युवा मार्चपासलाई महासचिव किरणको सम्बोधन, “क्रान्ति हुन्छ, क्रान्ति गर्छौं”

युवा मार्चपासलाई महासचिव किरणको सम्बोधन, “क्रान्ति हुन्छ, क्रान्ति गर्छौं”

बुटवल । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य ‘किरण’ले सत्तामा बसेर ओली–प्रचण्ड गठबन्धनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भद्दा दलाली गरिरहेको बताउंनुभएको छ । मोदीको नेपाल भ्रमणमा ओली–प्रचण्ड गठबन्धनले दलालीको पराकाष्ठा नै प्रदर्शन गरेको जनाउँदै महासचिव किरणले ओली–प्रचण्ड पुरानो संसदीय व्यवस्थाको रक्षाकवज भएको दावी गर्नुभयो । क्रान्तिकारी युवा लिग, नेपाल प्रदेश ५ ले बुधबार बुटवलमा गरेको युवा मार्चपासपछि आयोजित सभालाई सम्बोधन गर्दै महासचिव किरणले सो बिचार व्यक्त गर्नुभएको हो ।

अहिले पनि मुलुकमा दलाल, तस्कर, भ्रष्टाचारीहरुकैं हातमा राज्यसत्ता रहेको भन्दै त्यसको अन्त्यका लागि जनवादी क्रान्तिको आवश्यकता रहेको बताउनुभयो । उहाँले थप्नुभयो–“जनवादी क्रान्तिको तयारी स्वरुप युवा मार्चपास गरिएको हो, क्रान्ति हुन्छ, क्रान्ति गर्छौ ।” उहाँले अगाडि भन्नुभयो, “राज्यसत्ता परिवर्तनको जिम्मा युवाहरुको काँधमा आएको छ ।” अहिले पनि नेपाली जनताको हातमा राज्यसत्ता नआएको भन्दै उहाँले क्रान्तिकारी शक्ति र देशभक्तहरुलाई गोलबन्द गर्ने अभियानमा पार्टी लागेको बताउनुभयो । क्रान्तिको एउटा अध्याय सकिए पनि नयाँ अध्याय शुरु भएको पनि उहाँले बताउनुभयो । एमाले–माकेतर्फ इंगित गर्दै उहांले उनीहरु वाम, कम्युनिष्ट र देशभक्त पनि नभएको जिकिर गर्नुभयो । नाकाबन्दीका बेला ओलीले अडान लिएर राष्ट्रवादी देखाएपनि अहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउंँदा देखाएको प्रवृत्तिले उसको राष्ट्रवाद उदाङिगएको दावी गर्नुभयो ।

पार्टी स्थायी समिति सदस्य परि थापाले कांग्रेस,एमाले र माके एउटै ड्याङका मुला हुन्, जरामात्रै फरक भएको टिप्पणी गर्नुभयो । कार्यक्रममा पार्टी पिविएम केबी गुरुङले मुलुकमा क्रान्तिकारी युग शुरु भएको बताउंनुभयो । कार्यक्रममा युवा लिगका केन्द्रीय अध्यक्ष अमिर महर्जन, प्रदेश ५ का संयोजक दिलबहादुर कठायत, समिर सिंह लगायतले बोल्नुभएको थियो । कार्यक्रम पार्टीका केन्द्रीय सदस्य भुपेन्द्र न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम अघि मिडियाचोकबाट शुरु भएको युवाहरुको मार्चपास र्याली बुटवल बजार परिक्रममा गरि
पुनःमिडियाचोकमा पुगेर सभामा परिणत भएको थियो । कार्यक्रममा पार्टी पिविएकम प्रेम सुवेदी लगायतका केन्द्रीय नेताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

यस्तै बुधबारै देखि कपिलवस्तुको चार नम्बरमा क्रान्तिकारी युवा लिग–नेपाल प्रदेश ५ स्तरीय युवा जागरण प्रशिक्षण शुरु भएको छ । प्रशिक्षणको पार्टी महासचिव मोहन बैद्य किरणले उद्घाटन गर्नुभएको थियो । प्रशिक्षण जेष्ठ ६ गते सकिनेछ । प्रशिक्षमा १२ जिल्लाका युवाहरुको सहभागिता रहेको लिगले जनाएको छ ।