काठमाडौं, जेठ १५ । भारतीय विदेश मन्त्री सुष्मा स्वराजले सोमबार भएको पत्रकार सम्मेलनमा दिएको विवादास्पद अभिव्यक्तिका कारण सार्वजनिक रुपमै माफी माग्नु परेको छ ।
नयाँदिल्ली स्थित भारतीय विदेश मन्त्रालयमा सोमबार आयोजित एक पत्रकार सम्मेलनमा विदेशमन्त्री स्वराजले ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो नेपाल भ्रमणका क्रममा जनकपुरको बाह्रबिघा मैदानमा लाखौं भारतीयलाई सम्बोधन गरेको’ बताइकी थिइन् । उनले त्यस्तो अभिव्यक्ति दिएको केही क्षणमै अनलाइन सञ्चारमाध्यम र ट्वीटरलगायतका सामाजिक सञ्जालमा तीब्र विरोध सुरु भएको थियो ।
विरोध बढ्दै गएपछि पत्रकार सम्मेलन सकिएको करिब पाँच घन्टा पछि राति साँढे १० बजे आफ्नै ट्वीटर ह्याण्डलबाट ‘मेरो तर्फबाट गल्ती भएको’ भन्दै उनले माफी मागेकी हुन् ।
उनले भनेकी थिइन, ‘अमेरिकाको म्याडिसन स्क्वायरदेखि जनकपुरमा देखिएको लाखौं लाख भारतीयलाई सम्बोधन गरेर प्रधानमन्त्री मोदीले सीधै उनीहरुसँग सम्बन्ध जोड्नु भएको छ ।’ उनले प्रधानमन्त्री मोदीले त्यहाँ उपस्थित लाखौं नागरिकहरुसँग गरेको साक्षात्कारलाई भारतले विगत चार वर्षमा विदेशमा रहेका आफ्ना भारतीय नागरिकहरुसँग गरेको सम्बन्ध विस्तारका रुपमा अथ्र्याएकी थिइन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण र त्यहाँ आयोजित कार्यक्रमलाई लिएर नेपालको केन्द्र सरकार र दुई नम्बर प्रदेश सरकारबीचको सम्बन्ध चिसिएको बेला विदेश मन्त्री स्वराजको यस्तो भनाईले आगोमा घ्यू थप्ने काम गरेको छ ।