विद्युत चोरी नै ५१ प्रतिशत, ओभरलोडका कारण पावर ट्रान्सफर्मर बिग्रियो

विद्युत चोरी नै ५१ प्रतिशत, ओभरलोडका कारण पावर ट्रान्सफर्मर बिग्रियो

राजविराज, वैशाख १२ । विद्युत प्राधिकरण सप्तरीले जिल्लामा कुल खपतको ५१ प्रतिशत विद्युत् चुहावट हुने गरेको बताएको छ । अत्याधिक भारका कारण विद्युत् प्राधिकरण राजविराजको वितरण केन्द्रमा रहेको पावर ट्रान्सफर्मर बिग्रिएपछि पाँच दिनयता विद्युत् सेवा पूर्णरूपले नियमित हुन सकेको छैन ।

‘कुल ६५ हजार ग्राहक रहेको जिल्लामा दैनिक २६ मेगावाट विद्युत् खपत हुँदै आएको छ जसमध्येको ५१ प्रतिशत विद्युत् त चुहावटनै हुने गरेको छ । विद्युत् चुहावटकै कारण जिल्लामा मासिक २ करोड ६० लाख प्राधिकरणलाई घाटा भइरहेको छ’ नेपाल विद्युत् प्राधिकरण राजविराज वितरण केन्द्रका प्रमुख चन्द्रनारायण साहले भने । विद्युत् चुहावट रोक्न प्राधिकरणले टोली परिचालन गरे पनि नियन्त्रणमा आएको छैन ।

प्राधिकरणले चालू आवको अन्तसम्म जिल्लामा चुहावट ३५ प्रतिशतमा झार्ने लक्ष्य लिएको भए पनि यो लक्ष्य सहजै पार गर्न मुस्किल देखिएको छ । ग्रामीण क्षेत्रमा तारबाट हुकिङ गरी तथा बजार क्षेत्रमा मिटरमै हुकिङ गरी विद्युत् चुहावट हुँदै आएको छ । जिल्लाका ग्रामीण क्षेत्रमा अधिकांशका घरमा हुकिङकै बिजुली बलिरहेको हुन्छ । मिटर लिनेमध्ये पनि धेरैले मिटर बिगारी चोरी गरेर विद्युत् प्रयोग गरेको विद्युत् प्राधिकरणका कर्मचारी बताउँछन् । जिल्लाका नगर क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा बढी विद्युत् चुहावट हुने गरेको प्राधिकरण प्रमुख साहले जनाए ।

चुहावट नियन्त्रणका लागि प्राधिकरणले प्रयास नगरेको भने होइन । चालु आवको ९ महिनाको अवधिमा ३ सय ९७ जनालाई विद्युत् चोरी गरेको आरोपमा पक्राउ गरी जरिवाना लिएर छोडिएको छ । उनीहरूका घरबाट विद्युत् चोरी गर्न प्रयोग भएका २ सय ३५ वटा विभिन्न उपकरण समेत नियन्त्रणमा लिइएको छ । यस्तै मिटरमै हुकिङ गरी चोरी गर्ने ३२ जनालाई कारबाहीको दायरामा ल्याइएको छ । चुहावट गर्नेबाट मात्र चालू आवमा करिब ३३ लाख जरिवाना असुल गरिएको छ । तोकिएको समयमा विद्युत् महसुल नबुझाएका कारण लाइन काटिएकामध्ये ४ सय ८७ जनाले पुनः विद्युत् जडान गर्दा उनीहरूबाट ८८ लाख संकलन भएको प्राधिकरण प्रमुख साहले जानकारी दिए ।

जिल्लामा चुहावट अत्यधिक भइरहेका कारण भार बढी भएकाले गत शुक्रबार प्राधिकरणको राजविराज वितरण केन्द्रमा रहेको २ वटामध्ये एउटा पावर ट्रान्सफर्मर बिग्रिएको छ । वितरण केन्द्रमा ८ एमबीएको २ वटा पावर ट्रान्सफर्मर रहेकोमा एउटाको इन्सुलेटर शुक्रबार राति फुटेका कारण विद्युत् सेवा नियमित हुन सकेको छैन । दुइटा पावर ट्रान्सफर्मरमध्ये एउटाले सदरमुकाम राजविराजको बजार क्षेत्र र अर्कोले जिल्लाको ग्रामीण क्षेत्रमा विद्युत् प्रवाह हुँदै आएको छ । इन्सुलेटर फुटेर बिग्रिएको ट्रान्सफर्मरबाट बजार क्षेत्रमा विद्युत् प्रवाह हुँदै आएको थियो । ‘एउटा बिग्रेपछि अहिले बाँकी रहेको एउटाले नै बजार र ग्रामीण क्षेत्रमा आलोपालो विद्युत् प्रवाह गर्नुपर्ने अवस्था हँुदा विद्युत् सेवा नियमित हुन नसकेको प्राधिकरण प्रमुख साहले जनाए ।