दृष्यमा यस्तो देखियो क्रान्तिकारी महिलाहरुको १०८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

दृष्यमा यस्तो देखियो क्रान्तिकारी महिलाहरुको १०८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

काठमाडौं, फागुन २४ । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट क्रान्तिकारी महिला संगठनले देशैभर १०८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस संयुक्त रुपमा मनाएको छ । दुबै पार्टीका महिला संगठनहरु अनेमसंघ (क्रान्तिकारी) र अनेमसंघ क्रान्तिकारीको केन्द्रीय समितिको आयोजनामा काठमाडौंको रत्नपार्क स्थित शान्ति वाटीकामा ¥याली सहित कोण सभा सम्पन्न गरेको छ ।

१०८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश भव्य रुपले सफल पारौं, महिलाहरुमाथि हुने सम्पूर्ण उत्पीडनको विरुद्ध संघर्ष गरौं, समान कामको समान ज्याला लागु गर, पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर, राज्यसत्ताको सम्पूर्ण अंगहरुमा विशेष अधिकार सहित समानुपातिक प्रतिनीधित्वको ग्यारेण्टी गर, पैत्रिक सम्पत्तिमा विना सर्त समान अधिकारको कानुन बनाई लागु गर, चेलीबेटी बेचविखन पूर्ण रुपमा बन्द गर, वैदेशिक रोजगारीको नाउमा हुने मानव तस्करी बन्द गर, महिलाहरु माथि हुने हत्या, हिंसा, बलत्कार बन्द गर, आमाको नाउमा नागरिकता पाउने कानुनी व्यवस्थालाई सर्वशुलभ रुपमा लागु गर, वैदेशिक रोजगारीमा गएका आफ्ना नागरिकहरुको पेशागत र जीउ धनको सुरक्षाको ग्यारेण्टी गर, वैदेशिक रोजगारीको क्रममा आर्थिक, शारीरिक र मानसिक उत्पीडनमा परेका महिलाहरुलाई अविलम्ब उद्धार गर, विभिन्न देशका वेश्यालयहरुमा बेचिएका नेपाली चेलीहरुको अविलम्ब स्वदेश फिर्ता गरी सामाजिक रुपमा पूर्नस्थापना गर, बालिकाहरुमाथि हुने गरेका बलत्कारका पाशविक घटनाहरुको छानवीन गरी अपराधीलाई हदै सम्मको कारवाही गरलगायतका नाराहरु लेखिएको प्लेकार्ड, ब्यानर र झण्डा सहितको ¥याली शान्ति बाटिकाबाट शुरु भई पुरानो बसपार्क, शहीद गेट, सुन्धारा, न्युरोड गेट, वीर हस्पीटल हुँदै शान्ति बाटिकामा पुगेर कोणसभामा परिणत भएको थियो ।

उक्त कोणसभालाई नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सीपी गजुरेल, नेकपाकी महिला नेतृ सरला रेग्मी लगायतका नेताहरुले सम्बोधन गर्नु भएको थियो । नेतृ लक्ष्मी मुडभरीले अध्यक्षता गरेको उक्त सभाको सञ्चालन धिरिन्द्रा उपाध्याय ‘भृकुटी’ गर्नुभएको थियो । कार्यक्रममा सयौं महिलाहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

 

फोटोः जय दाहाल