काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले भारतीय नरेन्द्र मोदीको नेपाल भ्रमण राष्ट्रघातकै श्रृखलाको रुपमा भएको भन्दै कालोझण्डासहित विरोध प्रदर्शन गरेको छ । टँुडिखेलमा मोदीले नेपाली सेनाको सलामी लिइरहँदा टुँडिखेलको वरिपरि आकाशमा कालोझण्डासहितका बेलुनहरु उडिरहेका थिए । क्रान्तिकारी माओवादीले टुँडिखेलको वरिपरि ६ वटा आर्क बनाएर कोलो झण्डासहितको वेलुन उडाएको हो ।
प्राप्त जानकारी अनुसार सुन्धरा, भृकुटीमण्डप, बागबजार, भोटाहिटी, वीरअस्पताल, र न्यूरोडगेट मोदी भ्रमणको विरोधमा कालोझण्डासहितको वेलुन उडाइएको थियो ।
झण्डामा भारतीय विस्तारवाद मूर्दावाद, भारतीय हस्तक्षेप बन्द गर, मोदी गो व्याक टु इण्डियालगायतका नारा लेखिएका थिए । क्रान्तिकारी माओवादीको विरोध प्रदर्शनलाई निष्फल पार्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।
असनमा रहेको क्रान्तिकारी माओवादीको जिल्ला कार्यालयमा हस्तक्षेप गरी प्रहरीले ६ जना नेता कार्यकर्तालाई गिरफ्तार गरेको थियो । तर प्रहरीलाई छक्याउँदै क्रान्तिकारी माओवादीले ६ वटै आर्कबाट कालो झण्डासहितको वेलुन उडाएका थिए । आर्कको नेतृत्व पार्टीका केन्द्रीय सदस्यहरुले गरेका थिए । वेलुन उडाउँदै क्रान्तिकारी माओवादीका नेता कार्यकर्ताहरुले भारतीय विस्तारवाद र ओली सरकारको राष्ट्रिय आत्मसमर्पणवादका विरुद्ध नाराबाजी समेत गरेका थिए ।