अंग्रेजी पात्रोमा प्रत्येक वर्ष आउने आठ मार्च के हो ? विश्वभरका महिलाहरु मूलतः श्रमिक महिलाहरुका लागि यो दिनको किन महत्व रहन्छ ? आदि प्रश्नहरुबारे स्वयम् श्रमिक महिलाहरु र उनीहरुको मुक्तिका लागि कामगर्ने कम्युनिष्ट पार्टीहरुका बिचमा स्पष्टताको अभाव देखिन्छन् । किनभने श्रमिक महिलाहरुको मुक्तिको सवालसित जोडिएको यो दिवसलाई आखिरमा पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने “अधिकारवादी” महिलाहरुको चाडका रुपमा रुपान्तरित भएर लैजान उनीहरु सफल देखिएका छन् । पुँजी, शक्ति र सामथ्र्यवान सत्ताधारी महिलाहरुले यसलाई आफ्नो वर्गका महिलाको हितमा काम गर्ने एउटा “अधिकारवादी” महिलाहरुको चाडका रुपमा अगाडि बढाउन थालेका । अहिले वर्तमानमा यसलाई अन्तराष्ट्रिय नारी दिवसका रुपमा संयुक्त राष्ट्रसंघ र त्यसका सदस्य राष्ट्र तथा देशहरुमा त्यही खालका महिलाहरुको चाडका रुपमा मनाइने गरिन्छ । नेपालको वर्तमान एमाले र माके सरकार जसले आफूहरुलाई माक्र्सवादी—लेनिनवादी भन्ने गर्दछन्, तिनीहरुले पनि यसलाई श्रमिक महिलाहरुको मुक्तिको सवालसित नजोडि तिनै पुँजी, शक्ति र सामथ्र्यवान सत्ताधारी “अधिकारवादी” महिलाहरुको चाडका रुपमा मनाउन थालेका छन् र त्यसमा श्रमिक महिलाहरुको उपस्थति कतै देखिदैन् । यद्धपि नेपालमा यो दिवसलाई यो सालमा नेकपा(क्रान्तिकारी माओवादी) र नेकपाले यसलाई श्रमिक महिलाहरुको मुक्तिको सवालसित जोडेर कतै एकल त कतै संयुक्त कार्यक्रम दिएर मनाएका छन् ।
अहिले राष्ट्रसंघलगायत विभिन्न राष्ट्र तथा देशका “अधिकारवादी” महिला नेतृहरू आठ मार्च आउनुभन्दा दुई चार दिन अगाडिदेखि सलबलाउन थालेको देखिएका हुन् — अन्तराष्ट्रिय नारी दिवस भव्यरूपले मनाउने कार्यक्रमका साथ । उनीहरुले अन्तराष्ट्रिय श्रमिक महिला दिवस नभनी अन्तराष्ट्रिय नारी दिवस भनेका छन् । उनीहरुले गरेका कार्यक्रमहरुमा भव्य भोजको आयोजना गरिएका छन्, मन्त्रीहरू, उच्च पदस्थ कर्मचारीहरू भोजको लाइनमा चारतारे होटलमा देखिएका छन् । होटलको बन्द कोठामा महिला मुक्तिबारे गरमागरम बहस, छलफल र अन्तरक्रियात्मक कार्यक्रमहरू पनि भए । नारी पुरूष बराबरीका नारा पनि लगाइए । मातृसत्ता र पितृसत्ताका कुरा पनि भए । ती कार्यक्रमका लागि विभिन्न दातृनिकायहरूले त्यसका लागि पैसा उपलब्ध गराउने काम पनि गरे किनभने ती संस्थाहरुमा पनि “अधिकारवादी” महिला छन् । नेपाल लगायत देशका माक्र्सवादी—लेनिनवादीभित्रका संशोधनवादीहरुले जो रुपमा माक्र्सवादी—लेनिनवादी तर सारमा पुँजी, शक्ति र सामथ्र्यवान सत्ताधारी महिलाहरुको स्तरमा ती भित्रका अधिकारवादी महिलाहरुसित यो दिवसलाई अन्य पुँजीपति वर्गीय राजनीतिक दलहरुसित मिलेर एउटा चाडका रुपमा अगाडि बढाउने काम पनि गरे । वर्तमान नेपालको “वामगठवन्धन”भित्रका कम्युनिस्टहरु त्यस्ता खाले संशोधनवादी कित्तामा पर्दछन् । नेकपा(क्रान्तिकारी माओवादी), नेकपा, नेपाल मजदुर किसान पार्टी अहिले नेपालको त्यो “वामपन्थी” कित्तामा छैनन् तर आफूलाई क्रान्तिकारी भन्ने नेकपा मसाल भने संशोधनवादीहरुको उक्त वामपन्थी कित्ता छाडन अहिले पनि सकिरहेको छैन् । एमालेको बैशाखीमा संघीय संसदमा एक सिट जित्न सफल उक्त पार्टीले अझै उसकै बैशाखीमा सरकारमा जान चाहेको त छैन् भन्ने प्रश्न उठेको छ ।
यसरी सारमा आठ मार्चलाई हेर्ने दुई फरक दृष्टिकोण स्पष्ट देखिएका छन् । प्रथम माक्र्सवादी—लेनिनवादी दृष्टिकोण र दोस्रो संयुक्त राष्ट्र संघले अपनाएको साम्राज्यवादी पुँजीवादी दृष्टिकोण । माक्र्सवादी—लेनिनवादी दृष्टिकोण अनुसार यो अन्तराष्ट्रिय श्रमिक महिला दिवस हो,र जसको इतिहास सन् १९११मा एउटी जर्मन माक्र्सवादी सिद्धान्तकार, एक्टीभिष्ट, र महिला अधिकारका लागि वोकालत गर्ने एक जना महिला क्लारा जेटकिनले कोरेकि थिइन् । उनले सन् १९११मा पहिलो अन्तराष्ट्रिय महिला दिवसको आयोजना गरेकि थिइन् । संयुक्त राष्ट्र संघको आव्हानमा १९७५को जुनमा मेक्सिकोमा अन्तराष्ट्रिय महिला सम्मेलन भयो र त्यसले आठ मार्चलाई अन्तराष्ट्रिय नारी दिवस मनाउने निर्णय ग¥यो । यसरी फरक नाम र नारामा संयुक्त राष्ट्र संघले अपनाएको साम्राज्यवादी पुँजीवादी दृष्टिकोण अनुसार अहिले उनीहरुले श्रमिक शब्द हटाएर अन्तराष्ट्रिय महिला दिवस वा नारी दिवस मनाउन थालेका छन् । वर्तमानमा नेपालमा अन्तराष्ट्रिय श्रमिक महिला दिवसको आयोजना नेकपा(क्रान्तिकारी माओवादी) र नेकपाले गरेका छन् भने अन्य सबै कम्युनिष्टहरु जो “वामगठवन्धन”भित्र छन् उनका लागि श्रमिक महिलाको खासै अर्थ राखेको छैन् र उनीहरु अब अन्तराष्ट्रिय महिला दिवस वा नारी दिवस मनाउन थालेका छन् ।
एउटा माक्र्सवादी सिद्धान्तकार, एक्टीभिष्ट, र महिला अधिकारका लागि वोकालत गर्ने क्लारा जेटकिनले सुरु गरेको र उनले कोरेको महिला समानता र महिला अधिकारको आवाज उठाइएको शताब्दी विति सक्दा पनि महिला प्रति गरिने सबै प्रकारका विभेदको उन्मूलननका दिशामा विश्व अझै वामे मात्रै सर्दै छ भन्दा गलत नहोला । र स्वयम् कम्युनिष्टभित्रका श्रमिक महिलाहरु पनि उत्पीडनबाट मुक्त हुन सकिरहेका छैनन् ।
माक्र्सवादी सिद्धान्तकार, एक्टीभिष्ट, र महिला अधिकारका लागि वोकालत गर्ने क्लारा जेटकिनको जन्म एउटा किसान परिवारमा भएको थियो । उनका बाउ एक जना स्कुल माष्टर थिए । प्रोटेष्टेन्ट पादरी उनकी आमा एउटा मध्यवर्गीय शिक्षित परिवारकी थिइन् । १८७४देखि उनी महिला आन्दोलन र मजदुर आन्दोलनमा लागिन । १८७८मा उनी समाजवादी श्रमिक पार्टीमा सम्मिलित भइन् । यो पार्टी १८७५मा लाशालको पार्टी, बेबेल र विल्हेमको पार्टी मिलेर बनेको पार्टी थियो । १८९०मा यसको नाम जर्मनको समाजवादी प्रजातान्त्रिक दल बन्यो । १८७८मा बिष्मार्कले जर्मनमा सामाजिक काममाथि रोक लगाएपछि जेटकिनले १८८२मा जर्मन छाडेर जुरिच अनि पेरिशमा निर्वासनमा वस्न थालिन । पेरिसमा वस्दा उनले अन्तराष्ट्रिय समाजवादी समूहको स्थापनामा एउटा महत्वपूर्ण भूमिका खेलिन । उनले आफनो रसियन वामपन्थी प्रेमी वोसिप जेटकिनको थरबाट जेटकिन राखिन, जसबाट उनका दुई भाई छोरा कोष्टजा र मेक्सीम थिए । वोसिप जेटकिनको मृत्यु १८८९मा भयो । उनले जर्मनको स्वतन्त्र समाजवादी प्रजातान्त्रिक पार्टीको सबैभन्दा उग्रवामपन्थी शाखा, स्पार्टावादी संघमा सामेल भइन् जो पछि गएर जर्मनी कम्युनिष्ट पार्टी बन्यो । जसबाट उनले १९२०देखि १९३३सम्म वोइमर गणतन्त्रका वेला त्यहा“को संसद राइखस्टांगमा प्रतिनिधित्व गरिन् ।
समाजवादी प्रजातान्त्रिक पार्टीमा जेटकिनले त्यस समयका अर्का माक्र्सवादी रोजा लक्जमवर्गसंग मिलेर जो पार्टीभित्रका अति वामपन्थीको प्रतिनिधित्व गर्दथे काम गर्न थालिन । २०सौ शताब्दीको सुरूमा संशोधनवादसंगको बहसमा उनले रोजा लक्जमवर्गसंग मिलेर एडवार्ड बन्र्सटिको सुधारवादी थेसिसमाथि आक्रमण गर्न थालिन । जेटकिन महिला राजनीति जसमा समान अवसरहरू र महिलाका दुखदर्दहरूका लागि संघर्ष थियो । उनले जर्मनमा समाजीक—प्रजातान्त्रिक महिला आन्दोलनको विकास गरिन, १८९१देखि १९१७सम्म समानता भन्ने महिला पत्रिका सम्पादन गरिन । १९०७मा समाजवादी प्रजातान्त्रिक पार्टीको महिला अफिस जो भरखरै स्थापना गरिएको थियो, त्यसको नेता बनिन । उनले १९१०को ८ मार्चमा पहिलो अन्तराष्ट्रिय महिला दिनको सुरू कोपनहेगनमा गरेकि थिइन ।
पहिलो विश्वयुद्धको समयमा, कार्ल लिव्खनेक्ट, रोजा र समाजवादी प्रजातान्त्रिक दलका अन्य प्रभावशाली राजनेताहरूसंग मिलेर गरिन । १९१५मा जेटकिनले बर्लिनमा युद्ध विरोधी अन्तराष्ट्रिय समाजवादी महिला युद्धविरोधी सम्मेलन गरिन । उनको युद्ध विरोधी विचारहरूलाई लिएर अनेक पटक गिरफतार भइन् । उनले १९२०मा ‘माहिलाको प्रश्न’बारे लेनिनको अन्तरवार्ता लिइन । १९२१देखि १९३३सम्म उनी कम्युनिष्ट अन्तराष्ट्रिय(कमीन्टर्न)को कार्यकारीणी समितीमा रहिन । जव एडल्फ हिटलर र उसको राष्टिय समाजवादी जर्मन मजदुर पार्टी सत्तामा गयो, उसले जर्मनको कम्युनिष्ट पार्टीमाथि प्रतिवन्ध लगायो । १९३३मा राइखस्टांगलाई खतम पा¥यो र उनी अन्तिम समयका लागि निर्वासनमा गइन । यसपटक उनी सोभियत संघमा गइन र त्यहाँ उनको निधन भयो । उनको पार्थिव शरीरलाई मसकोको क्रेमलीनमा गाडियो । यस्ती विरंगनाको नाम हो जसले आठ मार्चको नीव गाडेकी थिइन् तर अहिले यो “अधिकारवादी” महिलाको लागि मागी खाने भाडो बन्न गएको छ र श्रमिक महिलाहरुको मुक्तिको सवाल जो जेटकिन आन्दोलनले उद्घोष गरेको थियो महिला मुक्तिको केन्द्रीय प्रश्न थियो— प्रतिक्रियावादीहरु र सुधारवादीहरुको पोल्टामा पर्न गएको छ । र यसबाट मुक्ति नै अन्तरास्ट्रिय श्रमिक महिला दिवसको महत्व रहेको छ ।