प्रहरी हस्तक्षेपको सामना गर्दै क्रान्तिकारी युवाहरुको प्रशिक्षण भव्य रुपमा सम्पन्न

प्रहरी हस्तक्षेपको सामना गर्दै क्रान्तिकारी युवाहरुको प्रशिक्षण भव्य रुपमा सम्पन्न

मकवानपुर । नेकपा (क्रान्तिकारी माओवादी)को युवा संगठन क्रान्तिकारी युवा लिग, नेपाल ३ नम्बर प्रदेशले आयोजना गरेको युवा जागरण तथा राजनीतिक प्रशिक्षण कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । फाल्गुन २८ गते पार्टी महासचिव मोहन वैद्य‘किरण’ले उद्घाटन गर्नुभएको उक्त कार्यक्रम ५ दिनसम्म निरन्तर चलेको थियो । क्रान्तिकारी युवाहरुको शारीरिक प्रशिक्षणमाथि स्थानीय प्रहरीले हस्तक्षेप गर्न खोजेपछि केही तनाव उत्पन्न हुन खोजेपनि क्रान्तिकारी युवाहरुले त्यसको सशक्त प्रतिकार गर्दै एक भव्य समारोहका बीच प्रशिक्षण कार्यक्रम सम्पन्न गरेका छन् ।

पार्टी पिबिएम तथा ३ नंं. प्रदेश सेक्रेटरी सागरको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा पार्टी केस हस्तबहादुर केसी, पार्टी केस तथा क्रान्तिकारी युवा लिगका केन्द्रीय अध्यक्ष आकाश र पार्टी केस फुर्वा प्रशिक्षणबारे मन्तव्य राख्नुभएको थियो । पार्टी केस तथा क्रान्तिकारी युवा लिगका ३ नं. प्रदेश फ्र्याक्सन इन्चार्ज बसन्तको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि सागरले कार्यक्रमले युवाहरुको यो प्रशिक्षणले राजनीतिक रुपमा देशैभरि नयाँ तरङ्ग पैदा गरेको र वर्तमान दलाल प्रतिक्रियावादी सत्ताको केन्द्र हल्लिएको भन्दै अब इतिहासले नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने मुख्य जिम्मेवारी युवाहरुलाई सुम्पिएको विचार व्यक्त गर्नुभयो ।

सम्पुर्ण क्रान्तिकारी युवाहरुलाई जिम्मेवारीबोधका साथ क्रान्तिको झन्डा उठाउन अपिल गर्दै नेता सागरले कार्यक्रमको ऐतिहासिक महत्वको विषयमा चर्चा गर्दै प्रशिक्षण कार्यक्रम भव्य र शानदार रुपमा सफल भएको पनि बताउनु भयो । पाँच दिने प्रशिक्षणको कुशल व्यवस्थापन गरेकोमा सिङ्गो मकवानपुर जिल्ला कमिटी र क्रान्तिकारी युवा लिग नेपाल ३ न प्रदेश कमिटीलाई पनि विशेष धन्यवाद दिनुभयो ।


पाँच दिनसम्म चलेको उक्त कार्यक्रममा पार्टी पिबिएम सिताराम तामाङ्गले राजनीतिक अर्थशास्त्र र पार्टी केस हस्तबहादुर केसीले माक्र्सवादी दर्शन र वैज्ञानिक समाजवादको विषयमा महत्वपूर्ण प्रशिक्षण दिनु भएको थियो । यसैगरी शारीरिक प्रशिक्षण आकश र सौरभ कायस्थले दिनुभएको थियो ।