‘सीमा मिचिदा मुकदर्शक बन्ने र सारा नदीनाला विदेशीलाई सुम्पनेहरु कदापि राष्ट्रवादी हुन सक्दैनन्’

‘सीमा मिचिदा मुकदर्शक बन्ने र सारा नदीनाला विदेशीलाई सुम्पनेहरु कदापि राष्ट्रवादी हुन सक्दैनन्’

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति लक्षित गर्दै ‘सीमा मिचिदा मुकदर्शक बन्ने र सारा नदीनाला विदेशीलाई सुम्पनेहरु कदापि राष्ट्रवादी हुन सक्दैनन्’ भन्नुभएको छ ।

आफ्नो सामथ्र्यभन्दा बाहिर गएर जे मनलाग्यो त्यही बोलेर प्रम ओलीले जनतालाई भ्रमित तुल्याएको भन्दै महासचिव किरणले भयो, “आफ्नो सामथ्र्यभन्दा बाहिर गएर ओली जी जे मन लाग्यो त्यही बोलिरहनु भएको छ । बोल्ने ठाउँमा उहाँ बोल्दै बोल्नुहुन्न । भारतीय विस्तारवादबाट दिनदिनै सीमा अतिक्रमण भइरहेको छ, खोई त्यसमा ओली जी बोलेको ? असमान सन्धि सम्झौता खारेज गर्नुपर्छ भनेर खोई बोलेको ? आफूलाई राष्ट्रवादी भन्ने अनि सारा नदीनाला विदेशीलाई सुम्पने ? अनि विकास र समृद्धिको नारा फलाकेर जनतालाई भ्रमित तुल्याउने ?” ओली सरकारबाट विकास र समृद्धिको अपेक्षा राख्नु जनताको मुर्खता हुने पनि महासचिव किरणले बताउनु भयो ।
ओली नेतृत्वको सरकारलाई वामपन्थी र कम्युनिष्ट सरकार भनेर ठूलो भ्रम छरिएको भन्दै महासचिव किरणले ‘सारतत्वमा यो सरकार वामपन्थी, कम्युनिष्टको सरकार होइन । प्रतिक्रियावादी वर्ग अर्थात् सामन्त, दलाल तथा नोकरशाही पुँजीपतिवर्गको रक्षाकवच हो ।’ भन्नुभयो ।

पार्टीको युवा संगठन क्रान्तिकारी युवा लिगको ३ नं. प्रदेशले शुक्रबार काठमाडौंमा आयोजना गरेको वृहत् जागरण तथा युवा मार्चपासलाई सम्बोधन गर्दै महासचिव किरणले संसदीय व्यवस्थाका विरुद्ध भएको झापा विद्रोह र दशवर्षे महान जनयुद्धमाथि गम्भीर विश्वासघात गरी त्यही पुरानो सडेगलेको संसदीय व्यवस्था पुनजीर्वित गराउन र त्यसैलाई संस्थागत गर्न नेतृत्वदायी भूमिका खेलेकोले एमाले र माकेलाई झापा विद्रोह र जनयुद्धको बारेमा बोल्ने कुनै अधिकार नभएको दावी प्रस्तुत गर्नुभयो ।

उहाँले भन्नुभयो, “एमालेले झापा विद्रोहमाथि र माकेले महान जनयुद्धमाथि गम्भीर विश्वासघात ग¥यो । अब एमालेलाई झापा विद्रोह र माकेलाई महान जनयुद्धको बारेमा कुरा गर्ने कुनै अधिकार छैन । झापा विद्रोह र महान जनयुद्धका सच्चा उत्तराधिकारी हामी हौं । अब ००७ सालदेखि थाँती रहेको नयाँ जनवादी क्रान्तिको झण्डा हामी उठाउँछौं ।”

अहिले देश र जनताले यो सडेगलेको संसदीय व्यवस्थाको विकल्प खोजेको छ भन्दै महासचिव किरणले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विकराल समस्याहरुको समाधानका निम्ति नयाँ जनवादी क्रान्ति अपरिहार्य रहेको चर्चा गर्नुभयो ।

वैचारिक, राजनीतिक, सांगठानिक र प्राविधिक तयारीका साथ नयाँ जनवादी क्रान्तिको प्रक्रिया अगाडि बढाउन क्रान्तिकारी युवाहरु अगाडि बढ्नुपर्ने आवश्यकता औल्याउँदै महासचिव किरणले ‘युवाहरुले कार्लमाक्र्सले भनेझै व्यक्तिगत सुखसुविधा त्यागेर देश र जनता तथा समाज रुपान्तरणका निम्ति गौरवपूर्ण जीवन रोज्नुपर्दछ र आवश्यक परे देश र जनताको निम्ति महान बलिदान दिन सक्ने त्यो महान बाटो हिड्न तयार हुनुपर्दछ’ भन्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी स्थायी समिति सदस्य रामसिंह श्रीसले नयाँ जनवादी क्रान्तिको युगीन जिम्मेवारी युवाहरुको काँधमा आएको भन्दै क्रान्तिकारी युवाहरु विवेक र साहसका साथ अगाडि बढ्नुपर्ने विचार राख्नुभयो । युवाहरुको मार्चपासले प्रतिक्रियावादी र अवसरवादीहरुलाई ठूलो खबरदारी गरेको भन्दै नेता श्रीसले विश्वभर छरिएर रहेका युवाहरुलाई नयाँ जनवादी क्रान्तिमा गोलबन्द गरेर लैजानुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा क्रान्तिकारी युवा लिग, नेपालका अध्यक्ष अमीर महर्जन‘आकाश’ले एक करोड युवा विदेशमा रहेको भन्दै देशलाई घरेलु र वैदेशिक प्रतिक्रियावादी वर्गबाट मुक्त गरी गरिखाने श्रमजीवी जनताको देशमा बदल्नका निम्ति देश विदेशमा रहेका सबै नेपाली युवाहरुले नयाँ जनवादी क्रान्तिको झण्डा उचाल्ने बेला आएको विचार राख्नुभयो । उहाँले युवाहरुलाई विदेशमा होइन स्वदेशमा नै आफ्नो भविष्य खोज्न आव्हान गर्दै राष्ट्रियता, जनतन्त्र र जनजीवीकाका समस्याहरुको समाधान गर्ने गम्भीर अभिभारा युवाहरुको काँधमा आएको चर्चा गर्नुभयो ।