काठमाडौँ । एमाले सांसद शिवमाया तुम्बाहाम्फे प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित भएकी छन् । कांग्रेस उम्मेदवार पुष्पा भूसाललाई हराउँदै तुम्बाहाम्फे उपसभामुख निर्वाचित भएकी हुन् । वाम गठबन्धनकी तुम्बाहाम्फेले २०१ मत पाउँदा भूसालले ६१ मत पाइन् । ५३ वर्षीया तुम्बाहाम्फे एमालेकी समानुपातिक सांसद हुन् ।
सभामुख निर्वाचनमा गठबन्धनकै कृष्णबहादुर महराविरुद्ध उम्मेदवार नउठाएको कांग्रेसले उपसभामुखमा भने भूसाललाई अघि सारेको हो । एमाले र माओवादी केन्द्र एकीकरण नजिक रहेको भन्दै कांग्रेसले संवैधानिक व्यवस्थाअनुसार सभामुख–उपसभामुख एकै पार्टीले लिन नमिल्ने तर्क गरेको छ ।
तेह्रथुममा जन्मिएकी तुम्बाहाम्फेले झापाको गौरादहमा अध्ययन गरेकी हुन् भने मोरङ केन्द्रित भएर राजनीति गरिन् । उनी २०५२ सालमा अनेरास्ववियुको केन्द्रीय उपाध्यक्षसम्म पुगेर विद्यार्थी राजनीतिबाट बिदा भएकी थिइन् ।