कलंकी–मराजगन्ज सडक पनि चीनले नै विस्तार गर्ने

कलंकी–मराजगन्ज सडक पनि चीनले नै विस्तार गर्ने

काठमाडौं, जेठ १० । चक्रपथ सडकको कलंकी–मराजगन्ज सडकखण्ड पनि चीनले नै विस्तार गरिदिने भएको छ । अब उक्त सडक ८ लेन (६२ मिटर चौडाइ) मा विस्तार हुने भएको छ ।

काठमाडौं चक्रपथ सुधार आयोजनाका अनुसार चीन सरकारको (अनुदान) सहयोगमा चक्रपथको निर्माण–सुधार– विस्तार कार्य भई रहेको छ । कलंकी–सातदोबाटो–कोटेश्वर खण्ड (१० किमि) विस्तार गर्दै आएको चीन पुनः कलंकी–महाराजगन्ज खण्ड पनि विस्तार गर्ने भएको छ ।

सडकको केन्द्रबिन्दुबाट दायाँ बायाँ ३१÷३१ मिटरभित्र रहेका स्थायी वा अस्थायी संरचना तत्काल हटाउन अनुरोधसमेत गरेको छ । ‘कलंकी–कोटेश्व खण्ड तीन वर्षभित्र चिनियाँ कम्पनीले निर्माण गर्छ,’ सडक विभाग वैदेशिक समन्वय महाशाखा प्रमुख सञ्जय श्रेष्ठले भने, ‘कलंकी–महाराजगन्ज खण्ड सडकको साइट क्लियर गर्ने काम हाम्रो हो, त्यसपछि कम्पनीले काम सुरु गर्छ ।’

कलंकी–महारागन्ज सडकको लम्बाइ ८ किमिभन्दा बढी छ । उक्त खण्ड निर्माण विषयमा पहिले सहमति भइसकेको श्रेष्ठले जानकारी दिए । सडकको सीमाभित्र पर्ने स्थायी वा अस्थायी संरचना घर, टहरा, घुम्ती, बिग्रिएका सवारीसाधन, हार्डवेयर पसलका समान तथा अन्य प्रकृतिका पसल हटाउने १५ दिने सार्वजनिक सूचनासमेत जारी गरिसकेको उनले बताए । चिनियाँ कम्पनीले विस्तार कलंकी–कोटेश्वर खण्ड करिब ५ अर्ब रुपैयाँ खर्च गरेर निर्माण–सुधार– विस्तार कार्य गरिरहेको छ ।

विद्युत् लाइन, डिभाइडर, ढल, खानेपानीको पाइप र टेलिफोनका तारलाई भूमिगत रूपमा बिछयाइने भन्दै उनले निकै आकर्षक रूपमा विस्तार गरिने बताए । कलंकी चोकमा अन्डरपाससहितको सकिएपछि ६ महिनाभित्र पूरा गर्ने आयोजनाको दाबी छ । उक्त खण्ड सकेपछि कलंकीबाट बालाजु हुँदै महाराजगन्जसम्म विस्तार हुनेछ ।

‘साइकल लेन, फुटपाथ, सर्भिस ट्रयाक र हरित उद्यान रहन्छन्,’ उनले भने, ‘यस विषयमा थप कुरा आउन बाँकी छ ।’ विभागका प्रवक्ता मुक्ति गौतमले कम्पनीले डिजाइन तयार गरिरहेको बताए । ‘ विभागको काम सीमाभित्रका अस्थायी र स्थायी टहरा हटाउने काम हो,’ उनले भने, ‘त्यो काम तीव्रताका साथ अघि बढाउँछौं ।’ पछि मराजगन्ज–कोटेश्वर खण्ड निर्माण–सुधार– विस्तार चिनियाँ सरकार इच्छुक देखिएको छ ।

कलंकीदेखि महाराजगन्जसम्मको सडक विस्तार गर्ने विषयमा सडक विभागले नै सम्भाव्यता अध्ययन गरेको थियो । अध्ययन प्रतिवेदन चिनियाँ सांघाई कन्स्ट्रक्सन कम्पनीलाई उपलब्ध गराइसकेको छ । २०२७ मा चीन सरकारकै अनुदानमा २७ किमि चार लेनको चक्रपथ निर्माण भएको थियो । १० वर्षभित्रमा ८ लेनको चक्रपथमा ६२ मिटर चौडाइ र नौवटा आकाश पुल निर्माण हुनेछन् । यसका लागि १३ अर्ब रुपैयाँभन्दा बढी लाग्ने विभागले प्रारम्भिक अनुमान छ ।