संखुवासभा । तेस्रो परियोजनाको बाँध निर्माणस्थलमा पहिरो खस्दा पाँचजना बेपत्ता भएका छन् । संखुवासभाको मकालु गाउपालिका वडा नम्बर ५ को फ्याक्सिन्दा दोभानमा शुक्रबार राति करिब ८ः४० बजे पहिरो खसेर ५ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
परियोजनाको बाँध निर्माण स्थलमा सुरुङ निर्माणको क्रममा उत्तरतर्फको पहाड खस्दा पुरिएर पाँच जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा कालिकोटका कामदारहरू ३२ वर्षिय प्रदीप शाही, जुम्लाको चन्द्र नगरपालिका १ का ४४ वर्षिय प्रेम परियार, भारत झारखण्डका अपरेटर ५५ वर्षिय बुधन मुण्डा र भारत विहारका इलेक्ट्रिसियन ४५ वर्षिय नन्द किशोर रहेका छन् । अर्का एकजनाको भने नाम खुल्न सकेको छैन । सरुङमा कति कामदार थिए अझै यकिन हुन सकेको छैन । ४ वटा स्काभेटरले उद्धारकार्य जारी राखेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरो खस्ने क्रम जारी रहेकोले उद्धारमा समस्या परेको प्रहरीले जनाएको छ । उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी लागिरहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै मोदीको नेपाल भ्रमणका क्रममा परियोजनाको संयुक्त रुपमा काठमाडौंबाट सिलन्यास गरेका थिए । केही दिनअघि मात्र उक्त क्षेत्रमा ३ वटा सकेट बम विष्फोट गराइएको थियो ।