काठमाडौं । पूर्व जनमुक्ति सेनाको बहिर्गमित जनमुक्ति सेना नेपालको केन्द्रीय सङ्गठन समितिका महासचिव राजन थापा ‘सुवास’को टोलीले नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’लाई भेटी आफूहरु अन्यायमा परेको गुनासो गरेका छन् । बुद्धनगरस्थित केन्द्रीय कार्यालयमा भेट गरी कुराकानी गर्ने क्रममा सङ्गठनका तर्फबाट तयार पारिएको ज्ञापनपत्र महासचिव किरणको हातमा थमाउँदै उनीहरुले उक्त कुराको खुलासा गरेका हुन् ।

ज्ञापनपत्रमा उनीहरुले आफूहरुलाई स्वेच्छिक अबकासप्राप्त जनमुक्ति सेनासरह राज्यले एकमुष्ठ रकम उपलब्ध गराउनुपर्ने, सोका लागि आर्थिक वर्ष २०७५÷०७६ को बजेटमै उक्त रकम विनियोजन गरिनुपर्ने, योद्धाहरुको स्वास्थ्योपचारको व्यवस्था गरिइनुपर्ने, बहिर्गमितहरुका लागि स्वदेशमा नै रोजगारीको व्यवस्था गरिइनुपर्ने, ती सबैलाई देशमा परिवर्तनका लागि गरेको योगदान खुल्ने गरी परिचयपत्र दिइनुपर्ने आदि कुराहरुको माग गरिएको छ ।

ज्ञापनपत्र पढेपछि बहिर्गमित जनमुक्ति सेनाको टिमसँग महासचिव किरणले केही समय छलफल गर्नुभयो । छलफलपछि आफ्नो धारणा राख्दै महासचिवले देशमा परिवर्तन ल्याउनका लागि सबै बहिर्गमित जनमुक्ति सेनाको अति महत्वपूर्ण र ऐतिहासिक भूमिका रहेकाले क्रान्तिकारी माओवादी पार्टी आज पनि उहाँहरुको साथमा रहेको बताउनु भयो ।

पूर्व जनमुक्ति सेनाले उठाएका मागहरु जायज छन् भन्दै उहाँले जोड दिनुभयो– ‘पार्टीले ती बहिर्गमित जनमुक्ति सेनाका मागहरु सङ्घर्षको एजेण्डाको रुपमा उठाएकाले पूर्व पीएल्एका एजेण्डाहरु अब क्रान्तिकारी माओवादी पार्टीका एजेण्डाहरु बन्न पुगेको छन् । जनयुद्धका जीवित निधिका रुपमा रहेका जनमुक्ति सेनामाथि गरिएको अन्याय सैह्य छैन । अन्यायका विरुद्धमा उठाइएका यी मागहरु समयमै पूरा नगरिए सङ्घर्षमार्फत् त्यो अन्यायको अन्त्य गरिने छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर