काठमाडौं । पूर्व घोषित कार्यक्रम अनुसार नेकपा (क्रान्तिकारी माओवादी)ले आज देशैभरी मोदीको भ्रमण र राष्ट्रघाती सन्धि सम्झौताको विरोधमा विरोध प्रदर्शन गर्दैछ । प्राप्त जानकारी अनुसार क्रान्तिकारी माओवादीले काठमाडौं उपत्यका लगायत सात वटै प्रदेशका विभिन्न जिल्लाहरुमा ¥याली, सभा, गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम गरेर विरोध प्रदर्शनको तयारी गरिरहेको छ । देश र मधेश मोदीमय बनिरहेको अवस्थामा क्रान्तिकारी माओवादीले काला ब्यानर र झण्डा सहित सडकमा निस्किएर नारा जुलुस गर्ने कार्यक्रमहरु तय गरेको छ ।
३ नं. प्रदेशको चितवन, मकवानपुरमा प्रदर्शनको तयारी भईरहेको बुझिएको छ भने १ नं. प्रदेशको सुनसरीमा कोशीको उच्च बाँधको विषयमा बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । त्यसै गरी ४ नं. प्रदेशको पोखरा, ५ नं. प्रदेशको बुटवल, बाँके, बर्दिया ६ नं. प्रदेशको दैलेख, सुर्खेत र ७ नं. प्रदेशको कैलाली, कञ्चनपुर लगायतका जिल्लामा विरोध प्रदर्शन हुँदैछ ।
क्रान्तिकारी माओवादीले शुक्रवार मोदी भ्रमणको विरोधमा काठमाण्डौमा कालो झण्डा सहितको बेलुन विभिन्न ठाउँहरुबाट उडाइएको थियो । मोदीको भ्रमणको क्रममा सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाबाट मोदीले सलामी लिइरहँदा टुँडिखेल वरिपरिको आकाशमा भारतीय विस्तारवाद मुर्दावाद, भारतीय हस्तक्षेप बन्द गर, राष्ट्रघाती सन्धी खारेज गर लगायतका नाराहरु लेखिएका तुलहरु बेलुनसँगै उडाइएको थियो । सुन्धारा, न्युरोडगेट, वीरहस्पिटल, भोताहिटी, बागबजार र भृकुटीमण्डपबाट यसरी बेलुन उडाइएको थियो ।
यसरी बेलुक उडाइनु अघि क्रान्तिकारी माओवादीको जिल्ला पार्टी कार्यालय असनमा प्रहरीले हस्तक्षेप गरी क्रान्तिकारी युवा लिगका केन्द्रीय अध्यक्ष अमीर महर्जन, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय सचिवालय सदस्य तथा कार्यालय सचिव हरिकृष्ण गजुरेल, मोर्चाका अर्का केन्द्रीय सदस्य गोर्की श्रेष्ठ लगायत ६ जना नेताहरुलाई प्रहरीले गिरफ्तार गरिएको थियो । गिरफ्तार गरिएका नेताहरुलाई न्यूरोडस्थित जनसेवा प्रहरी कार्यालयमा राखिएको छ ।
शुक्रवारै मोदी भ्रमणको विरुद्धमा कञ्चनपुरको महेन्द्रनगरमा ओली र मोदीको पुत्ला दहन गरिएको थियो ।