बुद्धको ७२ सीट क्षमताको नयाँ एटीआर–७२ जहाज आउँदै

बुद्धको ७२ सीट क्षमताको नयाँ एटीआर–७२ जहाज आउँदै

काठमाडौं, वैशाख १२ । बुद्ध एयरको नयाँ एटीआर–७२ जहाज जुन महिना दोस्रो साता काठमाडौं आइपुग्ने भएको छ । निजी क्षेत्रको सबैभन्दा ठूलो हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले ७२ सिट क्षमताको थप एटीआर–७२ जहाज भित्र्याउन लागेको छ ।

जहाज आएपछि कम्पनीसँग ११ वटा जहाज हुनेछन् जसमा ७२ सिट क्षमताका ६ वटा एटीआर ७२–५००, ४२ सिट क्षमताका ३ वटा एटीआर ४२–३२० र १८ सिट क्षमताका २ वटा बीचक्राफ्ट १९०० डी छन् । कम्पनीले नयाँ जहाज ल्याउन नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आवश्यक अनुमति पनि प्राप्त गरिसकेको छ । नयाँ जहाजको कलसाइन ९एन–एएमयु हुनेछ । एटीआरका अन्य विमानजस्तै यसमा पनि फराकिला सिट र लगेजका लागि पर्याप्त ठाउँ उपलब्ध हुने कम्पनीले जनाएको छ ।

काठमाडौंको त्रिभुवन विमानस्थलमा दिनानुदिन बढ्दो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एयर ट्राफिकका कारण विशेषत घरेलु उडानहरू समयमै उडान भर्न अप्ठयारो परिरहेको छ । यसबाट यात्रुसहित विमान कम्पनीलाई पनि निकै समस्या परेको छ । उडान ढिला हुनुमा अर्को मुख्य कारण खराब मौसम पनि हो । नयाँ जहाज आइसकेपछि अन्य विमानहरूको नियमित मर्मतसम्भार तथा उडानहरू परिचालन गर्न निकै सहज हुने कम्पनीले जनाएको छ । प्रदेश नं. २ को राजविराज विमानस्थलको स्तरोन्नति लगभग पूरा हुन लागेको छ । त्यहाँ विमानलाई तेल भर्नको लागि पनि बुध्द एयरले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । आवश्यक तयारीपछि बुध्द एयरले एटीआर विमानबाट परीक्षण उडान भर्नेछ ।