घोराही, शनिबारका दिन नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) दाङ जिल्लाको आठौँ अधिवेशन सम्पन्न भएको छ ।
घोराही उपमहानगर–३, वेलुवा स्थित सहिदपार्कको सभाभवनमा सम्पन्न भएको आठौँ अधिवेशनको पार्टीका पोलिटब्युरो सदस्य तथा ५ नं. प्रदेशका कार्यबाहक सेक्रेटरीसमेत् रहेका के.बी.गुरुङले आठवटा मैनबत्ती बालेर उद्घाटन गर्नु भएको थियो । उद्घाटन मन्तव्यका क्रममा गुरुङले भन्नुभयो–‘जनवादी क्रान्ति पूरा भयो भन्दै समाजवादी क्रान्तिका लागि समृद्ध नेपाल सुखी नेपाली भनेर नारा दिने वर्तमान सरकारले झुठा नारा दिएर जनतालाई गुमराहमा पारेको छ । यस कुरालाई सरकारकै विनियोजित बजेट र उसको तथ्याङका आधारमा खण्डन गर्दै जनतालाई सचेत बनाउनु पर्छ ।’
उहाँले क्रान्ति पूरा भएको भनेर कथित नेकपा र पूर्व माओवादीकेन्द्रले सिद्धान्त विचार परित्याग गरेर दलाल नोकरशाही पुँजीवादी संसदीय व्यवस्था स्वीकार गरेकाले यो सच्चा कम्युनिष्ट हुनै नसक्ने भन्दै त्यसका लागि ‘हामीले पनि विचार क्रान्तिकारी र मालेमावादी लिएर मात्रै हुँदैन, त्यसका लागि विचार अनुरूपको कुशल व्यवहार गर्न कार्यकर्ताहरू सक्षम हुनु पर्छ’ भन्नुभयो । पार्टीले अहिले मालेमावादको मार्गदर्शक सिद्धान्तका आधारमा पोखरा सम्मेलनबाट विद्रोहको कार्यदिशा तय गरेको बताउँदै त्यसका लागि तलैसम्म चुस्त र जुझारु सङ्गठन निर्माण गर्न नवनिर्वाचित जिल्ला कार्यसमितलाई निर्देशन पनि दिनुभयो ।
सम्मेलनलाई पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज हिरामणि दुःखीले पनि शुभकामना मन्तव्य दिएका थिए । मन्तव्यका क्रममा दुःखीले भन्नुभयो– ‘नेपालमा जोसुकैले जे भने पनि जनवादी क्रान्ति पूरा भएको छैन र क्रान्तिको बाँकी कार्यभार पूरा गर्न सबैले फेरि एकचोटी प्रतिक्रियावादी सत्ताविरुद्ध धावा बोल्न तयार रहनु पर्छ ।’ उहाँले अगाडि भन्नुभयो– ‘जनयुद्ध प्रत्याक्रमणको चरणमा पुगेकै बेला प्रचण्ड, बाबुराम र बादल मण्डलीले त्यसलाई डाइभर्सन गरी सचेततापूर्वक संसदीय व्यवस्थामा ल्याएर चोबलेको र आज जनयुद्धकै औचित्यमाथि प्रश्न उठ्ने गरी विसर्जनमा पु¥याएर उनीहरू एमालेको विचार सिद्धान्त र कार्यदिशा स्वीकार्दै पतन भएका छन् ।’
अधिवेशनलाई पार्टीका प्रदेश सदस्यहरू सागर, अजय, बज्र, रामप्रसाद, शिशीर र देजमोका केन्द्रीय सदस्य यमबहादुर शाह, किसान संगठनका केन्द्रीय सदस्य नन्दराम रोका, महिलाका केन्द्रीय सदस्य सुशीला आचार्य, दलितका केस तिलक विक, मगर मोर्चाका केस निमबहादुर जिएम, शिक्षक केस ईश्वरीप्रसाद पाण्डे लगायतले अधिवेशन सफलताको शुभकामना दिनुभएको थियो ।
अधिवेशनले रामजी थारुलाई सेक्रेटरीमा चयन गर्दै एक पूर्ण र तीन वैकल्पिक सदस्य खाली राख्दै तीन वैकल्पिक र अठार जना पूर्ण सदस्य रहेको पच्चीस सदस्सीय जिल्ला समिति निर्वाचित गरेको छ । अन्य सदस्यहरूमा क्रमशः मुक्ति, पारस, परिवर्तन, राप्ती, मदन, नवीन, टीकाराम, बादल, उज्ज्वल, समीक्षा, विज्ञान, चन्दन, विक्रम, शक्ति, मिलन, मुकेश, वासुदेव, किसान, सिमाना र विकास रहनु भएको छ् । भेलापछि समितिका जेष्ठ सदस्य टीकारामको अध्यक्षतामा बसेको सङ्क्षिप्त बैठकले रामजी थारुलाई सेक्रेटरीमा चयन गरेको छ भने रामजीको नेतृत्वमा मुक्ति, पारस, परिवर्तन, राप्ती, मदन, नवीन र टीकाराम रहेको आठ सदस्यीय सचिवालय गठन गरेको छ ।
उक्त अधिवेशनको बन्द सत्रका क्रममा आयोजकका तर्फबाट क.सागरद्वारा तयार पारिएको सङगठनात्मक प्रतिवेदन र क.पारसद्वारा तयार पारिएको आर्थिक प्रतिवेदन पारित गरेको थियो । अधिवेशनले समसामयिक प्रस्तावका रूपमा निम्नअनुसारका प्रस्ताव पारित गरेको छ ः
१. पार्टी तथा देजमोका जिल्ला सदस्य क.पद्मप्रसाद अधिकारीको जीवनसङ्गिनी पार्वता अधिकारीको ५९ वर्षको उमेरमा यही जेठ २२ गते भएको निधनले पार्टी स्तब्ध र दुःखी भएको छ । यस दुःखद घडीमा मृतक पार्वताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ ।
२. उत्तर कोरिया, क्युवा, इरानलगायतका मुलुकहरूमा अन्यायपूर्ण रूपमा लगाइएको अमेरिकी साम्राज्यवादको आर्थिक नाकाबन्दी, विनाशर्त अन्त्य गरियोस् ।
३. अमेरिकी साम्राज्यवादद्वारा सिरीयामा प्रतिविद्रोहलाई उक्साउने र त्यहाँ अराजकता मच्चाई अशान्ति बढाउने कार्य, एवम् प्यालेष्टिनी राष्ट्रको जातिवादी फासिवादी इजरायलको अतिक्रमणलाई सघाउने कार्य तत्काल बन्द गरियोस् र प्यालेष्टिनी जनताको आत्मनिर्णयको अधिकारको पूर्ण सम्मान गरियोस् ।
४. संसारका विभिन्न मुलुकहरूमा अमेरिकी साम्राज्यवादद्वारा खडा गरिएका सैन्य बेसक्याम्पहरू तत्काल बन्द गरी सेना फिर्ता बोलाइयोस् ।
५. भारतीय विस्तारवादी शसकद्वारा नेपाल र नेपाली जनतामाथि जनहित विपरित थोपरिएको सन १९५० को असमान सन्धि, कोशी, गण्डक, महाकाली, अपर कर्णाली, अरूण तेस्रो र बिप्पा सम्झौता लगायतका सबै असमान सन्धि सम्झौताहरू खारेज गरी, पारस्परिक समानताका आधारमा नयाँ सन्धि सम्झौताहरू गरियोस् ।
६. पुरानो वासी एवम् प्रतिक्रियावादी संसदीय व्यवस्था कायम गर्ने जनविरोधी संविधान खारेज गरियोस् ।
७. जनजीविकाका खाद्य, स्वास्थ्य, शिक्षा, आवास, सुरक्षा, रोजगार र यातायात सुविधाको सुनिश्चितता गरियोस् ।
८. महिला, वालवालिका र उत्पीडित जातजातिमाथि गरिने सबै प्रकारका मानवता विरोधी भेदभाव, दुव्र्यवहार र अपमानित गर्ने जो कोहीलाई पनि कडा भन्दा कडा कारवाही गरियोस् र महिला तथा बालबालिका बेचबिखन तुरुन्त रोकियोस् ।
९. देशमा अस्वाभाविक रूपमा वढाइएको मूल्य वृद्धि तत्काल रोकी मूल्य घटाई सर्वशुलभ उपलब्ध गराइयोस् र काला बजारियाहरूलाई कडा कारवाही गरियोस् ।
१०. वेराजगार युवाहरूलाई स्वदेशमै रोजगारीको व्यवस्था गरी दिनहुँ हजारौँको सङ्ख्यामा भइरहेको युवाहरूको विदेश पलायन तत्काल रोकियोस् ।
११. महान् जनयुद्धका वेपत्ता योद्धाहरूको तत्काल यथार्थता सार्वजनिक गरियोस्, तिनका परिवार, घाइते अपाङ्ग योद्धाहरू र सहिद परिवारहरूको सम्पूर्ण जीविकाको व्यवस्था राज्यद्वारा गरियोस् र अपहेलित र कथित अयोग्य जनमुक्ति सेनाहरूलाई उचित क्षतिपूर्तिको व्यवस्था गरियोस्, जनयुद्धका क्रममा जागिरबाट अवकास गरिएका र गर्न लगाइएका सेना प्रहरीहरूलाई उचित क्षेतिपूर्तिको व्यवस्था गरियोस् ।
१२. दाङलगायत देशका विभिन्न भागमा मानव वस्ती नजिक स्थापना गरिएका सिमेन्ट उद्योग तथा प्रदुषणयुक्त सबै कलकारखानाहरू स्थानान्तरण गरियोस् र ती उद्योगहरूमा नेपाली कामदार र कर्मचारीहरूलाई प्राथमिकता दिई समान व्यवहार गरियोस् ।