ओर्लदो लेटर ग्रेडिङ ः एस्ईईको नतिजा

ओर्लदो लेटर ग्रेडिङ ः एस्ईईको नतिजा

 

काठमाडौं, असार १० । राष्ट्रिय परीक्षा बोर्ड सानो ठिमीले एसईई परीक्षाको नतिजा प्रकाशित गरेलगत्तै शिक्षाविद्हरुले यस वर्षको एस्ईर्ई परीक्षा नतिजामा लेटर ग्रेडिङ घटेको बताएका छन् । लेटर ग्रेडिङका बारेमा परीक्षार्थी विद्यार्थीहरुलाई नै राम्रोसँग जानकारी नभएपछि उनीहरुले यसको महत्व बोध नै गर्न नपाएको उनीहरुको भनाइ छ ।

सुरुमा ग्रेडिङका बारेमा विद्यार्थी तथा अभिभावकहरुको जत्तिको आकर्षण थियो, त्यो पछि आएर रहन सकेन । शिक्षाविद् धनप्रसाद वाग्लेका अुसार २०७३ असार २ गतेका दिन सरकारले सार्वजनिक गरेको ग्रेडिङ प्रणाली पछि आएर २०७३ असोजमा गरिएको ग्रेडिङ प्रणाली भन्दा राम्रो थियो । त्यसमा अंग्रेजी, गणित र विज्ञानलाई महत्व दिइएको थियो । तर पछिल्लो सुधारपछि त त्यो पनि रहेन ।

अहिले विद्यार्थी, अभिभावक तथा शिक्षकमा पनि यसको महत्वबोध हुन छाडेको बताइन्छ । विद्यार्थी यसको पहिलो सरोकार राख्ने पक्ष हो, उसैलाई पनि पास भइहालिन्छ के भो र ? भन्ने पर्न गएकाले मेहनत गर्न छाडिएको छ । त्यसैले लेटर ग्रेडिङ निरन्तर ओरालो यात्रामा छ ।

प.नि.का. भक्तपुरका अनुसार यसवर्षको परीक्षामा नियमिततर्फ चार लाख ५१ हजार ५३२ परीक्षार्थी सहभागी भएका थिए । यस्तै प्राविधिक शिक्षातर्फ ८ हजार ९०६ जना परीक्षार्थी सहभागी भएका थिए । सार्वजनिक गरिएको नतिजाअनुसार नियमिततर्फ जीपीए ३.६५ देखि ४ सम्म प्राप्त गर्नेमा १४ हजार २ सय ३४ जना रहेका छन् ।

त्यसैगरी, जीपीए ३.२५ देखि ३.६० सम्म प्राप्त गर्नेमा ४६ हजार १ सय ३० विद्यार्थी रहेका छन् भने जीपीए २.८५ देखि ३.२० सम्म प्राप्त गर्नेमा ४९ हजार ३७ रहेका छन् । त्यसै गरी जीपीए २.४५ देखि २.८० सम्म प्राप्त गर्नेमा ७० हजार ५ सय १२ जना रहेका छन् ।

२.०५ देखि २.४० जीपीए प्राप्त गर्नेमा ६१ हजार ८ सय ७० जना रहेका छन् भने १.६५ देखि २.०० जीपीए प्राप्त गर्नेमा १ लाख १ हजार ४३ जना रहेका छन् ।

अघिल्लो वर्षको तुलनामा यस वर्षको जीपीए घट्दो क्रममा रहेको छ ।