काठमाडौं । सरकारले १ असारबाट निषेधित क्षेत्रहरु तोक्दै ती क्षेत्रहरुमा विरोध गर्न रोक लगाएको विरोधमा डा. गोविन्द केसीले मुखमा टेप लगाएर माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । मुखमा टेप लगाएर माइतीघर चोकमा उभिएका डा. केसीले एउटा हातमा ‘नागरिक स्वतन्त्रता खोस्न दिदैनौं । निषेधित क्षेत्र घोषणा अवज्ञा गर्छौं’ र अर्को हातमा ‘म रैती होइन, सार्वभौम नागरिक हुँ’ भन्ने प्ले कार्ड बोकेका थिए ।
आफूहरुको आन्दोलनको बलमा लोकमान सिंह कार्की, गोपाल पराजुलीहरु ढलेको तर, उनीहरु त पात्र मात्र भएको बताए । मुख्य पात्र दलका नेताहरु भएको उनको दाबी छ । डा. केसीले भ्रष्टाचार, वेथितीविरुद्ध आफ्नो आन्दोलन जारी रहेको बताएका छन् ।
सरकारले नागरिकको मुख थुन्न माइतीघर मण्डला लगायतका स्थानमा प्रदर्शन गर्न रोक लगाएको भन्दै डा. केसीले भने, “म ओलीजीलाई भन्छु, हामी आवाज बुलन्द गर्छौं, यहीबाट लड्छौं । कसरी रोक्दा रहेछौं हेरौं ।” माइतीघर मण्डला, रत्नपार्क शान्तिबाटिकालगायत क्षेत्रलाई १ गते असारबाट लागू हुने गरी सरकारले धर्ना जुलुस गर्न नपाउने गरी निषेक्षित क्षेत्र घोषणा गरेको छ ।