ओखलढुंगा । नेकपा (क्रान्तिकारी माओवादी)को युवा संगठन क्रान्तिकारी युवा लिग, नेपाल १ नं. प्रदेशस्तरीय राजनैतिक तथा शारीरिक प्रशिक्षण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । ओखलढुंगाको मोलुङ् गाउँपालिकाको प्राप्चामा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’ले ५ जेष्ठमा एक समारोहका बिच उद्घाटन गर्नुभएको युवा प्रशिक्षण कार्यक्रमम मंगलबार सम्पन्न भएको हो ।
युवा प्रशिक्षणको समापन समारोहलाई सम्बोधन गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले नयाँ जनवादी क्रान्ति पूरा गर्न सशस्त्र जनविद्रोहको यात्रा सुरु भएको बताउनु भएको छ । आगोको झिल्कोलाई कम नसम्झन र आगोसँंग नखेल्न केपी–मोदी गठबन्धनलाई उहाँको सुझाव थियो । केपी ओलीको राष्ट्रवाद र प्रचण्डको माओवाद जनताले राम्ररी बुझिसकेको उहाँले बताउनु भयो । क्रान्तिकारी आशावादिताका साथ अगाडि बढे लक्ष्यमा अवश्य पुगिने उहाँको भनाई थियो ।
चार दिनसम्म निरन्तर चलेको प्रशिक्षण कार्यक्रममा महासचिव किरणले पार्टीको कार्यनीति र कार्यदिशाबारे, पिविएम बसन्तले दर्शन र वैज्ञानिक समाजवादबारे, पिविएम एसटीले राजनैतिक अर्थशास्त्र र पार्टी स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनबारे प्रशिक्षण दिनुभएको थियो भने नेताहरु आदर्श, आकास र रविनले विभिन्न विधामा शारीरिक प्रशिक्षण दिनुभएको थियो ।
उक्त युवा प्रशिक्षण कार्यक्रममा १ नं.प्रदेशका १४ जिल्लाबाट आएका युवा प्रतिनिधिहरु सहभागी भएका थिए । उनीहरुले प्रारम्भिक स्तरको उक्त प्रशिक्षण अत्यन्तै उपलब्धिमूलक भएको र यस्ता प्रशिक्षणहरु निरन्तर चलाइरहनु पर्ने बताए । सहभागी युवाहरुका अनुसार प्रशिक्षणले उनीहरुमा उर्जा थपेको र हराइसकेको क्रान्तिकारीहरुको सामुहिक जीवन शैलीमा पुनःताजकी ल्याएको छ ।
कार्यक्रममा पार्टीमा एक नं.प्रदेशका जिल्लाका पार्टी ईन्चार्ज तथा सेक्रेटरीहरुको समेत उपस्थिति रहेको थियो ।