हावाहुरीले पारेको बिजोग, साढे ४ करोडको केरा खेती एकै दिनमा झ्वाम

हावाहुरीले पारेको बिजोग, साढे ४ करोडको केरा खेती एकै दिनमा झ्वाम

फाइल फाेटाे

कैलाली, जेठ १० । गत वैशाख ३० गते राति चलेको हावाहुरी कैलाली, कञ्चनपुरका किसानलाई कालो दिन झैं हुन पुग्यो । त्यसबाट कञ्चनपुरमा ३५ हेक्टर क्षेत्रफलमा लगाइएको ८९ हजार दुई सय ५० वटा बयस्क केराका बोट ढलेका छन् ।

यहाँका लगभग आठ सय किसानले लगाएको केरा खेतीमा चार करोड ४६ लाख २५ हजार रुपैयाँ बराबरको क्षति भएको हो । केरा खेतीका लागि निकै राम्रो मानिएको प्रदेश नम्बर ७ को कैलाली, कञ्चनपुरका आठ सय किसानले लगाएको ३५ हेक्टर जमिनको केरा खेतीमा लगभग पूर्ण रुपमा क्षति पुगेको छ ।

हावाहुरीका कारण कैलालीको लालपुर, बडेहा, अत्तरिया, चौमाला, राजीपुर, मंगलपुर, फूलबारी र कञ्चनपुरको कृष्णपुर नगरपालिका र बेलौरी नगरपालिकाका किसानको केरा खेतीमा सबैभन्दा बढी क्षति पुगेको छ ।

कैलाली–कञ्चनपुर केरा किसान संघर्ष समिति अध्यक्ष सुरेन्द्र चौधरीका अनुसार हावाहुरीले ३५ हेक्टर जमिनको ८९ हजार दुई सय ५० वटा केराका बोटमा क्षति पुगेको छ । फसल दिन ठीक्क भएका बयस्क केराका बोटहरु हावाहुरीका कारण ढलेपछि केरा किसान चिन्तित बनेको बताउँदै चौधरीले भने, ‘अधिकांश किसानले बिमा नगरेका कारण लगानी डुब्ने भन्दै चिन्तित भएका छौँ ।’ हावाहुरीले फसल दिने बेलाका बयस्क केराका बोट ढालिदिएपछि चिन्तित बनेको बताउँदै कैलालीको गौरीगंगा नगरपालिका–४, राजीपुरका किसान सिचानन्द भण्डारीले भने, ‘मेरो ३ बिघा जमिनमा लगाएको केराका ५ सय ५ बोट ढलेका छन् ।’ ठूलो मात्रामा फसलका लागि तयारी अवस्थामा रहेका केराका बोट ढल्दा लगानी डुब्ने चिन्ता थपिएको उनले बताए । आफूहरुलाई हावाहुरीका कारण क्षति पुगेको केरा खेतीमा सरकारले क्षतिपूर्तिबापत सहयोग गर्नुपर्ने समेत उनले बताए ।

किसानको रोजीरोटी भनेकै केरा खेती भएको बताउँदै उनले भने, ‘भएभरको जमिनमा अन्नबाली छोडेर केरा खेती गर्यौँ, त्यो पनि फसल दिने बेलामा हावाहुरीले क्षति पुर्याउँदा साँझ–बिहानको हातमुख जोर्न समस्या हुने भयो ।’ उनले स्थानीय, प्रदेश र केन्द्र सरकारले केरा खेतीमा क्षति पुगेका किसानलाई सहयोग गर्नुपर्ने बताए । अर्का किसान लक्षीराम आचार्यले १० बिघा जमिनमा लगाएको केरा खेतीमा २५ लाख रुपैयाँ बराबरको क्षति पुगेको बताए । उनले भने, ‘केरा खेतीको क्षतिबारे नगरपालिकालाई जानकारी गराउनुका साथै वडा कार्यालय र स्थानीय प्रहरी चौकीबाट मुचुल्का बनाइएको छ । त्यही आधारमा स्थानीय, प्रदेश र केन्द्र सरकारलाई गुहार गरेका छौँ ।’ यस्तो बेलामा सरकारले केरा खेती गर्ने किसानलाई सहयोग गरेमा मात्रै आफूहरु बाँच्न सक्ने उनले बताए ।

प्रदेश नम्बर ७ का कृषि मन्त्री बिनिता चौधरीले हावाहुरीका कारण कृषि क्षेत्रमा पुगेको क्षतिको विवरण संकलन भइरहेको बताइन् । उनले भनिन्, ‘सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत् कृषि क्षेत्रमा पुगेको क्षतिको विवरण माग गरेका छौँ, त्यही आधारमा फलफूल, अन्य कृषि बालीको तथ्याङ्क सार्वजनिक गर्दै सहयोगको तयारी गर्छौँ ।’ उनले हावाहुरी र असिना पानीले किसानको फसलमा पुगेको क्षति भर्पाइ गर्न मुख्यमन्त्रीको कार्यालयमा रहेको राहत कोषमार्फत् सहयोग गर्ने बताइन् । उनले भनिन्,‘यसपालिको हावाहुरी र असिना पानीले किसानको तरकारी खेती, केरा खेती, आँप तथा फलफूल र पहाडी क्षेत्रमा गहुँ, जौँ बालीमा क्षति पुगेको छ ।’

कैलाली–कञ्चनपुरमा गरिने फलफूल खेतीमध्यै धेरै लगानीमा र ठूलो परिमाणमा गरिएको खेतीमा केरा खेती छ । यहाँको टीकापुर क्षेत्र केराखेतीका लागि प्रमुख नगरी नै मानिन्छ । कैलाली–कञ्चनपुरमा ११ सय हेक्टरमा केरा खेती गरिएको छ । केरा खेती हरेक वर्ष बढ्दै गइरहेको केरा किसान बताउँछन् । यसवर्ष केरा खेतीमा दैवी प्रकोपले ठूलो नोक्सानी पुर्याएका कारण बजारमा केरा अभाव हुनसक्ने आँकलन गरिएको छ ।