विराटनगरस्थित फिल्ड अफिस बन्द गर्ने भारतको घोषणा

विराटनगरस्थित फिल्ड अफिस बन्द गर्ने भारतको घोषणा

काठमाडौं, जेठ ८ । भारत सरकारले बिराटनगरस्थित फिल्ड अफिस बन्द गर्ने घोषणा गरेको छ ।
२०६५ भदौ २ मा आएको बाढीले कोशी ब्यारेज भत्काएपछि नेपालका सवारी साधनहरुले भारतीय भूमि प्रयोग गर्नुपर्ने भयो । त्यसका लागि पास दिन भारतीय दूतावासले फिल्ड अफिस खोलेको थियो । तर, अझैसम्म यो हटेको छैन ।

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ भएको बेला उनले फिल्ड अफिस बन्द गर्न पत्र काटेका थिए । तर, भारतले केही भनेको थिएन । तर, जेठ ५ गते नेपाल कम्युनिष्ट पार्टीको ५ जेठमा बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा रहेको भारतीय फिल्ड अफिस हट्ने बताएका थिए ।

भारतीय विदेश मन्त्रालयका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समकक्षी केपी शर्मा ओलीलाई फिल्ड अफिस बन्द गर्ने जानकारी गराइसकेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘जे उद्देश्यका लागि अफिस खोलिएको थियो, त्यो पूरा भएको छ । भारत सरकारले अफिस बन्द गर्ने र कर्मचारीलाई अन्यत्र लैजाने निर्णय गरिसकेको छ ।’
पछिल्लो समयमा फिल्ड अफिसले तोकिएको काम भन्दा बाहिर गएर सहयोगका नाममा आफ्नो राजनीतिक प्रभाव बढाएको आरोप लाग्दै आएको थियो ।