काठमाडौं, असार ६ । उपत्यकामा स्वच्छ र सफा भनी पिउने पानी वितरण गरिएका जारहरुको नमूना परीक्षण गर्दा ७४ प्रतिशत पानी पिउन अयोग्य रहेको भेटिएको छ । ५० वटा नमूना सङ्कलन र परीक्षणपछि उक्त तथ्य प्रकाशमा आएको हो ।
नमूना परीक्षणका क्रममा जार र बोत्तलमा प्याक गरिएको पानीमा इकोलाई जीवाणु भेटिएको छ । इकोलाई जीवाणु हैजा संक्रमण गराउने जीवाणु हो । यसका साथै दिसाको अंश वा कोलिफर्म पनि उक्त परीक्षणमा भेटिएको छ ।
हालसम्म निकै स्वच्छ, सफा र पिउनयोग्य भनिदै आएका पानीका जार तथा मिनरल वाटरमा रहेको पानी अब उमालेर मात्र पिउन योग्य रहेको सुझाब दिइएको छ ।