काठमाडौं । नेपाल प्रहरीले लामो समयदेखि सुनको तस्करी गर्ने भनिएकाहरुको नाइके चूडामणि उप्रेती ‘गोरे’ पक्राउ गरी मंगलवार दिउँसो सार्वजनिक गरेको छ । गोरे ३३ किलो सुन र सनम शाक्य हत्याकाण्डको छानबिन र खोजको सलसिलामा प्रक्राउ परेका हुन् । गृहमन्त्रालयले गठन गरेको छानबिन समितिको लामो कसरत पछि नेपाल प्रहरी गोरेलाई पक्राउ गर्न सफल भएको हो । उनलाई छिट्टै नै आफ्नो क्षेत्राधिकार रहेको मोरङ जिल्ला अदालतमा पेश गरिने बताइएको छ ।
काठमाडौंका गौरीघाटबाट गिरफ्तार गरिएका गोरेलाई सार्वजनिक गर्ने क्रममा समितिका संयोजक गृह सहसचिव ईश्वर पौडेलले सुन तस्करीको महाजाल पर्दाफास गर्न निकै कठिनाइहरु रहेको रहस्य खुलाएका छन् । उनले ‘जेरी झैं जेलिएको’ तर ‘सेल रोटी झैं एक एक गरी फुकाउनु’ पर्ने धैर्यता र सघन खोजीपछि मात्र सुन तस्करीका सबै कुराहरु खुल्दै जाने संभावित तरिका र विधि पनि सार्वजनिक गर्न भ्याए ।
‘गोरे’हरुलाई यसरी सार्वजनिक गरिरहँदा संयोजक पौडेलले त्यति मीठो र महङ्गो सुनौलो चिनीको चास्नीबाट बनेको भनभनी घुमेको जेरीको केन्द्र भागमा रहेका ‘सुनौले’ हरुको भने केवल सङ्केत मात्र गरे । उनले नेपाली समाजमा रहेका ‘जहाज त जस्तापाता ठाक्ठुक् पारेर बनायो होला, तर यति मीठो जेरीभित्र चास्नी कसरी राखियो होला’ भन्ने एउटा उखानलाई जस्ताको तस्तै निरुत्तर बनाइ राखिदिए ।
तर जनताको व्यापक प्रश्न र जिज्ञाशा पनि छ– ‘गोरे’हरु त सुन तस्करी गर्ने महाजालमा आबद्ध ससाना भूराहरुका मुखिया मात्र हुन्, तिनका ‘सुनौले’ मालिकहरुको खोजी गरी यथाशिघ्र सार्वजनिक गरिनु पर्छ ।