राजविराज, असार २० । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–५ स्थित महुली पुल भासिएपछि सवारी साधनको आवतजावत प्रवावित हुन पुगेको छ ।
एसपी मुकेशकुमार सिहंका अनुसार सोमबार रातिदेखिको अविरल वर्षासँगै महुली खोलामा आएको बाढीका कारण करिब ५० मिटर पुलको पश्चिम सडकको बीच भागमा चर्किएर भासिएपछि सवारीको आवतजावत एकतर्फी बनाइएको छ ।
बुधबार बिहानैदेखि पुलको पश्चिमतर्फको सडकखण्ड चर्किएर भासिन थालेको समाचार पाएपछि घटनास्थलमा पुगेका एसपी सिंहले सवारीसाधनको आवतजावतलाई पुलको दक्षिणतर्फबाट एकतर्फी बनाएको बताए । सिडिओ सुरेन्द्र पौडेल र एसपी सिंहलगायतको टोली घटनास्थल पुगेर फर्केका छन् ।
‘बिहान करिब २ इन्च भासिएको पुल दिउँसो एक फिट जति भासिएको छ,’ वडाअध्यक्ष श्रीप्रसाद यादवले भने, ‘बिस्तारै–बिस्तारै भासिने क्रम जारी रहे यातायात आवागमन ठप्प हुनेछ ।’
थप क्षति हुन नदिन तत्कालै सपोर्टका लागि अर्को बाँध बनाएर पुल जोगाउनु पर्ने आवश्यकता उनले औल्याए । ‘पुलको आधा भाग जमिनमा छ,’ उनले भने, ‘जन्डौल गाउँ पट्टिबाट जमिनको भाग भासिएपनि आत्तिनुपर्ने अवस्था छैन,’ एसपी सिंहले भने तथापि वैकल्पिक उपाय खोजि गर्नुपर्ने छ ।
सडकको बीचमा पूर्व–पश्चिम चिरा परेर एक भाग भासिएकाले त्यसको सपोर्टका लागि बाँध बनाउन पहल भइरहेको एसपी सिंहले जानकारी दिए । सडक विभागका इन्जिनियरलाई बोलाएर आवश्यक तयारी थालिएको उनले बताए ।