काठमाडौं, वैशाख ६ । गत वर्षको तुलनामा यो वर्षको पहिलो तीन महिनामा विदेशी पर्यटक आगमनको संख्या वृद्धि भएको छ । यो वर्षको तीन महिनामा २ लाख ८८ हजार ९ सय १८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलव्ध गराएको तथ्याङ्क अनुसार सन् २०१७ को जनवरी, फेब्रुअरी, मार्च महिनाको तुलनामा यो वर्ष (२०१८) १४.२० प्रतिशतले विदेशी पर्यटक संख्यामा वृद्धि भएको हो ।

गत वर्षको तीन महिनाको तथ्याङ्कलाई हर्दा यो वर्ष नेपालमा ३५ हजार ९ सय ३४ पर्यटक बढी भित्रिएको देखिन्छ । सन् २०१७ को सुरुवाती तीन महिनामा २ लाख ५२ हजार ९ सय ८४ विदेशी पर्यटक नेपाल आएका थिए भने यो वर्षको जनवरी मा ७३ हजार ५ सय १५ पर्यटक नेपाल भित्रिएका छन् भने अघिल्लो वर्षको जनवरीमा ६२ हजार ६ सय ३२ पर्यटक नेपाल आएका थिए । यो वर्षको जनवरीमा १० हजार ८ सय ८३ बढी पर्यटक भित्रिका हुन् ।

त्यस्तै गरी यो वर्ष फेब्रुअरीमा ९० हजार २ सय ८७ पर्यटक भित्रिएका छन् भने अघिल्लो वर्षको यही महिनामा ८४ हजार ६१ पर्यटक भित्रिएका थिए । अघिल्लो वर्षको तथ्यांकलाई हर्दा यो वर्ष फेब्रुअरीमा ६ हजार २ सय २६ ले पर्यटक आगमनमा वृद्धि भएको देखिन्छ । गत वर्षको मार्च महिनामा १ लाख ५२ हजार १ सय १६ पर्यटक नेपाल आएका थिए भने यो वर्ष १ लाख ६२ हजार ९१ पर्यटन नेपाल आएका छन्। यो अघिल्लो वर्षको तुलनामा ८ हजार ८ सय २५ ले वृद्धि भएको हो । यो तथ्याङ्कलाई हेर्दा अघिल्लो वर्षको तुलनाका हरेक महिना यो वर्ष नेपालमा विदेशी पर्यटक आगमनको संख्या बढेको देखिन्छ ।

यो वर्ष तीन महिनाको अवधिमा नेपालमा धेरै चिनियाँ पर्यटक भित्रिएको तथ्यांकमा उल्लेख छ । जसमा क्रमस भारतीय, अमेरिका, थाइल्याण्ड र श्रीलंकाका पर्यटक रहेका छन् । विगतको तुलनामा चिनियाँ पर्यटकको संख्या भने ८ हजार १ सय ९४ ले बढी हो । यो संख्या बढ्नुको मुख्य कारण प्रचारप्रसारमा तीव्रता दिनु रहेको नेपाल पर्यटन बोर्डका प्रेस सल्लाहकार शरद प्रधान बताउछन् । ‘यो तीन महिनाको अवधिमा चिनियाँ नयाँ वर्ष परेको भएर पनि अन्य देशका पर्यटकभन्दा चिनियाँ पर्यटक बढी नेपाल भित्रिएका हुन,’ प्रधानले भने, ‘सेल्स मिसन कार्यक्रम चीनका विभिन्न सहरहरुमा भइरहेकाले पनि चिनियाँ पर्यटकको संख्यामा वृद्धि भएको हो ।’ सल्लाहकार प्रधान १४ दशमलव २० प्रतिशतले विदेशी पर्यटक आगमनमा वृद्धि हुनुलाई सरकारात्मका रुपमा लिन्छन् ।

चीनबाट यो वर्षको तीन महिनाको अवधिमा ४० हजार ९ सय ७६, भारतबाट ३४ हजार १ सय ३३, अमेरिकाबाट २१ हजार ३ सय ५९, थाइल्याण्डका १८ हजार ६ सय ६४ र श्रीलङकाका १६ हजार ८ सय १३ पर्यटक नेपाल भित्रिएका छन् । अघिल्लो वर्षको तुलनामा यो वर्ष चिनियाँ पर्यटकको संख्या बढेको देखिन्छ ।

अघिल्लो वर्ष यही समयावधिमा भारतबाट धेरै पर्यटक भित्रिएका थिए । अघिल्लो वर्ष यो समयमा भारतबाट ३६ हजार १ सय ५४, चीनबाट ३२ हजार ७ सय ८२, अमेरिकाबाट २० हजार ५ सय ५३, थाइल्याण्डबाट १९ हजार २ सय २० र श्रीलङकाबाट १८ हजार २९ पर्यटक भित्रिएका थिए । तथ्यांकलाई हर्दा यो वर्ष विगतको तुलनामा थाइल्याण्ड र श्रीलङकाका पर्यटक भने घटेको देखिन्छ ।

होटेल एसोसियसन आफ नेपाल (हान) का महासचिव विनायक शाहका अनुसार सन् २०१७ मा १० लाखको हाराहारीमा विदेशी पर्यटक भित्रिएका थियो । यतिधेरै संख्यामा विदेशी पर्यटक भित्रिएको यो नै पहिलोपटक भएको उनको दावी छ । ‘यो तीन माहिनाकै हाराहारीमा विदेशी पर्यटक भित्रिएमा १२ लाख पर्यटक यो वर्ष नेपाल भित्रिन सक्छन्’, उनले भने ।

हानका अनुसार देशैभर साना ठूला गरी एक हजार २०० भन्दा बढी होटल तथा रिसोर्ट सञ्चालनमा छन् । वर्षभरी १५ लाख पर्यटकहरुलाई सेवादिन सक्ने क्षमता भए पनि सोचे जति पर्यटक भित्र्याउन नसकेको हानका महासचिव शाह बताउँछन् । तर पछिल्लो समयमा तुलनात्मक रुपमा पर्यटकको संख्या वृद्धि भएकामा उनीले खुसी व्यक्त गरे ।

चिनियाँ पर्यटकजस्तै अन्य देशका पर्यटकलाई नेपाल भित्र्याउनका लागि सीएनएन, लोन्ली प्लानेट जस्ता साइटमार्फत् नेपालको बारेमा जानकारी गराउने योजना नेपाल पर्यटन बोर्डको रहको छ । सन् २०२० मा १५ लाख पर्यटन भित्र्याउने योजना नेपाल सरकारकोे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर