काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)को विध्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले नेपाल सरकारका शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई शिक्षा क्षेत्रका मागहरुलाई समेटी ३३ बुँदे ज्ञापन पत्र बुझाएको छ । संगठनका अध्यक्ष सेमन्त राज भण्डारीको नेतृत्वमा गएको क्रान्तिकारी विध्यार्थीहरुको टोलीले बुधबार सिंहदरबार स्थित शिक्षा मन्त्रालयमा शिक्षामन्त्री पोखरेललाई उक्त ज्ञापन पत्र बुझाएको हो ।
देश विचौलिया, माफिया, दलाल, तस्कर र भ्रष्टाचारीहरुले चलाइरहेको र शिक्षा क्षेत्र निजीकरण, व्यापारीकरण, माफियाकरण र विदेशीकरणले जर्जर भइरहेको भन्दै क्रान्तिकारीले शिक्षा क्षेत्रलाई राज्यको दायित्वभित्र राखिनुपर्ने, दोहोरो शिक्षा प्रणाली खारेज गरिनु पर्ने, शिक्षा क्षेत्रमा भइरहेको निजीकरण, व्यापारीकरण र विदशीकरणको अन्त्य गरिनु पर्ने, सामुदायिक विध्यालयको स्तरोन्नती र गुणस्तरको वृद्ध गर्नुपर्ने, निजी शैक्षिक संस्थाहरुलाई राष्ट्रियकरण गर्नुपर्ने, विध्यार्थीलाई स्वास्थ्य उपचार र यातायातमा ५० प्रतिशत छुट दिनुपर्ने, जनयुद्धका क्रममा वेपत्ता पारिएका संगठनका तत्कालीन महासचिव पूर्ण पौड्याल लगायतका विध्यार्थीहरुको स्थिति सार्वजनिक गर्नुपर्ने, वैज्ञानिक तथा जनवादी शिक्षा लागु गरिनुपर्ने लगायतका ३३ वटा मागहरु समेटेर ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापन पत्र बुझाउने क्रममा संगठनका महासचिव राम नेपालीलगायत पदाधिकारी, केन्द्रीय सदस्यहरुको सहभागिता रहेको थियो । ज्ञापन पत्रमा समावेश गरिएका मागहरु सम्बोधन नगरिए संगठनले सशक्त संघर्षको उठान गर्ने अध्यक्ष भण्डारीले बताए ।