जनकपुर । राज्यको करोडौं बजेट खर्चेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दनको तयारी भइरहेको बेला नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटव्यूरो सदस्य कृष्णदेव सिंह दनुवारले नेपाल र नेपाली जनताका विरुद्ध नाकाबन्दी लगाएर अमानवीय चरित्र देखाएका मोदीलाई स्वाभिमानी मधेसी जनताले मन नपराएको तर एमाले, कांग्रेस, माके, फोरम, राजपासहित २ नं. प्रदेशको सरकारले मधेसी जनतालाई कल, वल, छल प्रयोग गरेर नागरिक अभिनन्दनमा लैजान खोजिएको आरोप लगाउनु भएको छ ।
नेता दनुवारका अनुसार मोदीको नागरिक अभिनन्दनका लागि पाँचवटै पार्टीले आठ वटै जिल्लाका नेता कार्यकर्तालाई जनकपुरको बाह«विघामा जनता उतार्न उर्दी जारी गरिएको छ । आठ वटै जिल्लाबाट कम्तिमा १० हजारका दरले जनता मोदीको अभिनन्दनमा उतार्न सांसद मन्त्रीहरु समेतलाई गाउँ गाउँमा परिचालन गरिएको छ । नेता दनुवारले भन्नुभयो, “जनतालाई विभिन्न प्रलोभन, डर, त्रास देखाएर जबर्जस्त अभिनन्दनमा लैजान खोजिएको छ । तर पनि जनताको उपस्थिति सोचेजस्तो नहुने देखेपछि २ नं. प्रदेश सरकारकै आग्रहमा भारतको विहार राज्यबाट भाजपाका नेता कार्यकर्तासहित ३० हजारबढीको संख्यामा भारतीय नागरिक बाह«विघामा उतार्ने तयारी गरिएको छ ।”
क्रान्तिकारी माओवादीका २ नं. प्रदेश सचिव समेत रहनु भएका नेता दनुवार भन्नुहुन्छ, “जनकपुर र २ नं. प्रदेशमा सरकार र पाँच पार्टी मिलेर जे जति नौटंकी गरिरहेका छन्, त्यो सबै मोदीको दलाली र चाकडीका निम्ति गरिरहेका छन् । ओली–प्रचण्ड कतिहदसम्म राष्ट्रिय आत्मसमर्पणवादी रहेछन् भन्ने यसले प्रष्ट पारेको छ र फोरम–राजपाको दलाल चरित्र पनि राम्रैसँग उजागर भएको छ ।”
मोदीको फोटोसहित हिन्दी भाषामा लेखिएका र जताततै झुण्ड्याइएका व्यानरहरुमाथि टिप्पणी गर्दै नेता दनुवार भन्नुहुन्छ, “हिन्दी मधेसी जनताको भाषा नै होइन, यहाँको भाषा भनेको मैथली, भोजपुरी हो । हिन्दी भाषालाई स्थापित गराउन प्रदेश सरकार नै लाग्नु भनेको मधेस र मधेसी जनताको भावनामाथिको गद्दारी हो । मैथली भाषालाई संरक्षण संबद्र्धन र सरकारी कामकाजको भाषा बनाउनु पर्छ भनेर भाषिक आन्दोलन चलिरहेको अवस्थामा हिन्दी भाषाप्रति मोह देखाउनु भनेको गम्भीर राष्ट्रघात हो । यो मधेसी जनतालाई कदापि स्वीकार्य हुन सक्दैन ।”
भारतसँग रोटीबेटीको समेत सम्बन्ध रहेको मोदीले विहारको आगामी चुनावमा आफ्नो पक्षमा जनमत तयार पार्न पनि जनकपुरको भ्रमण गर्न लागेको र मधेसलाई प्रयोग गरेर विहारको चुनाव जित्ने चुनावी रणनीति अनुसार नै जनकपुर आउन लागेको पनि नेता दनुवारले विश्लेषण गर्नुभयो ।
२ नं. प्रदेशका आठ वटा जिल्लाको सीमा क्षेत्रमा बस्ने जनता भारतीय सीमा सुरक्षा वलको ज्यादतीबाट आजित र आक्रोशित रहेको चर्चा गर्दै नेता दनुवारले मूलबाटोलाई भन्नुभयो, “सीमा सम्बन्धी अन्तर्राष्ट्रिय कानुनलाई उलंघन गर्दै एकतर्फी रुपमा भारतले नेपालको सीमामा पक्की सडक निर्माण गरेका कारण बर्षायाममा मधेसका दर्जनौं गाउँ डुवानमा पर्ने र हजारौं नागरिक विस्थापित हुने गरेका छन्, सीमामा अनधिकृत रुपमा बाँधिएका बाँधका कारण नेपाली जनजीवन अझ कष्टकर बन्ने गरेको छ । दिनदिनै सीमा अतिक्रमण गरेर हजारौं हेक्टर नेपाली भूभाग भारतले मिचेको छ । एसएसबीले सीमा क्षेत्रमा नेपाली नागरिकमाथि हत्या, हिंसा, बलात्कार जस्ता जघन्य अपराधका घटनाहरु घटाइरहेका हुन्छन्, छन् । देश, प्रदेश र यहाँका जनतासँग जोडिएका यस्ता गम्भीर सवालहरु उठाउनु त दिनरात मोदीको दलाली र चाकडीमा कमी हुने पो हो कि भन्ने उनीहरुमा चिन्ता देखिन्छ ।”