संशोधनवादीहरुको समाजवाद मार्कोसले चलाएको फासीवाद भन्दा कम हुने छैन : लोक नारायण सुवेदी

संशोधनवादीहरुको समाजवाद मार्कोसले चलाएको फासीवाद भन्दा कम हुने छैन : लोक नारायण सुवेदी

वर्तमान सत्ता सामन्तवादी तथा साम्राज्यवादीद्वारा पालितपोषित दलाल तथा नोकरशाही राज्यसत्ता हो । त्यसैले अहिलेको सरकार पनि दलाल तथा नोकरशाहको सरकार हो । वास्तविक मालिक साम्राज्यवादीहरु नै हुन् । सरकारमा बसेकाहरु उनीहरुको खेतालाहरु मात्रै हुन् । यिनीहरुले एकातिर विदेशी शक्तिहरुको सेवा त गर्दै आइरहेका छन् नै देशभित्र पनि जनतालाई नक्कली कम्युनिस्टको खोल ओढेर ढाँटिरहेका छन् । अहिले आफूहरुलाई कम्युनिस्ट पार्टी र कम्युनिस्ट सरकार बताए पनि जन्मदा र दर्ताहुँदाका बखत यिनीहरु कम्युनिस्ट नै थिएनन् । यिनीहरु सुधारवादी, संशोधनवादी पार्टीका रुपमा दर्ता भएका थिए ।

अहिले यिनीहरुले दर्ता हुँदाका बखत आफूले अङ्गीकार गरेका विचारहरु सबै परित्याग गरिसकेका छन् । एकताको नाममा विलयहुँदा यी सरकारी कम्युनिस्ट पार्टीले केवल नेकपा भन्ने खोल मात्र ओढेका छन् । यिनीहरु कम्युनिस्ट विचार, कम्युनिस्ट बाटो, कम्युनिस्ट चरित्र र कम्युनिस्ट संस्कारबाट च्युत भइसकेका छन् । यिनीहरुले आफूहरु मात्र कम्युनिस्ट भएको छलगर्दै सच्चा कम्युनिस्टहरुमाथि आक्रमण सुरु गरेका छन् । आज सच्चा वामपन्थीहरुले विरोध प्रदर्शन गर्दा धरपकड गर्ने र थुनामा राख्ने प्रजातन्त्र र कम्युनिष्टविरोधी तानाशाही कामहरु अघि बढाएका छन् । अन्य राजनीतिक दलका कार्यकर्ताहरुलाई झुट्टा मुद्दा लगाउने काम गरिरहेका छन् । उनीहरुलाई प्रश्न छ कुन चाहिँ कम्युनिस्ट र जनतन्त्रवादीले यस्तो काम गर्छ ?

कम्युनिस्ट सरकार सत्तामा छ भनेर भ्रम फिजाँइएको छ । तर देशमा अहिले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको समस्या विगतको भन्दा झन् विकराल बन्दै गइरहेका छन् । यस बारेमा जबसम्म जनता सचेत हुँदैनन् तबसम्म उनीहरुको राज चलिरहने देखिन्छ । हामी नेपालीहरुले सरकार परिवर्तन भएको कुरा बारम्बार देख्यौं । राणा शासन, पञ्चायत, बहुदलीय व्यवस्थाहुँदै अहिलेको गणतन्त्र भोगिरहेका छौं । तर बिडम्वनाको कुरो प्रथम गणतान्त्रिक सरकारले सुरुमा नेपालीहरुलाई महङ्गीको उपहारले स्वागत गरेको छ । जनताका जनतान्त्रिक हक–अधिकारलाई खोस्ने र राष्ट्रियतालाई बेच्ने काम गरिरहेको छ ।

हामीहरुले सडकमा गणतन्त्र ल्याउनको लागि नारा जुलुस गरिरहँदा वर्तमान प्रधानमन्त्री बनेका खड्ग ओलीले हामी आन्दोलनकर्मीहरुलाई ‘ठेलागाडा चढेर अमेरिका पुग्न खोजेको’ भनी व्यङ्ग्य गर्ने गर्दथे । गणतन्त्र नेपालमा आउँछ भन्ने कुरा उनले सपनामा पनि चिताएका थिएनन् । यसै गरी विद्यादेवी भण्डारी जो आज गणतन्त्रको राष्ट्रपति छिन् उनले यो सडक आन्दोलन गरेर मात्र के हुन्छ, राजासँग सम्झौता पो गर्नुपर्छ भन्ने गर्थिन् । तर समयको विडम्वना मान्नु पर्छ, आज उनीहरु गणतन्त्र नेपालको हर्ताकर्ता भएका छन् । यस्तो अवस्थामा प्रश्न उठ्नु स्वभाविकै हो कि उनीहरुले गणतन्त्रको रक्षा र विकास पक्षमा होलान् या नहोलान् ? अहिलेका सत्तासीन भनिने कम्युनिस्ट नेताहरुले राजासँग सम्झौता गर्दै र झुक्दै आएका हुन् । त्यसैले उनीहरुलाई देश, जनता र जनताका सरोकारका विषयहरुमा कुनै चासो छैन । उनीहरुले मनपरि आफ्नो भत्ता, सेवा सुविधा र ओहोदा ओगट्ने काम मात्र गरेका छन् ।

भर्खरै उनीहरुले भारतसँग गरेका सम्झौता बमोजिम नेपालको नदीनाला भारतलाई सुम्पिएर नेपालको तराई भू–भागमा पानी जम्मा गरेपछि भारतको थोत्रो पानीजहाज मार्फत भारतकै सामान ल्याएर नेपालीहरु माथि महङ्गो मूल्यमा बेच्न लगाउँदा जनतालाई कतिको फाइदा हुन्छ ? यही हो समाजवादतिरको यात्रा ? यस्तै हो कम्युनिस्ट सरकारले गर्ने काम ? पानी त बेचियो बेचियो, केही ठाउँमा निकालिएका बिजुली पनि बेच्ने भनिएको छ । जबकि नेपालीहरुकै लागि बिजुली पुगेको छैन । नेपालमा शिक्षा, स्वास्थ्य, गास, बास, कपास, रोजगारी आदि सबैका लागि बिजुली आवश्यक छ । तर नेपालका ठूला योजनाहरु अरुण तेस्रो, उपल्लो कर्णाली, महाकाली भारतलाई सुम्पिएको छ । यसरी नदीहरु सुम्पदा अध्ययन अनुसन्धान नै गरिएको छैन । डिपीआर (डिटेल प्रोजेक्ट रिपोर्ट) तयार पारिएको छैन । त्यसैले नेपालमा कति बिजुली उत्पादन हुन्छ, नेपालीलाई कति आवश्यक छ, बिक्री गर्दा कति मूल्यमा बिक्रि गरिन्छ र त्यसवापत नेपालीलाई फाइदा कति छ भन्ने कुरा केही पनि थाह दिइएको छैन । जनतालाई यसरी गुमराहमा राखेर नदी भारतको पोल्टामा हालिएको छ ।

किन गरियो त ? किनकि वर्तमान सरकार जनविरोधी बन्दै गइरहेको छ । यी सबै देश र जनताविरोधीहरुले गर्ने कामहरु हुन् । यी सबै काम नेपालमा बनेको दलाल सरकारले आफ्ना मालिकहरुलाई चढाउनु पर्ने नजराना अन्तर्गत भएका हुन् । महङ्गी किन बढाइएको छ ? यी सबै कामहरु नेताहरुले चुनावी खर्च जोहोगर्दा व्यापारी, साहू तथा महाजनबाट सरकारमा पुगेपछि मूल्य बृद्धि गरिदिने बाचाअनुसार लिइएको चन्दा रकमको एकमुष्ट फिर्ती हो । अहिले सबैभन्दा बढी मार आम उपभोक्ता र किसानहरुलाई परिरहेको छ । एकातिर, किसानले उत्पादित वस्तुको मूल्य नै पाएका छैनन् भने अर्कोतिर उत्पादित सामानहरुको कृत्रिम अभाव सिर्जना गरेर तिनै किसान जनतामाथि चर्को महङ्गी थोपरिएको छ । यही हप्तामात्र चिनी प्रति केजी १० रुपियाँले बढेको छ । हरेक खाद्य बस्तुहरुमा ३० देखि ३५ प्रतिशतसम्म मूल्य बृद्धि भएको छ । चामलको मूल्य प्रतिबोरा १०० रुपियाँले बढेको छ । दाल तथा तरकारीको मूल्य पनि आकाशिएको छ ।

अर्कोतिर सरकारले निःशुल्क सेवाका रुपमा सबैलाई दिनुपर्ने शिक्षाको सेवा, स्वास्थ्यको सेवा जनताले प्राप्त गर्ने हैसियत भन्दा धेरै माथि छ । त्यसैले, यो सत्ता जनताको सत्ता त हुँदै होइन, बरु दलाल तथा नोकरशाहहरुको सत्ता भएको व्यवहातः पुष्टि भएको छ । वर्तमान सरकार भनेको त्यसको सञ्चालक मात्रै हो । साम्राज्यवादी मालिकहरुले मूल्य बढाउन निर्देशन दिएपछि उनीहरु मूल्य बढाउँछन् ।

देश भ्रष्टचारी, तस्करी र माफियागिरीको सञ्जालले जकडिएको छ । ३३ किलो हराएको सुन खोज्दै जाँदा ३८ क्वीन्टल सुन तस्करहरुले नेपाल भित्र्याएको तथ्य खुल्न आएको छ । त्यो सुन सरकारमा बसेका ठूलाबडादेखि ओसारपसार गर्नेसम्मले बाँडेर खाँदा कति कति किलो प¥यो होला, तिनका भागमा ? ती सबै ३८ क्वीन्टल सुन नेपालको सम्वेदनशील प्रहरी संयन्त्रलाई घान लगाएर बाँडीचुँडी स्वाहा पारिएको छ । यिनीहरु अहिले तै चुप मै चुपको अवस्थामा छन् । र, एकाग्र भएर सुनिरहेका छन् कि कतै गोरेले उनीहरुको नाम नपोलोस् ।

यस्तो अवस्थामा उनीहरुले भ्रष्टचारप्रति हाम्रो शुन्य सहनशीलता भनेर कसैले पत्याउँछ ? पाइलैपिच्छे कालोबजारी, भ्रष्टाचारी र सुदखोरी गर्नेले भ्रष्टाचारप्रति शुन्य सहनशीलता भन्न सुहाउँछ । यो जनतालाई उल्लु बनाउन गरिएको कसरत भन्दा अर्को होइन ।
२००७ सालदेखि आजसम्म भएका जति पनि युद्ध र आन्दोलनहरु छन्, तिनले यो राज्यको उपरी संरचनामा मात्र परिवर्तन गरेका छन् । राणा गए, राजा आए । पञ्चायत गयो बहुदल आयो । अहिले गणतन्त्र आएको छ । केवल सरकारमा मान्छेका अनुहार फेरिने र व्यवस्थाका नाम फेरिने काम मात्र भएका छन्, तर वास्तविक तल्लो तहमा रहेका जनताहरुको जीवनमा कुनै पनि परिवर्तन आएको छैन ।

देशका सारा युवा शक्ति विदेशमा छन् । नेपाललाई समृद्ध बनाउने युवा शक्ति खाडीको तातो बालुवामा तप्तप् पसिना चुहाइरहेका छन् । देशमा अशक्त, अपाङ्ग, बूढाबूढी र केटाकेटीमात्रै छन् । श्रमशक्तिको हिसाबले देश बनाउने जनशक्ति हामीमाझ छैन । देश बनाउने भन्ने सरकारले एकातिर युवाहरुलाई विदेशमा बेचेर रेमिट्यान्स लिएर राजश्व संकलन गर्ने गरेको छ भने अर्कोतिर देशभरिका किसानहरुबाट घर कर, जग्गा कर र अन्य करहरु उठाएर आफ्नो तलब भत्तामा बृद्धि गरिरहेका छन् । किसानहरुबाट असुलेको करले देशको कुल ३५ प्रतिशत कुल गार्हस्थ उत्पादनलाई ओगटेको छ भने रेमिट्यान्सबाट लिएको करले देशको अरु थप ३५ प्रतिशत राज्यकोषलाई धानेको छ । यो आँकडालाई हेर्दा देशको कुल ७० प्रतिशत आय किसान बावुआमा र तिनका छोराछोरीबाट सरकारले असुली गरिरहेको छ ।

यो सरकारले किसानका लागि न त बजेट छुट्याएको छ, न त अन्य सेवा सुविधाहरु प्रदान नै गरेको छ । तर पनि सरकार सधै फलाक्ने गर्छ– बजेटको ७० प्रतिशत भाग किसानहरुका लागि छुट्याइएको छ । यो सरासर झुट कुरो हो । यी कुराहरु हामीले जनता बीचमा लगेर सचेत बनाइ जनतालाई उठायौं भने सिङ्गो देश जनविरोधी साम्राज्यवादी, विस्तारवादी र घरेलु संशोधनवादी, प्रतिक्रियावादी शक्तिका विरुद्धमा एक जुट भएर लड्ने छन् ।

अहिले एउटा खतरा के छ भने सरकार स्थानीय तहदेखि प्रदेशहुँदै केन्द्रसम्म एउटै पार्टीको छ । उनीहरु के भन्दै आएका छन् भने वडा अध्यक्ष हाम्रै, गाउँपालिका अध्यक्ष हाम्रै, नगरपालिका मेयर हाम्रै, प्रदेशका मुख्यमन्त्री हाम्रै र केन्द्रीय सरकारका प्रधानमन्त्री पनि हाम्रै । त्यसैले, हामीले जे भन्यौं त्यही हुन्छ । यसले के देखाउँछ भने वर्तमान सरकार फासीवादीकरणको बाटोमा अघि बढिरहेको छ । यो मार्कोसले चलाएको फासीवाद भन्दा कम हुने छैन । हामी भन्न चाहन्छौं तपाईहरुले कम्युनिस्टको नाम बदनाम नगर्नुस् । हामीहरुमाथि आक्रमण गर्ने काम पनि बन्द गर्नु होस् । र बरु तपाईहरुका बारेमा भन्नुहोस् कि ‘हामी कम्युनिस्ट पनि होइनौं र गणतन्त्रवादी पनि होइनौं, पदलोलुप र सत्तालोलुप हौं’ भनेर जनतासामु भन्नूस् । बहुदलीय व्यवस्थाको विरुद्ध उठेको जनता तपाईहरुका विरुद्ध उठ्ने बाध्यात्मक वातावरण सिर्जना नगर्नोस् ।