साढे ३३ किलो सुनकाण्डको नाइके ‘गोर’ पक्राउ

साढे ३३ किलो सुनकाण्डको नाइके ‘गोर’ पक्राउ

काठमाडौं, जेठ ८ । साढे ३३ किलो सुन तस्करीका मुख्य अभियुक्त ‘गोरे’ भनिने चूडामणि उप्रेती पक्राउ परेका छन् । प्राप्त पछिल्लो समाचार अनुसार गोरे काठमाडौं आएको गोप्य सुचनाको आधारमा गौरीघाट क्षेत्रबाट  बिहानको साढे ५ बजे तिर पक्राउ परेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पास भएको सुन हराएपछि भरिया भनिएका सनम शाक्यको हत्या भएपछि घटना बाहिर आएको थियो ।
घटनाको अनुसन्धान गर्न गृह मन्त्रालयको छानबिन समितिले गोरेसहित ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा यसअघि नै मुद्दा दायर गरिसकेकोमा मुद्दा दर्ता गरिएकामध्ये २९ जना भने पक्राउ परिसकेका छन् । हाल उनीहरुको मुद्दाबारे अदालतमा बहस जारी छ ।

घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालयले ६० दिनको अनुसन्धानको समय पूरा गरी सरकारी वकिल कार्यालयमार्फत अभियोगपत्रसहित मुद्दा दर्ता गरेको थियो ।

उनीहरुमाथि सन् २०१५ देखि हालसम्म १७ अर्ब एक करोड ८० लाख १३ हजार ४९० रुपैयाँ १३ पैसा मूल्यबराबरको ३७ लाख ९९ हजार ५५९ ग्राम सुनको अवैध कारोबार गरेको भनेर बिगोसहितको अभियोग दर्ता भएको छ ।

आपराधिक समूह स्थापना, सञ्चालन गरी सुनचाँदी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्यज्यानसम्बन्धी उनीहरुमाथि छुट्टाछुट्टै मुद्दा दर्ता गरिएको छ । छ जना पूर्व तथा वर्तमान प्रहरी पदाधिकारीमाथि सुनचाँदीको अवैध कारोवार सम्बन्धमा, छ जनामाथि ज्यान मुद्दा, १३ जना विमानका कर्मचारी र तीन जना सुन व्यापारी गरी २९ जनामाथि मुद्दा दर्ता गरिएको हो ।

गत माघ ७ गते दुवईबाट तस्करहरुले ल्याएको साढे ३३ किलो सुन त्रिभुवन विमानस्थल काठमाडौँबाट हराएको थियो । हराएको सो सुन बेपत्ता पारेको भनेर तस्कर समूहमाथि मोरङको उर्लाबारी बस्ने सनम शाक्यलाई अपहरण गरी हत्या गरेको आरोप छ । घटनापछि गोरे फरार थिए । उनी पक्राउ परेसँगै हराएको भनिएको सुनबारे पनि थप खुल्ने अपेक्षा गरिएको छ ।

प्रहरीले यो घटनालाई निकै प्राथमिकता दिएर अनुसन्धान गरेको थियो । उनलाई सार्वजनिक गर्न प्रहरीले आज अपराह्न १२ः३० बजे गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरेको छ । घटनापछि गोरे फरार थिए । उनी पक्राउ परेसँगै हराएको भनिएको सुनबारे पनि थप खुल्ने अपेक्षा गरिएको छ ।