काठमाडौं, वैशाख ६ । नक्कली सुन देखाएर २८ लाख ६० हजार ठगी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरका अजय तामाङ र विष्णु मोक्तान रहेका छन् भने अर्का एक जना फरार रहेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त स्वयम्भुका अनुसार सुनजस्तो देखिने धातु देखाउँदै सस्तोमा बेच्ने प्रलोभनमा भक्तपुरका राजेन्द्र थापासँग २८ लाख ६० हजार रुपैयाँ ठगी गरेको हो । प्रहरी परिसर काठमाडौंका अनुसार थापालाई तामाङ र मोक्तानले गत पुस २३ गते ठगी गरेका हुन् ।
तीन जनाको समूहमा रहेका उनीहरुले थापालाई एक किलो सुन दिनेभन्दै नक्कली सुन दिएर रकम लिई फरार रहेका थिए । घटनामा संलग्न रहेर हाल फरार रहेका कर्ण लिम्बुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।