
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सीपी गजुरेलले एमाले र माओवादी केन्द्र्र दुवै दक्षिण पार्टी भएकोले उनीहरुको बिचको एकता तथा गठबन्धनलाई वामपन्थी एकता वा गठबन्धन भनेर जनतामा भ्रम मात्र छरिएको दावी गर्नुभएको छ । एमाले र माके दुवैले माक्र्सवाद–लेनिनवाद–माओवादका आधारभूत सैद्धान्तिक मान्यताहरुलाई समेत परित्याग गरेर दक्षिणपन्थी बुर्जुवा पार्टीमा परिणत भइसकेकोले उनीहरुबीचको गठबन्धन वा एकतालाई वामपन्थी भनेर भन्नु जनतालाई भ्रमित तुल्याउनु मात्रै भएको विचार व्यक्त गर्नुभएको छ ।

देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष समेत रहनु भएका नेता गजुरेलले नेपालमा कम्युनिष्ट तथा वामपन्थी जनमत निकै ठूलो रहेकोले त्यसलाई भजाएर खान मात्र एमाले–माकेले कम्युनिष्ट तथा वामपन्थी साइनबोर्ड झुण्ड्याएको आरोप लगाउनु भयो ।
२४ फागुन तथा १०८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै नेता गजुरेलले वर्गमुक्ति विना शोषण, विभेद र उत्पीडनमा परेका महिलाहरुमो मुक्ति हुन नसक्ने तर्क गर्नुभयो । दशवर्षे महान जनयुद्धले उत्पीडित नेपाली महिलाहरुलाई राजनीतिको मूलधारमा स्थापित गराउन ठूलो भूमिका खेलेको चर्चा गर्दै नेता गजुरेलले तर जनयुद्धको नायक नै खलनायकमा बदलिएपछि जनयुद्धका महान उपलब्धिहरु गुम्दै जाँदा महिलाहरुले पाएको अधिकार पनि खोसिन थालेको दावी गर्नुभयो । जनयुद्ध संसदीय व्यवस्थालाई फालेर जनगणतान्त्रिक व्यवस्था स्थापित गर्नका लागि गरिएको प्रसंग कोट्याउँदै उहाँले वर्गीय, जातीय, क्षेत्रीय र लैङ्गिक रुपमा विभेद र उत्पीडनमा परेका समुदायले आफ्नो मुक्तिका निम्ति फेरि क्रान्ति गर्न तयार हुनुपर्ने विचार राख्नुभयो ।
क्रान्तिकारी माओवादी र नेकपा निकट महिला संगठनहरुले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाकी महिला नेतृ सरला रेग्मीले ओली र प्रचण्ड क्रान्तिकारीहरुका विरुद्ध फासिवादी ढंगले दमनमा उत्रिन खोजेको आरोप लगाउँदै क्रान्तिकारीहरुले एकताबद्ध भएर त्यसको प्रतिरोध गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
महिलाहरु अहिले पनि हत्या, हिंसा र बलात्कारको शिकार भइरहेको चर्चा गर्दै वर्तमान दलाल राज्यव्यवस्थाबाट श्रमजीवी तथा उत्पीडित महिलाहरुले आफ्नो जिउधनको सुरक्षाको महसुस गर्न नसकेको दावी गर्नुभयो र जनताको व्यवस्थामा मात्र महिला सुरक्षित हुन सक्ने धारणा राख्नु भयो । त्यसका लागि नयाँ शिराबाट महिला मुक्ति आन्दोलनलाई अगाडि बढाउन र त्यो आन्दोलनमा आफूलाई सरिक गराउन शोषित उत्पीडित महिलाहरु तत्पर रहनु पर्ने विचार व्यक्त गर्नुभयो ।
क्रान्तिकारी माओवादी निकट अनेमसंघ (क्रान्तिकारी)की अध्यक्ष लक्ष्मी मुड्भरीले अध्यक्षता गरेको कार्यक्रमको सञ्चालन नेकपा निकट अनेमसंघ क्रान्तिकारीकी उपाध्यक्ष धिरिन्द्रा उपाध्याय भृकुटीले गर्नुभएको थियो । कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा महिला फ्र्याक्सन इन्चार्ज रामसिंह श्रीस, नेकपाका नेता आघात केसीलगायतका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सामना साँस्कृतिक परिवारका कलाकारहरुले क्रान्तिकारी गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।