सर्वहारा वर्गको नेतृत्वको सवाल

प्रकाशित मिति : २०७५ बैशाख २६

- प्रभाकिरण

गत १८ वैशाखमा विश्वभरि १२९औं मई दिवस मनाउने काम भयो र नेपालमा पनि विभिन्न मजदुर संगठनहरुले मई दिवस मनाएर मई दिवसको औपचारिकता पूरा गर्ने काम भयो । सवाल मई दिवस सन् १८८६ मा शिकागोमा मजदुरले गरेको बलिदानपूर्ण संघर्ष र त्यसले प्राप्त गरेका ८ घण्टे कार्यदिवसको सम्झना मात्र गर्ने वा त्यसबाट अगाडि बढ्ने भन्ने हो ।

मध्ययुग (५औं शताब्दीदेखि १५औं शताब्दी) मा सामन्तवादको विकाससँगै व्यापार तथा शहरहरुको विकासका क्रममा दस्तकार (कालीगड) शहरमा गैरकृषि श्रमिकका रुपमा रहे । तर उत्पादनका साधन र उत्पादित वस्तुका मालिकका रुपमा दस्तकारहरु नै हुन्थे । त्यतिबेला उत्पादनका साधन मुख्य रुपमा हाते ज्यावलहरु सामान्य प्रकारका हुन्थे र ती उनीहरुको आफ्नै स्वामित्वमा हुने कुरा सहज थियो । बजारको आवश्यकताअनुसार अथवा अर्डरअनुसारका उत्पादित सामानहरु विनिमय वा विक्री गरेर भएको आम्दानीबाट दस्तकारहरु जीविका चलाउने गर्थे । उत्पादनका लागि दस्तकारको श्रम र सीपको गुणअनुसार वस्तुको मूल्य निर्धारण हुन्थ्यो । त्यसैले उत्कृष्ट सीप भएका दस्तकारहरुको महत्व छुट्टै हुने गथ्र्यो । सामन्तवादको मध्यतिर आफ्नो सम्पत्तिसहित सहर पसेका किसानहरु दस्तकार कहाँ काम सिक्ने र ज्यालामा श्रम गर्ने गरी बस्न थाले । कोही आफै दस्तकार वा व्यापारीको रुपमा परिणत भए । आफ्नो श्रम शक्ति बेचेर ज्यालामा काम गर्नेहरु मजदुर भए ।
मध्ययुगको मध्य चरणको अन्त्यतिर र यसको अन्त्य चरणको सुरुमा व्यापारको विकासका साथसाथै सहरको विकासका क्रममा सामन्तवादको विकासको उत्कर्षतिर पुगेको देखिन्छ । सामन्तहरुले जमिन खण्डिकरण गरेर किसानहरुलाई कूतमा जमिन दिने काम हुन्छ र पहिला जस्तो भूदासको स्थितिबाट किसानहरु मुक्त हुन्छन् । सामन्तहरुको चरम उत्पीडनका कारण गाउँबाट भागेर सहर पस्ने किसानहरुको संख्यामा ठूलो वृद्धि तथा सहरमा पनि गैरकृषिजन्य उत्पादित सामानको मागको वृद्धिले गर्दा ती किसानहरु दस्तकारको उद्योगमा आफ्नो श्रमशक्ति बेचेर मजदुरी गरी जीवन निर्वाह गर्ने स्थिति बन्यो । गैरकृषि सामानको मागको अत्यधिक वृद्धिसंगै व्यापारीहरु र केही सामन्तहरुको पनि अत्यधिक नाफा आर्जन गर्ने उद्देश्यसहित यस क्षेत्रमा लगानी गर्ने स्थिति पैदा भयो । मुनाफाका लागि उत्पादित सामानहरु सुरुमा सामान उत्पादनका लागि ठूलो परिमाणको कच्चा पदार्थ दस्तकारहरुलाई उपलब्ध गराई उत्पादित वस्तु अरुलाई होइन, आफैलाई उपलब्ध गराउने सर्तमा वस्तु उत्पादन गराउन थाले । यसरी आफ्नो आवश्यकतालाई पूर्ति गर्न होइन, केवल मुनाफाका लागि वस्तुहरुको उत्पादन हुन थाल्यो । यस्ता उत्पादित वस्तुहरुलाई माल भनिन्छ । माल उत्पादन पुँजीवादको विकासको सूचक हो । बजारमा मालको स्वतन्त्र प्रतिस्पर्धाले मजदुरहरुको उही ज्यालामा कार्यदिवस बढाएर उत्पादन बढाउने गरेर मात्र नपुगेर पुँजीपति आफैले ठूल्ठूला उद्योगहरु निर्माण गरेर श्रम विभाजन गरी उत्पादनको गति तीव्र बनाउने काम भयो । त्यहाँ मजदुरहरुको कामको विशिष्टिकरण गरी एउटै माल उत्पादन गर्न पनि एउटा मजदुरले माल उत्पादनको एउटा खण्ड पूरा गर्ने र अर्को मजदुरले अर्को खण्ड बनाउने गरी विभिन्न खण्डको काम पूरा भएपछि मात्र तयारी माल उत्पादित हुने भयो । यसरी माल उत्पादनको गति तीव्र रुपमा बढाउने काम भयोे भने यसले माल उत्पादनमा पहिला जस्तो निपूर्णताका आवश्यकता रहेन । एउटै उद्योगको छानामुनि अब हजारौं संख्यामा मजदुरहरु काम गर्ने प्रक्रिया सुरु भयो, जसलाई म्यानुफ्याक्चरिङ्ग भनिन्छ । म्यानुफ्याक्चरिङ्ग पुँजीवादको विकासको महत्वपूर्ण चरण हो ।

पुँजीवादको म्यानुफ्याक्चरिङ्ग चरणसम्म पुग्दा आफ्नै देशमा तथा उपनिवेशहरुमा कपडाको माग बढेपछि सामन्तहरुले किसानहरुलाई खण्डिकरण गरेर कुतमा दिइएका जमिनबाट किसानहरुलाई बेदखल गरी आफैले आफ्नो स्वामित्वमा रहेको जग्गा मात्र होइन थप अरु सामन्तबाट पनि जग्गा लिजमा लिएर ठूलो मात्रामा कपास खेती गर्न थाले । कपासलगायत अरु मुनाफामूलक कृषि उत्पादनमा पनि केही सामन्त र पुँजीपतिहरुले ठूल्ठूला कृषि फाराम खोली कृषिमा पनि पुँजीवादी उत्पादन गर्न थाले । जसले गर्दा जमिनबाट बेदखल भएका सम्पत्तिहीन किसानहरु रोजीरोटीका लागि सहर पस्न थाले । यसले गर्दा बजारमा सस्तो श्रमशक्ति प्रशस्त हुन पुग्यो र पुँजीपतिका लागि माल उत्पादनमा थप बल प्रदान ग¥यो । यी सम्पतिहीन मजदुरहरु, जसले बाँच्नका लागि पूँजीपतिलाई आफ्नो श्रमशक्ति बेच्न विवश छन्, यस वर्गलाई सर्वहारा भनियो । दिनको १८ घण्टासम्म काम गर्न विवश तर आफ्नो वंशलाई कष्टकर ढंगले मानवभन्दा पनि जनावरको जस्तो नारकीय जीवन जिउन बाध्य यी सर्वहारा वर्गका नियति पूँजीपतिका लागि विना मुल्य थप सर्वहारा वर्गका अर्को पुस्ता तयार पार्ने बन्न गयो ।

सर्वहारा वर्गको अझ अधोगति वाष्प इन्जीनको विकास भएपछि सुरु भयो । अब कारखानाबाट माल उत्पादन सुरु भएपछि थोरै मजदुरबाटै धेरै मजदुरले गर्ने काम गर्न सम्भव भयो र कारखानामा मेसिनबाट उत्पादित माल बढी राम्रो र गुणस्तरीय तथा छिटो हुन थालेपछि ठूलो संख्यामा मजदुरहरु बेरोजगार हुुन पुगे । यसले श्रम बजारमा श्रमशक्तिको मूल्य झन् सस्तो बन्न गयो । बेरोजगार सर्वहाराहरु श्रम बजारमा पुँजीपतिका लागि जगेडा श्रमशक्तिको रुपमा परिणत हुन गए । अब पुँजी सर्वशक्तिमान रुपमा अगाडि आयो तर सत्तामा सामन्तहरु र तिनका नाइके सामन्ती राजतन्त्र विद्यमान रहेको अवस्थामा पुँजीवादीहरुले स्वतन्त्रता, समानता र भातृत्वको नारा दिएर समाजका प्रगतिशील सबै तब्काहरुको नेतृत्व गरी सामन्वादको अन्त्य गरेर वेलायतमा १७ औ शताब्दी, फ्रान्समा अठारौं शताब्दीमा पुँजीवादी क्रान्ति सम्पन्न गर्ने काम भयो । पुँजीवादी क्रान्तिले सर्वहारा वर्गलाई पनि राजनैतिक तथा आर्थिक अधिकार प्राप्त हुने पुँजीवादीहरु आश्वासनमा सर्वहारावर्गको पनि पुँजीवादी क्रान्तिहरुमा लडाकू र जुझारु शक्तिको हैसियतले सशक्त सहभागिता रह्यो । तर यी सबै आश्वासनमै सीमित रह्यो । पुँजीपतिहरु सत्तारुढ भए र सर्वहारा वर्गमाथि पुँजीपतिहरुको शोषण र उत्पीडन यथावतै रह्यो ।

कारखानामा मेसिनको प्रयोगपछि अत्यधिक मुनाफाको लोभमा मुनाफा आउने क्षेत्रमा धेरै पुँजीपतिहरुले उत्पादन गर्न थाले । जसका कारण आवश्यकताभन्दा बढी माल उत्पादनले बजारमा मन्दी छाउन थाल्यो र पुँजीपतिहरुले कारखाना बन्द गरी मन्दीको समाप्ति पर्खन थालेपछि ठूलो संख्यामा सर्वहारा मजदुरहरु बेरोजगार हुन बाध्य भयो । जसले सर्वहारा वर्गको जीवन झन कष्टकर बनायो । पुँजीवादमा यस प्रकारको मन्दीको चक्र बारम्बार आउन थाल्यो, जुन पुँजीपतिको नियन्त्रणभन्दा बाहिर थियो ।

सुरुमा यसका विरुद्ध मजदुरहरुले मेसिनमाथि रिस पोखे । पछि यसको कारकका रुपमा पुँजीपति र पुँजीवादी समाज रहेको थाहा पाएपछि सर्वहारा मजदुरहरुले पुँजीपतिहरुका विरुद्ध संघर्ष गर्न थाले । सर्वहारावर्गको यस्तो नारकीय जीवन र वर्गसंघर्षले गर्दा समाजमा मानवीय भावना भएकाहरुले समानता र शोषणका विरोधमा साम्यवादको प्रचार गर्न थाले । पुँजीपतिहरुले अत्यधिक मुनाफाको लोभ गर्न नहुने, सर्वहारावर्गलाई मानवीय जीवन जिउन भौतिक अवस्था तयार पार्न पुँजीपति दयालु हुनुपर्ने जस्ता भावना र तर्क राख्ने काल्पनिक साम्यवादीहरु देखा परे ।

महान् विचारक, दार्शनिक तथा नेता कार्लमाक्र्स र फ्रेडरिक एङ्गेल्सले वैचारिक र राजनैतिक रुपमा समाजविज्ञानको नियम ऐतिहासिक भौतिकवाद पत्ता लगाउनु भयो र पुँजीवादको विनाश अनिवार्य भएको तथ्य औंल्याउनुभयो । उहाँहरुले समाज विज्ञानको नियमको रुपमा मानव समाज आदिम साम्यवादी युग, दास युग, सामन्तवादी युग, पुँजीवादी युग र साम्यवादी युग भएर अगाडि बढ्ने निष्कर्ष निकाल्नु भयो । दास समाज, सामन्ती समाज र पुँजीवादी समाज वर्ग विभाजित समाज हुन् र यी समाजहरुमा सत्तारुढ शासकवर्गले शासित वर्गमाथि शोषण र उत्पीडन गर्दछन् । त्यसैले यी युगहरुका इतिहास वर्गसंघर्षको इतिहास भएको कुरा उहाँँहरुले औंल्याउनुभयो । सन् १८४८ मा कमरेड माक्र्स र एङ्गेल्सले कम्युनिष्ट पार्टीको घोषणापत्र जारी गर्नुभयो र सर्वहारावर्गको राजनीति, विचार, संगठन, नीति तथा कार्यक्रम स्पष्ट पार्ने काम गर्नुभयो । त्यसपछि भएका वर्गसंघर्षको थप अनुभवसहित सर्वहारावर्गको नेतृत्वमा क्रान्ति सम्पन्न गर्न लागि सर्वहारावर्गको नेतृत्वमा बलपूर्वक पुँजीवादी सत्ता जरैदेखि उखेल्नुपर्ने र त्यसको ठाउँमा सत्तारुढ सर्वहारावर्गले सर्वहारा अधिनायकत्व लागू गरी साम्यवादमा पुग्न संक्रमणकालीन समाज व्यवस्था समाजवाद स्थापना गर्नु पर्ने बताउनुभयो । सत्तारुढ सर्वहारावर्गले नीजि स्वामित्वको अन्त्य गरी सार्वजनिक स्वामित्वको आधारमा समाजलाई आवश्यक भौतिक सामाग्रीको उत्पादन गरी उत्पादनमा अराजकता र अति उत्पादनको अन्त्य गरिनु पर्ने बताउनुभयो । समाजवादमा सबैका लागि श्रम अनिवार्य हुने र क्षमता अनुसार काम तथा काम अनुसारको मामको व्यवस्था हुन्छ । यसरी समाजवाद स्थापना पछि एउटा कालखण्डमा साँस्कृतिक रुपान्तरण र वैज्ञानिक अन्वेशनले समाजका लागि आवश्यक भौतिक वस्तुहरुको प्रसस्त उत्पादन हुने स्थिति निर्माण हुन्छ र समाज समाजवादी संस्कृति हुँदै साम्यवादी सँस्कृतिको निर्माणको दिशामा दिशामा अगाडि बढ्छ । अब क्षमता अनुसार काम र आवश्यता अनुसार मामको साम्यवादी नीति लागू हुन्छ र साम्यवाद स्थापना हुन्छ । साम्यवादमा कुनै प्रकारको उत्पीडन र शोसन रहने छैन । वर्गसंघर्षको अन्त्य हुन्छ । यसरी सबै प्रकारको उत्पीडनको अन्त्य गरी सर्वहारावर्गले आफ्mूलाई पनि मुक्त पार्दछ । अब एउटा वर्गले अर्को वर्गलाई उत्पीडन गर्ने साधन सत्ताको आवश्यकता रहँदैन र सत्ता तथा राज्यको सिमाना विलोप क्रमशः भएर जान्छ । साम्यवाद मानव जातिकै लागि अब स्वतन्त्रताको संसार हुनेछ ।

यस बीचमा सर्वहारावर्गका नेतृत्वमा थुप्रै क्रान्तिहरु सम्पन्न भएका छन्— पेरिस कम्युन, अक्टोबर समाजवादी क्रान्ति, चीनियाँ नयाँ जनवादी क्रान्ति, महान् सर्वहारा साँस्कृतिक क्रान्ति आदि । यद्यपि यी क्रान्तिहरु दिगो हुन सकेन तर पनि यसको महत्व अमूल्य छ । आजको साम्राज्यवादी युगमा नेपाल अर्धसामन्ती, अर्धऔपनिवेशिक तथा नवऔपनिवेशिक अवस्थामा छ । नेपालमा महान् जनयुद्धका बाबजुद अझै पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भएको छैन । समाज दलाल तथा नोकरशाह र सामन्तहरुकै दबदबा रहेको स्थिति छ । नेपालका मजदुरहरु सर्वहाराको स्थितिमाभन्दा पनि अर्धसर्वहाराको स्थितिमा छन् । सर्वहारा वर्गका लागि क्रान्ति बाहेक अरु विकल्प हुँदैन र उनीहरु जति जुझारु हुन्छन्, अरु वर्ग हुँदैन । भौतिक रुपमा सर्वहारा हुनुभन्दा वैचारिक रुपमा सर्वहारा हुनु अझ महत्वपूर्ण हुन्छ । यसले जुझारुपन ल्याउने मात्र होइन, क्रान्तिको नेतृत्व गर्ने क्षमता पनि पैदा गर्दछ । अधिकांश महान् कम्युनिष्ट नेताहरु यही कोटीमा पर्दछन् । आम रुपमा सर्वहारा, अर्धसर्वहारा, श्रमिक किसान तथा अन्य श्रमजीवी तथा तल्लो वर्गलाई सर्वहारा विचारले लैस गर्न जति सहज हुन्छ, अन्य वर्गलाई तुलनात्मक रुपमा गाह्रै हुन्छ । सर्वहारा वर्गीय आन्दोलनलाई बुझ्नु एउटा कुरा हो तर आत्मसात गर्नु अर्को हुँदो रहेछ । हाम्रै देशको कम्युनिष्ट आन्दोलन यसको ज्वलन्त उदाहरण हो । डा. रायमाझी, तुल्सीलाल, मनमोहन, झापा आन्दोलनका नेताहरु र आजको एमाले, प्रचण्ड बाबुराम र माओवादी केन्द्र यसका उदाहरण हुन् । नेपालजस्तो देशमा सर्वहारा मजदुर, अर्धसर्वहारा मजदुर, श्रमिक किसान, अन्य श्रमजीवी र तल्लो वर्गका जनतालाई सर्वहारा वर्गीय विचार आत्मसात गराउँदै विचारले लैस बनाउने अभिभारा क्रान्तिकारी कम्युनिष्टहरुका लागि एउटा प्रमुख दायित्व हो । यसले मात्र नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने एउटा प्रमुख आधार निर्माण हुनेछ । यसलाई आत्मसात गर्नु नै मई दिवसको सन्दर्भको सार हुनेछ ।