काठमाडौं । सुरक्षाको नाममा ओली नेतृत्वको सरकारले विरोध, धर्ना, जुलुस गर्न प्रतिबन्ध लगाएको प्रति कडा विरोध गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले ‘हामीले रगत बगाएर ल्याएको गणतन्त्रमा सडक आन्दोलन गर्न हामीलाई नै प्रतिबन्ध लगाउने ?’ भनेर ओली सरकारलाई प्रश्न गर्नुभएको छ ।
शुक्रबार काठमाडौंमा क्रान्तिकारी युवा लिगको ३ नं. प्रदेशले आयोजना गरेको युवामार्चपासलाई सम्बोधन गर्दै अध्यक्ष गजुरेलले ‘सडक आन्दोलन हाम्रो अधिकार हो, यो फासिवादी सरकारको विरोध र भण्डाफोर गर्छौं’ भन्नुभएको छ ।
उहाँले भन्नुभयो, “खबरदार ! सडक जनताको हो, विरोध गर्न पाउनु जनताको अधिकार हो । हामी सडक संघर्ष गर्छौं र यो फासिवादी सरकारका हरेक कर्तुतको सडकबाट विरोध र भण्डाफोर गर्छौं । सडक आन्दोलन हाम्रो अधिकार हो । यो कदापि खोस्न दिंदैनौं ।”
दलाल, नोकरशाही पुँजीपतिवर्गको सरकारले युवाहरुलाई विदेशमा बेचेर उनीहरुकै पसिनाले देश चलाइरहेको भन्दै उहाँले अब युवाहरुलाई विदेशमा बेच्ने कम्पनीहरु खारेज गरिनुपर्ने धारणा व्यक्त गर्नुभयो । ‘सबै युवाहरुलाई स्वदेशमै सरकारले रोजगारीको व्यवस्था गर्नुपर्छ, रोजगारी नदिए बेरोजगारी भक्त दिनुपर्छ’ भन्नुभयो ।
चुनावमा पराजित भएपछि कांग्रेसी युवाहरु नुन खाएको कुखुरा जस्ता भएका र माकेका युवाहरु एमालेसँग आत्मसमर्पण गर्न नपाएर रोइरहेको चर्चा गर्दै अध्यक्ष गजुरेलले क्रान्तिकारी युवा लिग ती सबै आत्मसमर्पणकारी, अवसरवादी प्रवृत्तिका विरुद्ध राजनीति र व्यवस्थाबाट निराश र पलायनभएका युवाहरुमा वृहत् जागरण ल्याउँदै र उनीहरुलाई संगठित गर्दै क्रान्तिको तयारीमा अगाडि बढिसकेको दावी गर्नुभयो ।