शुल्क वृद्धिको विरोधमा सात विद्यार्थी संगठन थप आन्दोलित, तीन संगठनले गरेको सम्झौता अमान्य

शुल्क वृद्धिको विरोधमा सात विद्यार्थी संगठन थप आन्दोलित, तीन संगठनले गरेको सम्झौता अमान्य

काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी), नेकपा (विप्लव) नजिकको अखिल क्रान्तिकारी, राजपा विध्यार्थी संगठन, नयाँ शक्ति विध्यार्थी युनियन, अनेरास्ववियू पाँचौं, समाजवादी विध्यार्थी फोरम र राष्ट्रवादी विद्यार्थी संघ विद्यार्थी संगठन निजी विद्यालयले गरेको शुल्क वृद्धिको विरोधमा संयुक्त रुपमा थप आन्दोलित भएका छन् ।

मंगलबार उनीहरुले पूर्वघोषित कार्यक्रम अनुसार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । विरोध प्रदर्शनमा सातवटै विध्यार्थी संगठनका केन्द्रीय नेताहरुको बाक्लो उपस्थिति रहेको थियो । उनीहरुले निजी विध्यालयहरुले वृद्धि गरेको शुल्क फिर्ता नगरे ८ हजार निजी विद्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएका छन् ।

२३ गते पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम घोषणा गरेका उनीहरुले शिक्षा विभाग र सत्तापक्षीय एमाले–माके र कांग्रेस निकट विध्यार्थी संगठनबीच भएको सम्झौताले शैक्षिक माफियाहरुकै पक्षपोषण गरेको र वृद्धि गरिएको शुल्क फिर्ता नभएकोले त्यो सम्झौताको समेत विरोध गर्दै आन्दोलनमा उत्रिएका हुन् ।

घोषित आन्दोलनका कार्यक्रम अनुसार सात विध्यार्थी संगठनहरुले सोमबार शिक्षा विभागका सचिवलाई चेतावनी पत्र बुझाएका छन् भने मंगलबार माईतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले शुल्क वृद्धि, शिक्षा क्षेत्रमा रहेका तमाम विकृतिहरुका विषयमा २६ गते अर्थात् बुधबार संयुक्त अन्तक्र्रिया कार्यक्रम गर्दैछन् । उनीहरुले २७ गते देशव्यापी शैक्षिक हड्ताल गर्नेलगायतका कार्यक्रमहरु सार्वजनिक गरिसकेका छन् ।

शिक्षा विभागले बैशाख २२ गते विध्यार्थी संगठनहरुले संघर्षका सम्पूर्ण कार्यक्रम फिर्ता गर्ने सहमति भएको व्यहोरासहितको वक्तव्य सार्वजनिक गरेपछि सात विध्यार्थी संगठनले तत्कालै बैठक बसी आन्दोलन जारी रहीरहेको अवस्थामा आएको वक्तव्यप्रति कडा आपत्ति जनाउँदै उनीहरुले जारी गरिएको वक्तव्यमा ‘आन्दोलनरत संयुक्त विध्यार्थी संगठनलाई नदेख्ने र थाहा नपाउने शिक्षा मन्त्रीको आँखा र मष्तिस्कमा समस्या देखिएकोले सात विध्यार्थी संगठनको तर्फबाट शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं’ समेत भनिएको छ ।

ठूला भनिएका पार्टी निकटका विध्यार्थी संगठनका नेताहरु र शैक्षिक माफियाहरुको मिलेमतोमा शैक्षिक क्षेत्रमा निजीकरण, व्यापारीकरण र माफियाकरण मौलाएको बुझाई आम जनसर्वसाधारणमा व्याप्त छ । सात विध्यार्थी संगठनले जारी राखेको आन्दोलनबाट शुल्क वृद्धि फिर्ता हुने आशमा आम विध्यार्थी र अभिभावहरु रहेको देखिएको छ ।