सी जिनपिङ्ग विश्वकै सर्वाधिक शक्तिशाली, को को परे शीर्ष दशमा

सी जिनपिङ्ग विश्वकै सर्वाधिक शक्तिशाली, को को परे शीर्ष दशमा

काठमाडौं, वैशाख २७ । फोब्र्स पत्रिका विश्वका शक्तिशाली र धनीहरुको सूची निकाल्ने एक चर्चित पत्रिका हो । उक्त पत्रिकाले सन् २०१८ को विश्वका सर्वाधिक शक्तिशाली व्यक्तित्वहरुको सूची सार्वजनिक गरेको छ । यसमा चीनका राष्ट्रपति सी जिनपिङ्ग पहिलो स्थानमा परेका छन् । सीले चारपटकसम्म पहिलो स्थानमा रहेका रुसका राष्ट्रपति भ्लाधिमिर पुटिनलाई पछि पार्दै पहिलोपटक शीर्ष स्थान हासिल गरेका हुन् ।

फोब्र्सले शक्तिशाली व्यक्तिहरुको छनौट उनीहरुको कार्य र बोलीले अन्य मानिसमा पार्ने प्रभावका आधारमा गर्ने गरेको छ । फोब्र्सले ७५ जना मानिसहरुको सूची सार्बजनिक गरेको छ । पृथ्वीको ७ अर्ब भन्दा बढी जनसंख्यामा यी ७५ व्यक्तिहरुको प्रभाव सबैभन्दा बढी रहेको बताएको छ । त्यस्तै अर्को छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदी यो सूचीमा नवौँ स्थानमा परेका छन् ।

फोब्र्सको सूचीमा फेसबुकका कार्यकारी अधिकृत मार्क जुकरबर्ग र बेलायती प्रधमानमन्त्री टेरेजा मेलाई समेत पछि पार्दै भारतका प्रधानमन्त्री मोदीले यो स्थान लिएका हुन् । राजनीतिज्ञहरुमा ट्रम्पपछि सबैभन्दा धेरै ट्वीटर फलोअर भएका मोदीको प्रभाव भारत लगायत अन्तर्राष्ट्रिय जगतमा पनि उत्तिकै रहेका फोब्र्सले बताएको हो । भारतबाट उनका अतिरिक्त व्यवसायी मुकेश अम्बानी पनि यस सूचीमा ३२ औँ स्थानमा परेका छन् ।

१० वर्षसम्म शीर्ष दश स्थानमा रहँदै आएकी जर्मनीकी चान्स्लर एन्जेला मार्कल यसपटक भने चौथो स्थानमा आएकी छन् । उता विश्वको सबैभन्दा शक्तिशाली देश अमेरिकाको राष्ट्रपति रहेका ट्रम्प भने तेस्रो स्थानमा परेका छन् ।

यसवर्षको सूचीमा आएका १७ नयाँ नामहरुमा भने सबैभन्दा अगाडि साउदी अरबका राजकुमार मोहोम्मद बिन सलमान आठौँ स्थानमा आउन सफल भएका छन् ।

त्यसैगरी ५४ औँ स्थानमा परेका दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनको नाम पनि पहिलोपटक यस सूचीमा देखा परेको हो । तर उत्तर कोरियाली नेता किम जोङ उनले ३६ औँ स्थान प्राप्त गरि आफ्नो दक्षिणी छिमेकीका समकक्षीलाई पछाडी परेका छन् ।

त्यस्तै फ्रान्सका म्याक्रोन १२ औँ मा रहँदा जापानी प्रधानमन्त्री ३८ औँ स्थानमा रहेका छन् । उता द्वन्द्वग्रस्त सिरियाका राष्ट्रपति बसर अल अस्सद पनि फोब्र्सको सूचीमा परेका छन् । उनी यो सूचीको ६२ औँ स्थानमा रहेका छन् ।

भारतीय व्यापारी मुकेश अम्बानीको अतिरिक्त धेरै जना व्यापारीहरु यो सुचिमा परेका छन् । यसमा सबैभन्दा माथि छन् अनलाइन सपिङ्ग वेबसाइट एमेजनका मालिक र हाल विश्वको सबैभन्दा धनी व्यक्ति जेफ बेजोज । उनी शक्तिशालीहरुको सूचीमा ५ औं स्थानमा छन् । फेसबुकका कार्यकारी अध्यक्ष मार्क जक्करबर्ग १३ औं स्थानमा रहदा एप्पल कम्पनीका कार्यकारी प्रमुख टिम कुक २४औं स्थानमा छन् । उनलाई स्टार व्यापारी इलोन मस्कले २५ औं स्थानमा पछ्याएका छन् । उनीहरुभन्दा अगाडी २१ औं स्थानमा छन् चिनिया व्यापारी ज्याक मा । ज्याक मा चीनको एमेजन भनिने अलिबाबा डट कमका प्रमुख हुन् ।

को को छन् त शीर्ष दशमा ?
१. सी जिनफिङ्ग, चीन, उमेर ६४ वर्ष
२. भ्लादिमिर पुटिन, रसिया, उमेर ६५ वर्ष
३. डोनाल्ड ट्रम्प, अमेरिका, उमेर ७१ वर्ष
४. एन्जेला मार्केल, जर्मनी, उमेर ६३ वर्ष
५. जेफ बेजोज, एमेजन, उमेर ५४ वर्ष
६. पोप फ््रयान्सिस, रोमन क्याथोलिक चर्च, उमेर ८१ वर्ष
७. बिल गेड्स, बिल एण्ड मेलिन्डा गेड्स फाउण्डेशन, उमेर ६२ वर्ष
८. मोहोम्मद बिन सलमान अल साउद, साउदी अरेयिबा, उमेर ३२ वर्ष
९. नरेन्द्र मोदी, भारत, उमेर ६७ वर्ष
१०. ल्यारी पेज, गुगल, उमेर ४५ वर्ष