सङ्गठन सुदृढीकरण तथा जनपरिचालन अभियान अन्तर्गत महाकाली नदीको सीमा इलाकाको निरीक्षण गर्नुभयो । कस्तो अनुभूति पाउनु भयो ?
सङ्गठन सुदृढीकरण तथा जनपरिचालन अभियान अन्तर्गत हामीहरु कैलालीको खक्रौलादेखि दार्चुलाको दुम्लिङसम्म पुग्यौं । सीमा विवाद भएको ११ ठाउँमा विवादित क्षेत्रलाई निरीक्षण गर्यौं पनि । ती क्षेत्रहरुको निरीक्षण गरेपछि जनतालाई जानकारी गराउन ११ ठाउँमा जनसभा पनि गर्यौं । २०७५ बैसाख १ गते नयाँ वर्षमा हामीले पत्रकार सम्मेलन पनि गर्यौं ।
एकातिर भारतीय विस्तारवादले हाम्रा सिमानाहरु मिच्ने र सिमास्तम्भहरु सार्ने काम गरिरहेको छ भने अर्कातिर त्यसको प्रतिवाद गर्ने काम स्थानीय जनताले गरिरहेका छन् । यो काम सिमानामा बसेका जनताहरुले बढी गर्ने गरिरहेका छन् ।
अन्य देशतिर हेर्यौं भने पाकिस्तान–भारत, चीन–भारतको सिमानामा छिसिक्क केही हुने बित्तिकै गोली चल्छ । आफै भारतीय पक्षले छुने वित्तिकै गोली चलाउँछ । तर नेपाली जनताले आफूले कुटाइ खाएर, हात भाँचेर, भारतीय सुरक्षाकर्मीसँग लडिरहेका छन् । गोविन्द गौतम जस्ता देशभक्तहरुले आफूले गोली खाएर सिमा रक्षा गरिरहेका छन् । यस हिसाबले सरकार र यसका संयन्त्रहरु निकम्मा साबित भएका छन् ।
सिमा क्षेत्रमा मानव वस्ती छ कि छैन ?
माथि महाकाली नदीले नै मानव वस्ती बस्न नसक्ने गरी सिमाना छुट्याएको छ । डडेल्धुरा र बैतडीमा त्यति विवाद छैन । दार्चुलामा गइसकेपछि सिंगै भूमि भारतीय सेनाले मिचेर बसेको हुनाले ठूलो विवाद छ । भारतले महाकालीको उत्पत्ति नै यता र उता भनेर रणनीतिक महत्वको नेपालको इलाका टिङ्कर माथि सेना राखेको छ ।
दार्चुलाका यी इलाकामा नेपालका अस्थायी वस्तीहरु (गोठहरु) बस्छन् । त्यो पनि गर्मी महिनामा मात्र । कात्तिक लागेपछि हिउँ पर्न थाल्छ । बाँकी ६ महिना जनताहरु बस्दैनन् ।
जनता नबसेका यी ६ महिनामा भारतीय सेनाहरुले नेपालका प्राकृतिक स्रोत साधनहरुको दोहनका साथै जङ्गली जनवरहरु नाउर, कस्तुरी र मृग आदि मारेर खाने गर्दछन् । उनीहरुको शिकार गर्ने क्रिडास्थल बन्न जान्छ । त्यहाँ नेपालका पुलिस, सेना, कर्मचारी कोही पनि बस्दैनन् । दार्चुलाको व्यास नगरपलिकाको दुम्लिङदेखि टिङ्कर भञ्ज्याङसम्म, सामान्य हिंड्दा दुई दिन लाग्छ, त्यति ठूलो भूभागमा कात्तिकदेखि बैशाखसम्मका ६ महिना भारतीय सेनाको एकलौटी खेल मैदान हुन जान्छ त्यो ठाउँ ।
नेपालको प्रशासनले किन निगरानी राख्दैन वा जाँदैन त्यहाँ ?
सीमा सुरक्षका लागि भनेर छुट्टै टीम दार्चुलाको सदरमुकाममा बसेको छ । त्यहाँ अफिस नै छ । कर्मचारी पनि त्यसै कामका लागि खटाइएका छन् । तर हिउँ परेका ६ महिनामा तिनीहरु पनि जाँदैनन् त्यहाँ । भ्रमण निरीक्षणका क्रममा हामीसँग नेपालका प्रहरी पनि गए । निगरानी पनि भयो । बाटो देखाउने पनि भयो । उनीहरुको भनाइअनुसार यदि सरकारले उनीहरुलाई वातानुकूलित एउटा पोस्ट बनाइ दिने हो भने उनीहरु त्यही नै बसेर देशको सीमा सुरक्षा गर्ने कुरा गरे । तलब पनि खाने र देशको सुरक्षा पनि गर्ने दोहोरो भूमिका निभाउन सक्छौं पनि भने ।
तर कात्तिक महिनाभन्दा पछि बसेपछि भने चियापत्ति पनि ल्याउनु न भनेर हात थाप्नु पर्ने बाध्यता हुन जान्छ । भारतीय सीमा सुरक्षा बलसँग मागेर खानु पर्छ । हिउँमा त जेनतेन बस्नका लागि टहरो बनाइ दिएको छ सरकारले । हामी त्यहाँ बस्छौं पनि । नेपालैबाट खाद्यान्न लिएर खान्छौं पनि । हिउँ पर्न थालेपछि नेपालबाट त्यो असम्भव नै छैन ।
देशभक्तहरु त्यहाँ नभएका त होइनन् । तर प्राकृतिक वातावरणीय समस्या छ । निरीक्षण गर्न बेला बेलामा जान्छन् पनि, तर त्यहाँ स्थायी रुपमा बस्ने गर्दैनन् र गरेका पनि छैनन् ।
स्थानीय सरकार पनि बनिसकेको छ, कस्तो छ स्थानीय सरकारको स्थिति ? आफ्नो सीमा सुरक्षा गर्दैनन् ? ती त आफ्ना सीमानास्थित घरजगगासँग पनि जोडिएका छन् ।
दुम्लिङसम्म महाकालीको सिमाको पुलको कुरा हो । त्यहाँ सौका जातिहरु बसोवास गर्छन् । त्यहाँ सिमानाको चिनियाँ पर्खाल भन्ने छैन । ती जातिहरुको भारतको धार्चुलामा पनि घर छ र नेपालको दार्चुलामा पनि घर छ । उनीहरुलाई भारतमा भए पनि नेपालमा भए पनि आफ्नै घर हो भनेको जस्तो भएको छ । उनीहरु अलि घुमन्तु प्रकारका पनि छन् ।
स्थायी रुपमा त्यहाँ बसोवास नभएकाले जनताको मात्र भर परेर सीमा रक्षा हुने देखिदैन । स्थानीय सरकारले पनि सोच्न सकिरहेको छैन । सीमा रक्षा राज्यले नै गर्नु पर्छ ।
सौका जाति नेपाली हुन् वा भारतीय ? या, दुवै देशका सीमा क्षेत्रमा उनीहरु बस्ने गरेका हुन् ?
सौका जाति नेपाल र भारत वारिपारि नै बस्ने गरेका छन् । तिनीहरुको बिहेबारी वारिपारि नै छ । सौका मूल बसाइका हिसाबले नेपाली नै हुन् । महाकाली वारि र पारि तिनीहरुका कारणले विवाद पनि छैन । सिमाना मिचेका पनि भारतीय जनताले होइनन्, भारतीय सेनाले हो । वा, भारतीय शासक वर्गले हो ।
सिमानामा टीबीएस् र एसएसबी भारतीय फोर्स राखिएको छ । दैनिक हेलिकप्टर उडिरहन्छ सीमानामा । सन् १९६२ वा २०१८ सालमा भारतीय सेना आएर कालापानीमा बसेको रहेछ । ठीक उतातिर भारतको क्षेत्रमा बस्नका लागि ठाउँ पनि रहेन छ । चीनसँग लड्दा भारतीय सेना त्यहाँ आएर बसेको रहेछ ।
त्यहाँ पारि पनि उस्तै छ । बस्ने ठाउँ पनि रहेन छ । दार्चुलाका धार्चुला जान्छन् र धार्चुलाका दार्चुला आउँछन् । समस्या भारतीय सरकारले खडा गरेको हो, जनताबाट होइन ।
स्थानीय जनताको केही राय छ सीमाको बारेमा ?
स्थानीयका कुरा गर्यौं भने सौका जाति नै हुन् । तिनीहरु ६ महिना दार्चुला र बाँकी ६ महिना धार्चुला बस्ने भएकाले उनीहरुलदाई सिमाबारे त्यति चासो पनि छैन होला । भारतीय सेना स्थानीय जनताको बस्ती नभएको नेपालको कालापानीमा छ । सेनासँग नेपाली जनताको त्यति टच पनि छैन ।
चुनावका बेला कहिले वारि कहिले पारि गर्ने पनि गर्छन् । तर स्थायी बसोवास उनीहरुको देखिएन । तर समस्या के हो भने हिउँ पर्दा व्यास नगरपालिकाका मानिसहरु त्यो भूभाग छाडेर तल बेसीमा झर्छन् । महाकाली करिडोर भनेर नेपाल सरकारले एउटा बाटो बनाउँँदै छ । स्थानीय जनता त्यो बाटो छिटो बनोस् भन्ने चाहन्छन् । बाटो बनेपछि दैनिक उपभोगका सामानहरु नेपालबाटै आपूर्ति गर्न सकिन्छ र भारतसँग हात थापेर रुनु पर्दैन भन्ने स्थानीयको सोच रहेको छ ।
नेपालले आफ्ना तर्फबाट स्थानीय जनताका लागि भौतिक विकास गरिदिए मात्र सीमानाको रक्षा गर्न सकिन्छ भन्ने स्थानीय जनताको दह्रो विश्वास छ । अहिले त कस्तो सम्म छ भने स्थानीय जनतालाई तुइन तरेर, ट्युब बाँधेर, चिन्नातुम्बाको सहारा लिएर भारतको धार्चुला पुगेर दैनिक उपभोगका सामानहरु ल्याउनु पर्छ । उनीहरु भन्छन् मनभरि नेपाल आमाको मायाँ भए पनि मुखले भारतसँग ठीक्क पर्नु पर्ने हुन्छ, त्यसैले, नेपालको सिमाना भनेजति रक्षा गर्न सकिएको छैन ।
नेपाल सरकारले बनाउँदै गरेको करिडोर महाकालीको किनारै किनार छ वा कहाँ छ ?
भारतको तर्फबाट महाकाली करिडोर ५० मिटर जति समानान्तर हुने गरी किनारैकिनार बनाइ रहेको छ । तर नेपालको तर्फबाट एक किलोमिटर देखि २०० मिटर माथि लेकहुँदै बनाइरहेको छ । महाकालीबाट लगिएको यो बाटो दुम्लिङसम्म पुग्छ । हाल बाटो पनि बनाइँदैछ । ठेक्कापट्टा पनि दिइएको छ ।
समस्या कहाँ मात्र हो भने समयमा नै काम सम्पन्न नगर्ने नेपाली ठेकेदारको बानी छ । प्राथमिकताका साथ सरकारले बजेट हालिदिएमा २ वर्षसम्म दुम्लिङसम्म बाटो जान्छ ।
के त्यो बाटोले कालापानीको टिङ्कर नाका पनि जोड्छ ?
सर्भे टिङ्करसम्मकै हो । तर हाललाई दुम्लिङसम्म पुर्याएमा त्यहाँका स्थानीय जनताको तत्कालको खाँचो टर्छ । दुम्लिङ पुग्दाको भीरपाखाको अप्ठेरोले बाटो केही समय लम्बिएला पनि ।
के गरे सिमाको स्थायी सुरक्षा होला ?
एउटा कुरा त नेपाल सरकारले स्थायी सिमारक्षक फोर्स खटाउनु पर्छ । तिनीहरुको व्यवस्था राम्रो गरी गरिदिनु पर्छ । हिउँदमा पनि बस्न सक्ने गरी वातानुकूलनको व्यवस्था गरिदिनु पर्छ । स्थायी रुपमा बस्ने व्यवस्था मिलाउनु पर्छ । स्थानीयका अनुसार भीर र पखेरामा रहेका हाम्रा पूख्र्यौली सल्लाका रुखहरु डाइनामाइट पड्काएर ढलाई हिउँदभरि भारत लैजाने गरेको रहेछ । ती काठहरु देहरादुनसम्म पुर्याउने गरेका रहेछन् ।
हजारौ वर्षदेखि हुर्किएका सल्लाका रुखहरु यसरी लगिदो रहेछ । हिउँदमा नाउर, कस्तुरी मृग मारेर खाँदा रहेछन् । टेलिस्कोप फिट गरिएका राइफलले हानेर मार्दा रहेछन् । ती सबै राष्ट्रिय निकुञ्जका जन्तुहरु हुन् । त्यो संरक्षण क्षेत्र पनि हो । त्यो सबै सिध्याएरहेका छन् । त्यसको पनि संरक्षण जरुरी छ । सूचना मात्र गर्न सके पनि ती वन्यजन्तु बचाउन सकिन्थ्यो ।
६ महिनासम्म भारतीय सेनाहरुले जेजे गरे पनि त्यहाँका प्रशासक तथा नेपाल सरकारसँग सूचना पनि हुँदैन । हेलिकप्टरको व्यवस्था गरेर भए पनि रेकी गरी ती सबैको बचाउ गर्नु जरुरी छ । मिचिएको जमीन अन्तर्राष्ट्रिय समुदाय गुहारेर वा मुद्दा हालेर भए पनि फिर्ता लिनै पर्छ ।
महाकाली नदीको वास्तविक उद्गमस्थललाई कायम गरिनु पर्छ । भारतले सिकाएको नक्कली कुराको आधार लिनु हुँदैन । अहिले सशस्त्रको क्याम्प राखेर भूमिको हेरचाह गर्नुपर्छ ।