यसपालीको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस नेपाल मण्डलका महिलाहरूले भाँतीभाँती तरिकाले मनाए । सरकारको प्रतिपक्षमा रहेको लाउके दलका महिलाहरूले सरकार र आफ्नै जातको राष्ट्रपति महोदयबाट अन्याए भएको भन्दै विरोध गरेर मनाए भने सत्ताको प्रतिपक्षमा रहेका दलहरूले शान्तिबाटिकाबाट जुलुस निकालेर सत्ताको विरोध गर्दै मनाए । खोला बगरमा गिट्टी कुट्ने श्रमिक महिलाहरूले झन् धेरै गिट्टी कुटेर मनाए भने घर बनाउने, बाटो खन्ने, पुल बनाउने, कोइलाखानीमा कोइला निकाल्ने, ढुङ्गाखानीमा ढुङ्गा निकाल्ने ठाउँका लेबर, कुल्ली र भरिया महिलाहरूले ठाउँका ठाउँ आआफ्ना काम गरेरै नारी दिवस मनाए । घरमा गृहिणी बनेका श्रीमति, छोरी र बुहारी महिलाहरूले आज सरकारी विदाको दिन परेकाले श्रीमान् बालबच्चा, बाउ, दाइभाइ र सासूससुराहरूका कपडा धोएर, खाना पकाएर खुवाएर, दाउरा घाँस काटेर, खेतबारीमा मसुरो छिनेर, गोठ्ल्याइँको काम गरेर तिनरूले पनि ठाउँका ठाउँ मनाए । यसरी नेपाल मण्डलका नारीहरूले भाँतीभाँती तरिकाले श्रमिक नारी दिवस मनाए । यो दिवस श्रमिक नारीहरूको भएकाले उनीहरूले श्रम गरेरै मनाए ।
यसै बिचमा सरकारी दलका लाउके नेताका स्वास्नीहरूले धुमधडकासँग रुवावासी र चिच्याकलो गर्दै मनाए । संविधानमा तेत्तीस प्रतिशत महिलाको हाँजिरी हुनुपर्ने व्यवस्थालाई निर्वाचन आयोगले दलहरूलाई घोक्रेठ्याक लगाएरै बल्लतल्ल संसदमा नारीहरूलाई त हुल्यो तर लाउके दलका लाउके नेताहरूले भने उनीहरूलाई सरकारमा छिराउन कन्जुस्याइँ गरेकोमा रुवावासी गर्दै गुनासो गरे । उनीहरूले जसरी जनजाति कोटाबाट माननीयमा छिराइयो त्यसैगरी मन्त्रीमा पनि छिराउनु पर्ने माग राखे । निर्वाचन आयोगले समानुपातिकबाट माननीय बनाउँदा जनजाति कोटाबाट लाउके दलका लाउके नेताका स्वास्नीहरूलाई छिराएकोमा खुसी मनाए र निर्वाचन आयोगका आयुक्तहरूको जयजयकार गरे ।
निर्वाचन आयोगले जनजाति कोटामा पार्दाखेरी नेताका स्वास्नीहरूलाई पारेको थियो । लोग्ने गुरुङ भएकोले उनकी स्वास्नी बाहुनकी छोरी भएपनि उनलाई गुरुङकै जात बनाएको र लोग्ने वाहुन र स्वास्नी नेवार भएकाले स्वास्नीहरूलाई नेवारै कायम गरेर जनजाति कोटामा पारेको थियो । यसबारेमा निर्वाचन आयोगका एकजना लाउकेलाई सोध्दा उनले झर्रोटर्रोलाई बताए ‘कानूनमा जनजाति कोटामा परेकालाई त्यही कोटाबाट निर्वाचित गर्नुपर्ने अनिवार्य बनाएको छ, देश खाएर शेष पल्टिएका नेताहरू भएकाले नेताका स्वास्नीलाई जसरी पनि माननीय बनाउनु पर्ने लोकतन्त्रको मूल्यमान्यता बमोजिम उनीहरूलाई जनजाति कोटामा पारिएको हो ।’
त्यसो भए बाहुनकी छोरी गुरुङ बन्न मिल्ने तर नेवारकी छोरी बाहुन बन्न किन नहुने भन्ने प्रश्नको जवाफमा उनले भने ‘लोकतान्त्रिक गणतन्त्रको महत्वपूर्ण मान्यता भनेकै यही हो । उनका लोग्नेहरू दलका शक्तिशाली नेता भएकाले तिनका स्वास्नीहरूलाई जसरी पनि समानुपातिकबाट माननीय बनाउनु पर्ने नियम छ । यो समानुपतिक प्रणाली बनाएकै तिनै नेताहरूले हो । तलतलका कार्यकर्ताले त बनाएनन् । संविधान बनाउन जस्ले संसदमा भूमिका खेल्यो उसलाई त्यसको प्रयोग गर्ने र लागू गर्ने अधिकार छ ।’
यसरी माननीय बनाएकोमा नेतापत्नीहरू त गदगद थिए तर तिनीहरू मन्त्री नबनाएकोमा भने निकै नाराज थिए । त्यसैले माननीय महिलाहरूले नारी दिवस पनि सिंहदरबार भित्रै पर्धानमन्त्री कार्यालय अगाडिको चौरमा भेला भएर धुमधडकासँग मनाए । समाचार सङ्कलन गर्न यो कैलुब्राह सिंहदरबार छिर्दा उनीहरूले जोडजोडले नारा लगाउँदै थिए । नारा यस्तो थियो –
‘महिलालाई तेत्तीस प्रतिशत मन्त्री कोटा छुट्याउनै पर्छ – हो हो छुट्याउनै पर्छ, छुट्याउनै पर्छ ।
समानुपाति समावेसी मन्त्रालय बनाउनै पर्छ – बनाउनै पर्छ, बनाउनै पर्छ ।
जनजाति कोटावाद जिन्दावाद – जिन्दावाद, जिन्दावाद ।
महिलावाद जिन्दावाद – जिन्दावाद, जिन्दावाद ।
नेताका स्वास्नीहरू अमर रहुन् – अमर रहुन्, अमर रहुन् ।
नेताका स्वास्नीलाई मन्त्री बनाउनै पर्छ – बनाउनै पर्छ (हैट हाम्रो भाग कहिले आउने त ? पछाडिबाट चर्को आवाज आयो र जुलुसमा होडलो मच्चियो ।)
एउटी जनजाति महिलाले भाषण गर्न थलिन् – ‘हामी महिलाहरू नै यसरी फुट्नु भएन नि । जो मन्त्री भएपनि महिला नै हुने हो । हामी फुटे पुरुष लुट्छन् । विवाद नगरौँ । नेताका स्वास्नीहरू मन्त्री भयौँ भने अरुलाई राज्यमन्त्री, सहायक मन्त्री बनाउँला ।’ पछाडिबाट विरोधको आवाज आयो – ‘हुन्न हुन्न, यहाँपनि समावेसी हुन पर्छ । नत्र हामी मान्दैनम । हामी लोग्ने माथिल्लो तहका नेता नभएका स्वास्नीहरू र एकल महिला भएकाहरू अलग हुन्चम । प्रतिपक्ष दलका नेतासँग ककस बनाएर मोर्चा कस्चम ।’ त्यसपछि फेरि रुवावासी चल्यो । कोही सिंगान पुछ्न थाले । कसैले खाक्क खुक्क गरे । कोही ह्वाँह्वाँ गर्दै डाँको छोडेर रुन पो थाले ।
यसरी माननीय महिलाहरूको नारी दिवसको समाचार सङ्कलन गरेर यो कैलुब्राह सिंहदरबारबाट निस्कियो ।
२६ फागुन २०७४