बढ्दो महंगी र पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा सडकमा उत्रियो देजमो

बढ्दो महंगी र पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा सडकमा उत्रियो देजमो

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल काठमाडौं जिल्ला समितिको आयोजनामा बढ्दो महंगी र पेट्रोलियम पदार्थको मूल्यमा गरिएको वृद्धिको विरोधमा प्रदर्शन गरिएको छ । मंगलबार देजमोले महंगी र मूल्यवृद्धिका विरोधमा सडकमै उत्रिएर प्रदर्शन गरेको हो ।

प्राप्त जानकारी अनुसार मोर्चाको विरोध ¥याली काठमाडौंको सुन्धरा, न्यूरोड, इन्द्रचोक हुँदै असनमा पुगेर विरोध सभामा परिणत भएको थियो । कोणसभालाई मोर्चाका केन्द्रीय सदस्य तथा ३ नंं प्रदेश संयोजक गोर्की श्रेष्ठ, अनेमसंघ (क्रान्तिकारी) की केन्द्रीय सचिव शारदा महत लगायतले सम्बोधन गर्नुभएको थियो ।

मोर्चाका काठमाडौं उपाध्यक्ष ठोगप्रसाद अधिकारीले सञ्चालन गरेको उक्त कोणसभामा वक्ताहरुले ओली–मोदी गठबन्धन सरकारले जनताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थ र दैनिक उपभोग्यवस्तुमा गरेको मूल्यवृद्धि र अरुण तेस्रो लगायतका राष्ट्रघाती सन्धिसम्झौता गरेर ओली नेतृत्वको सरकारले राष्ट्रघाती र जनघाती चरित्र प्रदर्शन गरेको भन्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन र महंगी नियन्त्रण गर्न जोडदार माग गरेका थिए ।