काठमाडौं . ललितपुरमा प्रहरीले लामो समयदेखि अपराधिक क्रियाकलापमा संलग्न रहेको भनी खोजी गर्दै जाँदा सोमवार दिउँसो अशोक लामामाथि युएन् पार्कमा गोली प्रहार गरेको छ ।
यसअघि पनि विभिन्न घटनामा पक्राउ पर्दा छुटिरहेका लामा पछिल्लो समय ललितपुर सातदोबाटो क्षेत्रलाई आधार बनाएर आफ्नो ग्याङलाई चलाइरहेका थिए । व्यापारीहरुलाई धम्काउँदै पैसा असुलेको उजुरी प्रहरीकहाँ परेपछि उनलाई पक्राउ गर्न खोजि भइरहेकै बखत् उनी प्रहरीको गोलीबाट घाइते हुन पुगेका हुन् ।
प्रहरीको फरार सूचीमा रहेका लामासँग जम्काभेट हुँदा चेकजाँच गर्ने क्रममा प्रहरीमाथि नै आक्रमण गरेकाले गोली चलाइएको प्रहरी अधिकारीले बताएका छन् ।
हानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले प्रहार गरेको गोली उनको खुट्टामा लागेको छ । दाहिने खुट्टाको माथिल्लो भागमा गोली लागेका लामालाई अहिले उपचारका लागि वीर अस्पताल पुर्याइएको छ ।
घटनापछि दुई राउन्ड गोलीसहित बरामद पेस्तोल प्रहरीको कब्जामा रहेको पनि बताइएको छ । गुण्डा तथा चुल्ठेमुन्द्रे नियन्त्रणमा लिई तीमाथि कार्वाही चलाइने गृहमन्त्रीको भनाइ सार्वजनिक भएको केही समयपछि लामामाथि कार्वाही भएको छ ।