प्रम ओली स्वदेश फिर्ता ः ‘प्रोटोकल’मा हस्ताक्षरै भएन

प्रकाशित मिति : २०७५ असार १०

काठमाडौं, असार १० । छिमेकी मित्रराष्ट्र चीनको ६ दिने सद्भावपूर्ण राजकीय भ्रमण सिध्याएर प्रम केपी शर्मा ओलीसहितको प्रतिनिधिमण्डल स्वदेश फिर्ता भएको छ ।

उनलाई त्रिभुवन अन्तर्र्रािष्ट्रय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका कार्यबाहक अध्यक्ष माधवकुमार नेपाललगायतले स्वागत गरेका थिए ।

चीन भ्रमणका क्रममा प्रम ओलीले चिनियाँ राष्ट्रपति सी जिन पिङ, प्रधानमन्त्री ली खछ्याङसँग शिखर वार्ता गर्नुका साथै प्रतिनिधि मण्डलसहित भेटघाट र छलफल पनि गरेका छन् ।

प्रम ओलीले भ्रमणका क्रममा केरुङ्ग–काठमाडौं रेलवे, कार्गो यातायात, तिब्बती राजमार्गको उपयोग, तातोपानी र रसुवामा मितेरी पुल पुनर्निर्माण, उर्जा, आर्थिक, प्राविधिक, कृषि तथा अन्य महत्वपूर्ण विषयमा समझदारी गरेका छन् । यी सबैलाई समेटेर राष्ट्रपति सीको उपस्थितिमा चिनियाँ निजी क्षेत्रसँग ९–बुँदे र प्रधानमन्त्री लीसँग १४–बुँदे सहमति पनि गरेर आएका छन् ।

यस सन्दर्भमा यी सबै सहमति र सम्झौताहरुलाई मान्यता प्रदान गर्ने ‘प्रोटोकल’मा भने नेपाली पक्षका गृहकार्य नहुनुको कारणले हस्ताक्षर नै हुन सकेको छैन ।

चीन भ्रमणमा जाँदा नेपाली तथा नेपाली विज्ञहरुको चासोका रुपमा अभिव्यक्त लिपुलेकको कुरा प्रम ओलीले उठाएनन् । त्यसै गरी अनावश्यक रुपमा चीन र भारतका बीचमा सहकार्यको कुरा उठाएर हास्य पात्र पनि बन्न पुगेका छन् ।

नेपाल लगायतका विश्वका जानकारहरु भन्छन्– ओलीले गरेका यी सबै सम्झौताहरु चीनका आफ्ना नीति, रणनीति र योजना अन्तर्गत भएका हुन् । चीन भन्दा पहिले उनले भारतमा गएर गरेका सबै सहमति र सम्झौताहरु पनि भारतीय चाहनाका आधारमा गरेर आएका छन् ।