काठमाडौं, चैत ४ । प्रदेश नम्बर ४ को मनाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित ‘फरार माननीय’ राजीव गुरुङ उर्फ दीपक मनाङेलाई खोजी गर्न प्रहरीले रेडकर्नर नोटिस जारी गरेको छ । नेपाल प्रहरीको इन्टरपोल शाखाले केही दिनअघि मनाङेको नाममा नोटिस जारी गरेको प्रहरी स्रोतले बताएको छ ।
प्रदेश सांसद् मनाङे फौजदारी मुद्दामा दोषी ठहर भएको तथ्य बाहिर आएसँगै फरार छन् । उनले सांसदको शपथसमेत लिएका छैनन् । ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै २०६९ सालमा तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई ५ वर्ष कैद सजाय सुनाएको थियो ।
मनाङेलाई अब इन्टरपोलमा १९२ देशका प्रहरीले खोजी गर्नेछन् । फरार रहेका मनाङे भारतमा लुकेर बसेको दाबी प्रहरीको छ ।