राजविराज, जेठ १० । श्री एयरलाइन्सले काठमाडौं–राजविराजको हवाई उडान शुरु गरेको छ । श्री ले असार १ गतेदेखि नियमित उडान गर्ने भन्दै बुधबार परीक्षण उडान गरेको थियो ।
बिहीवार राजविराजमा आयोजित एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी, पूर्वमन्त्री जितेन्द्र नारायण देव र सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले लामो समयदेखि बन्द रहेको राजविराज विमानस्थलबाट पुनः हवाई उडान शुरु भएको संयुक्त रुपमा घोषणा गरे । हवाई उडान पुनः शुरु भएपछि यस क्षेत्रमा आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ ।
सो अवसरमा नागरिक उड्डयन प्राधिकरणको रू. ३० करोड ३० लाखको लागतमा विमानस्थलको पुनःनिर्माण सम्पन्न भएको जानकारी दिइयो ।