क्रान्तिकारी चालक दलले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

क्रान्तिकारी चालक दलले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

काठमाडौं । नेपाल क्रान्तिकारी चालक दलको केन्द्रीय समितिको बैठक शनिबार सम्पन्न भएको छ । दलका संयोजक बसन्त बस्नेत‘राजभाई’को अध्यक्षतामा बसेको बैठकले यातायात तथा हवाई क्षेत्रमा देशैभर रहेका समस्याहरुलाई समेटी यातायात मन्त्री, गृहमन्त्री र प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ ।

दलका सल्लाहकार तथा हवाई यातायात क्षेत्रका चालक दलका संयोजक पूर्वपाइलट डिके बुद्धिस्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त बैठकले ट्याक्सी, बस, माइक्रो, सुमो, ट्रक, स्क्याभेटर, हेलिकम्प्टर, हवाइजहाजलगायतका क्षेत्रमा कार्यरत चालक तथा सहचालकहरुले भोग्नु परेका समस्याहरुको वास्तविक समाधानका लागि पहल गर्न अन्य विभिन्न रचनात्मक कार्यहरु गर्दै जाने निर्णय पनि गरेको छ ।

बैठकले यातायातको क्षेत्रमा सरकारको गृहमन्त्रालयले सिन्डिकेट हटाउन गरेको प्रयासलाई सकारात्मक रुपमा लिंदै पछिल्ला दिनमा कम्पनीको नाममा नयाँ स्वरुपमा सिन्डिकेट लाद्ने खालका गतिविधिहरु बढेर गएकोप्रति गम्भीर रुपमा ध्यानाकर्षण भएको पनि जनाएको छ ।

बैठकमा चालक दलका बरिष्ठ सल्लाहकार सन्ध्या प्रधान, कानुनी सल्लाहकार शैलेन्द्र पाण्डे, सल्लाहकार जनक थापामगर ‘मुनाल’लगायतको उपस्थिति रहेको थियो । बैठकमा दलका केन्द्रीय सहसंयोजक सुरेश घिमिरेले संगठनको आर्थिक हरहिसाब पेश गर्नुभएको थियो ।

बैठकका प्रमुख अतिथि बुद्धिस्टले नेपालको यातायात तथा हवाई क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान कायम गराउने गरी रचनात्मक तथा सिर्जनात्मक कामहरुलाई प्राथमिकताका आधारमा अगाडि बढाउनु पर्ने विचार व्यक्त गर्नुभएको थियो भने बरिष्ठ सल्लाहकार प्रधानले चालक दलले गर्नुपर्ने कार्यहरु र पालना गर्नुपर्ने नियमहरुका बारेमा प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो । बैठकले लिएका निर्णयहरु कार्यान्वयनका लागि केन्द्रीय सदस्यहरुलाई निर्देशन दिंदै बैठकका अध्यक्ष तथा चालक दलका संयोजक राजभाईले बैठकको समापन गर्नुभएको थियो ।