्ज–दिल्लीको उडान तालिका जनवरी १, २०१९ देखि लागु हुनेगरि स्वीकृत गरेको छ ।
बुद्ध एयरले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा नेपालगञ्जबाट भारतको राजधानी नयाँदिल्लीका लागि दैनिक ३ उडान बिहान ६ः३०, दिउँसो १ र साँझ ५ः१० बजेका लागि उडान भर्न पत्राचारसहित अनुरोध गरेको थियो ।
यसैक्रममा नेपाल पर्यटन तथा संस्कृति मन्त्रालयको अनुरोधमा परराष्ट्र मन्त्रालयले भारत सरकारलाई बुध्द एयरलाई नेपालगञ्जबाट दिल्ली उडानको लागि पत्राचार गरेको छ ।
बुद्ध एयरले उडानका लागि आफ्नोतर्फबाट व्यापक गृहकार्यहरु गरिरहेको प्रेस विज्ञप्तीमा जनाएको छ । दिल्लीमा संसारभरिका एयरलाइन्स र यात्रु पर्यटकहरुको व्यापक आवाजाही हुने गरेको छ । यसैलाई ध्यानमा राखी बुद्ध एयरले विभिन्न एयरलाइन्सहरुसँग अन्तरदेशिय टिकट विक्री वितरणका लागि इन्टरलाईन र जिडिएस प्रणाली अध्ययन र लागू गर्नका लागि विभिन्न कम्पनीहरुसँग पत्राचार समते गरेको छ ।
यस उडानबाट सुदुर पश्चिम र पश्चिमका जनताहरु प्रत्यक्ष लाभान्वित हुनेछन् । बर्दिया, शुक्लाफाँटा निकुञ्ज, मनोरम हिमश्रृंखला, खप्तड, स्वर्गद्वारी रारा, तिलिचो तालतलैयाले पर्यटकहरुलाई पनि आकर्षित गर्नेछन् ।
नेपालगञ्ज–नयाँदिल्लीको उडान लगत्तै बुध्द एयरले नेपालगञ्ज–पोखराको पनि दैनिक उडान भर्ने विज्ञप्तिमा जनाएको छ ।