
काठमाडौं, फागुन २५ । लायन्स क्लब अफ काठमाडौँलगायतका संस्थाहरुले विश्व कीर्तिमान कायम गर्ने उद्देश्यले एक हजार ५०० पिन्ट रगत संकलन गरेका छन् ।
गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा विश्व कीर्तिमान कायम गराउन उनीहरुले एकै दिनमा एकै ठाउँबाट आठ घण्टाभित्र उक्त रगत संकलन गरेका हुन् ।

बिहीबार टुँडिखेलमा गरिएको उक्त रक्तदान कार्यक्रममा विभिन्न उमेर समूहका मानिसले स्वेच्छिक रुपमा रक्तदान गरेको आयोजकले जानकारी दिएका छन् ।
लायन्स क्लब अफ काठमाडौँका अध्यक्ष अखिल श्रेष्ठले सो रक्तदानलाई विश्व कीर्तिमान कायम गर्न आजदेखि रक्तदानको प्रमाणसहित कार्य अगाडि बढाइने जानकारी दिँदै करिब डेढ महिनाभित्रमा त्यसको प्रमाणपत्र आउने बताए ।
यसअघि भारतमा करिब ९०० पिन्ट रगत संकलन गरिएको भए पनि विश्व कीर्तिमानका लागि दाबी नगरिएको आयोजकले जनाएका छन् ।