काठमाडौं, जेठ ८ । यही जेठको ६ गते नेपाल आइपुगको चिनियाँ प्राविधिक टोलीले रसुवागढी –काठमाडौँ रेलमार्गको अध्ययन शुरु गरेका छन् । उनीहरुले स्थलगत रुपमानै रसुवाबाट रेलमार्गको अध्ययन शुरु गरेका हुन् । रेल विभागको संयोजनमा चिनियाँ अधिकारीले रेलमार्गको अध्ययन शुरु गरेको विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले जानकारी दिए ।

गत वैशाख दोस्रो साता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीसहितको उच्च सरकारी अधिकारी टोली रेलमार्ग निर्माण सम्बन्धी अध्ययन गर्न चीन गएको थियो । सोही टोलीसँग भएको सहमतिअनुसार चिनियाँ अधिकारी नेपाल आएका छन् ।

सचिव अधिकारी र रेल विभागका महानिर्देशक अनन्त आचार्यसहितको टोलीसँग भएको सहमतिअनुसार चिनियाँ अधिकारी काठमाडौँ आएका हुन् । रेल विभागका प्रवक्ता एवं सिनियर डिभिजनल इञ्जिनियर उपाध्यायका अनुसार चिनियाँ रेल प्रशासनका उच्च अधिकारीसहितको टोलीले काठमाडौँमा रेल स्टेशन रहने स्थान र रसुवाका विभिन्न क्षेत्रमा अध्ययन शुरु गरेको छ ।

हालको अध्ययनबाट रेलमार्ग निर्माणको एउटा महत्वपूर्ण खाका तयार हुने विश्वास लिइएको छ । आगामी अगष्टसम्म केरुङ–काठमाडौँ रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन बुझाउने तयारी गरिएको छ । यसअघि नेपालमा रेलमार्ग निर्माणका विषयमा नेपाली अधिकारी र चिनियाँ अधिकारीबीच चीनको सियानमा उच्चस्तरीय छलफल तथा भेटवार्ता भएको थियो ।

नेपाली सीमा रसुवागढीदेखि काठमाडौंँसम्मको रेलमार्ग करीब एक सय किलोमिटर लामो हुनेछ । करिब एक घण्टाको यात्रामा रसुवागढीबाट काठमाडौँ आइपुगिने प्रारम्भिक अध्ययनमा देखिएको छ । नेपाल र चीनलाई जोड्ने सो रेल चीनको ह्लासा–सिगात्से हुँदै केरुङबाट रसुवागढी नाका भएर नेपाल प्रवेश गर्नेछ । सोही रेलमार्ग काठमाडौँबाट कुरिनटार हुँदै एउटा लाइन पोखरा जानेछ भने अर्को लाइन लुम्बिनी जाने गरी प्रारम्भिक अध्ययन गरिएको छ ।

रेलमार्गमा सुरुङ र पुलको संख्या बढी हुनेछ । सो रेलमार्गमा ६ वटासम्म स्टेशन रहने बताइएको छ । प्रारम्भिक अध्ययन सकिएपछि रेलमार्गका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तथा लगानीको स्वरुप र ढाँचाका विषयमा आवश्यक प्रक्रिया अगाडि बढाउने तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर