काठमाडौं । इच्छुक साँस्कृतिक प्रतिष्ठानले विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि फरक फरक विधामा चार जना स्रष्टाहरुलाई पुरस्कृत गरेको छ । प्रगतिवादी धाराको साहित्यिक सांस्कृतिक आन्दोलनमा क्रियाशील रहेका साहित्यकार मोदनाथ मरहट्टा र नेपाली वर्गसङ्घर्षको सौन्दर्यात्मक मूल्यहरूको प्रवद्र्धनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै प्रगतिवादी कवि विनोदविक्रम केसी लाई यस वर्षको ‘कृष्ण सेन इच्छुक स्मृति पुरस्कार २०७५ बाट पुरस्कृत गरेको छ भने नेपाली प्रगतिवादी साहित्य लेखनमा क्रियाशील रहेर वर्गसङ्घर्ष तथा उत्पीडित वर्ग, जाति र समुदायको संवेदनालाई कविता मार्फत् अभिव्यक्त गर्दै प्रगतिवादी साहित्यिक आन्दोलनमा योगदान पु¥याएवापत शोभा दुलाल र नेपाली जनयुद्धमा गीत सङ्गीतका माध्यमबाट जुझारू सांस्कृतिक योद्धाको भूमिका निर्वाह गर्दै समाज रूपान्तरण अभियानमा महत्वपूर्ण भूमिका निभाएकी फुलमाया दर्जी ‘प्रगति हिङमाङ’ लाई यस वर्षको कलातर्फको ‘इच्छुक प्रतिभा पुरस्कार २०७५’ प्रदान गरिएको छ ।
कृष्णसेन इच्छुक स्मृति पुरस्कार १ लाख (संयुक्त रुपमा) र इच्छुक प्रतिभा पुरस्कार २५÷२५ हजार राशीको रहेको छ । प्रतिष्ठानको हलमा आयोजित विशेष समारोहका बीच उल्लेखित स्रष्टाहरुलाई बरिष्ठ सौन्दर्य चिन्तक चैतन्यले पुरस्कार हस्तान्तरण गर्नुभएको थियो । उक्त समारोहमा इच्छुककी जीवनसंगिनी तक्मा केसी, छोरी समीक्षा, प्रतिष्ठानका अध्यक्ष ईश्वरचन्द्र ज्ञवालीलगायतका साहित्यिक व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।
यस्तो छ प्रतिष्ठानले तयार पारेको पुरस्कृत हुने स्रष्टाहरुको परिचय :
मोदनाथ मरहट्टा
नेपालको प्रगतिवादी जनसांस्कृतिक आन्दोलनमा मोदनाथ मरहट्टा सुपरिचित नाम हो । गोरखा हर्मीमा आमा सुभद्रा र बुबा पद्मनिधिका सन्तानका रूपमा २०१२ साउन २ गते जन्मिएका हाल चितवन, रत्ननगर निवासी मोदनाथ मरहट्टा नेपालका प्रगतिवादी धाराका प्रखर कवि हुन् । २०३६ सालमा राधासँग वैवाहिक सम्वन्धमा जोडिएका मरहट्टाका तीन छोरीहरू सरिता, सन्ध्या र समिधा छन् ।
आई.ए.सम्मको औपचारिक शिक्षा हासिल गरेका कवि मरहट्टाले कविताका साथै संस्मरण, निवन्ध र समीक्षा लेखनमा पनि कलम चलाएका छन् । उनका ‘पाइलाहरू शिखरतिर उकासिँदै गर्दा’ कविता सङ्ग्रह २०५५ र ‘उज्यालो जन्मनु अघि’ लघु काव्य २०६२ पुस्तकाकार रूपमा प्रकाशित कृतिहरू हुन । त्यसका अतिरिक्त विभिन्न दैनिक, साप्ताहिक, साहित्यिक क्षेत्रका त्रैमासिक तथा पाक्षिक पत्रपत्रिकाहरूमा उनका थुप्रै फुटकर कविता, निवन्ध, संस्मरण र कृतिगत समीक्षाहरू प्रकाशित छन् । त्यसैगरी उनले जनदिप २०५० गोरखा, उत्प्रेरणा २०५४–०५७ मासिक, पूmलको डोली साहित्यिक मासिक २०६०–०६२, प्रेमबहादुर पण्डितका कविता सङ्ग्रह २०६९, चेतकान्त चापागाइँको ‘जून अस्ताएपछि’ २०६२ जस्ता कृतिहरूको सम्पादन गरिसकेका छन् । त्यसैगरी उनले जगत श्रेष्ठको ‘मेरो धर्ती’ कविता सङ्ग्रह, नयाँ राज्य दैनिक २०६५–०७०, चितवन उद्योग सङ्घद्वारा प्रकाशित ‘उद्यम स्मारिका’ २०६८–०७०, का साथै गोरखा र चितवनको थुप्रै विद्यालयहरूका स्मारिका सम्पादनको अनुभव प्राप्त गरिसकेका छन् ।
मोदनाथ मरहट्टा वर्गबोधी साहित्यकार हुन् । तसर्थ उनी साहित्यमा वर्गीय पक्षधरतालाई राम्रोसँग उजागर गर्दछन् । २०३३ सालमा गोरखामा जनयुद्धका महान् सहिद सुरेश वाग्लेसँग एकैसाथ कम्युनिष्ट पार्टीको सदस्यता लिएका मरहट्टाले सुरुआती कविता लेखनमै उत्पीडित वर्गीय पक्षधरता अङ्गालेका छन् । २०३७ सालमा नयाँ दिल्लीबाट प्रकाशित प्रवासी नेपालीहरूको पत्रिका ‘नेपाली एकता पाक्षिक’ मा उनको पहिलो कविता प्रकाशित भएको देखिन्छ । पुस्तकाकारका रूपमा प्रकाशित भएका र फुटकर रूपमा रहेका सबै रचनाहरूमा उनले नेपाली वर्गसङ्घर्ष, जनयुद्ध र नेपालको वर्गीय अन्तरविरोधबाट सिर्जित नेपाली परिवेसमा केन्द्रित विचार, भाव र कला प्रस्तुत गरेका छन् । साहित्यकार मोदनाथ पेशाले शिक्षक हुन् । ३३ वर्ष लामो शिक्षण पेशा गरी हाल निवृत्त रहेका मरहट्टा नेपालमा भएका सबै वर्गीय आन्दोलनमा प्रत्यक्ष परोक्ष रूपमा कृयाशील व्यक्तित्व हुन्् । आफ्ना रचनाहरू मार्फत् नेपालमा चलेका वर्गसङ्घर्षहरू र जनयुद्धका समर्थनमा उत्पीडित वर्गका जनतालाई उत्प्रेरणा दिएकै कारण जनयुद्धको सुरुआतमै २०५२ फागुन १५ गते गोरखाबाटै गिरफ्तार पर्ने नेपालका पहिलो स्रष्टा व्यक्ति हुन् । गोरखाली जनताको व्यापक दबाबपछि २९ दिनको हिरासत मुक्त भए । त्यसपछि पुनः २०५८ माघ ५ गते गिरफ्तार परेर २०६० बैशाख १४ गतेसम्म गोरखा जेलमा बसे ।
२०४८ मा अखिल नेपाल जनसांस्कृतिक सङ्घका गोरखाका सचिवबाट साहित्यिक सांस्कृतिक आन्दोलनमा प्रत्यक्ष सङ्गठनात्मक भूमिका निभाएका मरहट्टा त्यस यता प्रलेस गोरखाका अध्यक्ष २०५७, अखिल नेपाल लेखक सङ्घको केन्द्रीय सदस्य २०६३, अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य २०६४, प्रलेसको २०५७ मा केन्द्रीय पार्षद्को जिम्मेवारी सम्हालिसकेका उनी अहिले प्रलेसका केन्द्रीय सदस्य र अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय सचिव रहेका छन् ।
राजनीतिसँग सम्वद्ध साहित्यिक सांस्कृतिक सङ्गठनहरूमा कृयाशील रहेका मोदनाथ सामाजिक सङघ संस्थाहरूमा पनि उत्तिकै कृयाशील रहेका छन् । उनले तनहुँबाट २०६६ मा ‘सारदा–देउराली सम्मान’, २०६८ मा गोरखाबाट ‘साहित्य सङ्गम सम्मान’, त्यसैगरी गोरखाका तीनवटा विद्यालयबाट ‘अशल शिक्षिक’ तथा ‘दीर्घसेवा’ जस्ता सम्मान प्राप्त गरिसकेका छन् । यसका अतिरिक्त उनले २०७२ को भूकम्पमा जनसेवामा लागेकाले समाजसेवा सम्मान प्राप्त गरेका छन् भने उनको व्यक्तित्व र कृतित्वका बारेमा त्रिभुवन विश्वविद्यालयबाट नरनाथ खनालले सोध गरिसकेका छन् ।
यसरी झण्डै पाँचदशक लामो कम्युनिष्ट राजनीति, तीनदशक भन्दा बढि शिक्षण पेसासँगै प्रगतिवादी धाराको साहित्यिक सांस्कृतिक आन्दोलनमा क्रियाशील रहेका साहित्यकार मोदनाथ मरहट्टालाई यस वर्षको ‘कृष्ण सेन इच्छुक स्मृति पुरस्कार २०७५’ संयुक्त रूपमा प्रदान गरिएको छ ।
विनोदविक्रम केसी
चाल्नाखेल, काठमाडौंमा २०३५ माघ २० गते बुबा कृष्णबहादुर खत्री र आमा भगवती खत्रीको कोखबाट जन्मिएका विनोदविक्रम केसी नेपाली प्रगतिवादी साहित्यिक धाराका प्रखर युवा कवि हुन् । विमला गोदारसँग वैवाहिक सम्वन्ध जोडेका केसीको एक छोरा वैभवविक्रम केसी छन् ।
उनको २०५३ मा मधुपर्कमा पहिलो कविता प्रकाशित भएको थियो । त्यसयता प्रगतिवादी धारामा निरन्तर कलम चलाउँदै आएका विनोदको ‘भोकको क्षेत्रफल २०६९’ कविता सङ्ग्रह प्रकाशित छ । दीपक सापकोटाको निबन्ध सङ्ग्रह ‘लोकेसन’ र सुजित मैनाली अनूदित ‘भाषण ः विश्वका चर्चित भाषण’ उनीद्वारा सम्पादित कृतिहरू हुन् ।
पेशाले पत्रकारिता क्षेत्रमा लागेका विनोदले २०६५–२०६७ सम्म नयाँ पत्रिका दैनिकमा र २०६८–२०७४ सम्म शुक्रवार साप्ताहिकमा काम गरेका थिए । हाल उनी अन्नपूर्णपोष्टको सह प्रकाशन ‘सम्पूर्ण साप्ताहिक’ मा कार्यकारी सम्पादकको भूमिकामा रहेर काम गरिरहेका छन् । साथै उनले अन्य थुप्रै फुटकर कविता, निबन्ध, व्यङ्ग्य (वक्रासन स्तम्भ), अनुवाद आदि रचना विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित गरिसकेका छन् ।
विनोदले विगत दुई दशकदेखि नेपालको जनसांस्कृतिक आन्दोलनमा उत्पीडित वर्ग र समुदायको संवेदनालाई कविता, निवन्ध, व्यङ्ग्य र अनुवादका माध्यमबाट चित्रण गर्दै आएका छन् । उनले यस अघि नागार्जुन साहित्य प्रतिष्ठानबाट ‘शुभप्रभात काव्य सम्मान’ प्राप्त गरिसकेका छन् ।
यसरी सिर्जनात्मक क्षेत्रबाट नेपाली वर्गसङ्घर्षको सौन्दर्यात्मक मूल्यहरूको प्रवद्र्धनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका चाल्नाखेत, काठमाडौं निवासी प्रगतिवादी कवि विनोदविक्रम केसी लाई यस वर्षको ‘कृष्ण सेन इच्छुक स्मृति पुरस्कार २०७५’ संयुक्त रूपमा प्रदान गरिएको छ ।
शोभा दुलाल
नयाँ भञ्ज्याङ, नैकाप, काठमाडौंमा आमा ठुलीकान्छी दुलाल र बुबा शम्भु दुलालका कोखबाट २०३२ बैशाख १३ गते जन्मिएकी शोभा दुलाल प्रगतिवादी धाराका नारी हस्ताक्षर हुन् । चितवनका अनिल शर्मा विरहीसँग २०५५ मा वैवाहिक सम्वन्ध जोडेकी शोभाका एक छोरा अविरल छन् । विद्यार्थीकाल २०४५ सालतिरबाट कविता लेख्न थालेकी शोभाले पछिल्लो कालमा प्रगतिवादी धाराका वैचारिक कविता र संस्मरण लेख्न थालेकी हुन् । २०४३ सालबाट सर्वहारा श्रमिक सङ्गठन अन्तरगत कम्युनिष्ट विचारधाराका विद्यार्थी सङ्गठनको वाल सङ्गठनबाट आवद्ध भएकी दुलाल २०४८ मा पार्टी एकतापछि बनेको नेकपा एकताकेन्द्रको विद्यार्थी सङ्गठनको केन्द्रीय सदस्य भइन् । उनले राजनीतिक प्रेरणा आहुती र अनिल विरहीबाट पाएको बताउँछिन् । पछि अनिल विरहीसँग वैवाहिक सम्वन्धमै जोडिन पुगेकी दुलाल आफ्ना जीवनसाथीसँगै एकताकेन्द्रबाट विद्रोह गरी माओवादी पार्टीमा आवद्ध हुँदै जनयुद्धमा सामेल भइन् ।
हाल उनी अखिल नेपाल लेखक सङ्घ, अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, प्रगतिशील लेखक सङ्घ, दलित साहित्य तथा संस्कृति प्रतिष्ठान आदि साहित्य तथा सांस्कृतिक सङ्गठनमा केन्द्रीय तहको भूमिकामा रहेर निरन्तर साहित्य लेखनका माध्यमबाट परिवर्तनको आन्दोलनमा क्रियाशील रहेकी छन् ।
आमूल परिवर्तको आन्दोलनमा लागेकै कारण २०४९ देखि २०५५ सम्म पटक पटक प्रहरी हिरासतमा बसेकी शोभा २०५५ मा केन्द्रीय कारागारको जेल बसाई पनि गरेकी छन् । महिला, दलित तथा पार्टी सङ्गठनमा आवद्ध भएर पनि साहित्य लेखनमा निरन्तर कलम चलाई राखेकी छन् । उनको मुख्य विधा कविता हो भने संस्मरणमा पनि उनको कलम चलेको छ । उनको पुस्तकाकारको रूपमा प्रकाशित कृति ‘ज्वालामुखी फुटेपछि’ २०६८ मा प्रकाशित कविता सङ्ग्रह हो । त्यस अतिरिक्त केन्द्र तथा मोफसलबाट प्रकाशित हुने थुप्रै साहित्यिक तथा आम सञ्चारका पत्रपत्रिकाहरू जनादेश, महिमा, जनआह्वान, जनदिशा, दलित सन्देश, चन्द्रगीरि आदिमा उनका फुटकर कविता र संस्मरणहरू छापिएका छन् । उनी यसअघि पनि अभ्युत्थानबाट पुरस्कृत र सम्मानित भइसकेकी छन् ।
यसरी नेपाली प्रगतिवादी साहित्य लेखनमा क्रियाशील रहेर वर्गसङ्घर्ष तथा उत्पीडित वर्ग, जाति र समुदायको संवेदनालाई कविता मार्फत् अभिव्यक्त गर्दै प्रगतिवादी साहित्यिक आन्दोलनमा योगदान पु¥याएको हुनाले उनलाई यस वर्षको साहित्यतर्फको ‘इच्छुक प्रतिभा पुरस्कार २०७५’ प्रदान गरिएको छ ।
फुलमाया दर्जी ‘प्रगति हिङमाङ’
हात्तीखर्क – १, धनकुटामा २०४२ असोज २ गते बुबा मानबहादुर दर्जी र आमा अमृता दर्जीको कोखबाट जन्मिएकी पूmलमायाँ दर्जीको साङ्गीतिक क्षेत्रमा सुपरिचित नाम प्रगति हिङ्माङ हो । विद्यार्थीकालदेखि नै माओवादी आन्दोनबाट प्रभावित भएकी प्रगति २०५८ जेठदेखि स्वयम् पूर्णकालिन भएर जनयुद्धमा सामेल भइन् । दुई बहिनी, एक भाइ, बुबा र आमासहित छ जना परिवारमा हुर्केकी प्रगतिको २०७१ कात्तिक १८ गते साङ्गीतिक क्षेत्रकै कलाकार कालिकोट जिल्ला मान्म, खाडाचक्र निवासी बुबा कर्ण लोहार र आमा कौसी लोहारका जेठा छोरा मनबहादुर विश्वकर्मा (बिहानी बिक) सँग प्रेमविवाह भएको हो । उनका एक छोरा र एक छोरी छन् ।
२०५९ सालमा छिन्ताङ्ग जन सांस्कृतिक परिवारको सदस्य भएर कलाक्षेत्रमा सङ्गठित रूपमा प्रवेस गरेकी प्रगति २०६१ देखि २०६५ सम्म कञ्चनजङ्गा सांस्कृतिक परिवार, २०६६ देखि २०६८ सम्म सुखानी सांस्कृतिक परिवार र २०६८ देखि हालसम्म सामना सांस्कृतिक परिवार केन्द्रीय टोलीमा आवद्ध छन् । यसैगरी उनी २०७१ देखि अखिल नेपाल जनकलाकार सङ्घको केन्द्रीय सदस्य समेत रहेकी छन् ।
अहिलोसम्म सामुहिक एवम् एकलरूपमा स्वरवद्ध गरेका गीति एल्बमहरू ‘एउटा कथा’, ‘सङ्घर्ष’, ‘तम्यानो’, ‘नयाँ सङ्कल्प’, ‘सूचना अधिकार’, ‘परिवर्तनका आवाजहरू’, ‘विजय अभियानका गीतहरू’, ‘उषा’, ‘लक्ष्यको शिखर’ लगायत गीति एल्बमहरूमा स्वर दिएकी छन् । यसका साथै उनका १०० भन्दा बढि फुटकर स्वरवद्ध गीतहरू युटुबबाट प्रशारित भइसकेका छन् ।
हाल उनले व्याचलर तहको तीन वर्षे सङ्गीतको शास्त्रगत अध्ययन गर्दै छिन् । उनी सामुहिक गायनमा वल्र्ड रेकर्ड अफ द गिनीज बुकमा नाम लेखाउन सफल प्रगतिवादी धाराकी गायिका हुन् ।
नेपाली जनयुद्धमा गीत सङ्गीतका माध्यमबाट जुझारू सांस्कृतिक योद्धाको भूमिका निर्वाह गर्दै समाज रूपान्तरण अभियानमा महत्वपूर्ण भूमिका निभाएकी उनलाई यस वर्षको कलातर्फको ‘इच्छुक प्रतिभा पुरस्कार २०७५’ प्रदान गरिएको छ ।