४० हजार अवैध अमेरिकी डलरसहित एक युवक पक्राउ

४० हजार अवैध अमेरिकी डलरसहित एक युवक पक्राउ

धादिङ, असार १४ । अवैध रुपले झोलामा ४० हजार अमेरिकी डलर बोकेर हिँडेको अवस्थामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
उक्त व्यक्तिलाई पृथ्वीराजमार्गस्थित सिम्लेका स्थानीय पसलेसँग सस्तो दरभाउमा डलर साट्ने क्रममा प्रहरीले शंका गरी पक्राउ गरेको थियो ।
नवलपरासी जिल्ला सरावल गाउँपालिका–३ निवासी २८ वर्षीय आनन्दप्रसाद कलवारलाई प्रहरीले डलरसहित पक्राउ गरेको हो ।
कलवारसँग एक सय दरका ४ सय थान अमेरिकी डलर बरामद भएको प्रहरी उपरीक्षक डम्बरबहादुर विकले बताए । कलवारले आफूसँग रकम नभएर खाना नखाएको भन्दै सस्तोमा डलर साटी दिन पसलेसँग आग्रह गरेका थिए ।

त्यति ठूलो मात्रामा नगद बोकेर सस्तो दरभाउमा साट्न खोज्नुले नक्कली डलरको आशंका भएपनि थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, ललितपुर पठाईएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।