काठमाडौं , जेठ १५ । सरकारले बाँकी कैद सजाय मिनाह गरेपछि द्वन्द्वकालीन मुद्दामा जेल परेका बालकृष्ण ढुंगेललाई आज रिहा गरिएको छ । ढुंगेललाई मंगलबार बिहान डिल्लीबजार कारागारबाट रिहा गरिएको हो ।

गणतन्त्र दिवसको अवसर पारेर सरकारले ढुंगेलसहित अन्य ८१६ कैदी–बन्दीको कैद मिनाह गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । राष्ट्रपतिले सरकारको सिफारिस अनुमोदन गरेसँगै ढुंगेललाई रिहा गरिएको हो । ।

ओखलढुंगाका तत्कालीन एमाले कार्यकर्ता उज्जनकुमार श्रेष्ठको हत्या अभियोग लागेका ढुंगेल द्वन्द्वकालमै ७ वर्ष जेल परेका थिए । शान्ति प्रक्रियापछि सर्वोच्च अदालतले ढुंगेललाई सर्वस्वसहित जन्मकैदको सजाय तोकेको थियो । उनलाई गत कात्तिक १४ गते ललितपुरबाट पक्राउ गरिएको थियो । जेल परेको झण्डै ६ महिनापछि उनलाई सरकारले कैद सजाय मिनाह गरेको छ ।

यसैबिच, ढुंगेललाई माफी नदिन माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाइ जारी छ । अदालतले सोमबारमात्र ढुंगेललाई माफी दिने निर्णयको सक्कल प्रति मागेको थियो ।

द्वन्द्वकालीन मुद्दाहरुलाई सत्यनिरुपण तथा मेलमिलाप आयोग मार्फत राजनीतिक रुपमा किनारा लगाइनु पर्ने माग माओवादी वृतबाट उठ्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर